.संक्षेपमा.
- फिनल्याण्डको पश्चिमी र दक्षिणी भागमा तापक्रम सामान्य भन्दा ०.५-१ डिग्री सेल्सियस बढी हुने।
- देशको मध्य भागदेखि ल्याप्ल्याण्डसम्म ०-०.५ डिग्री सेल्सियस बढी तापक्रम।
- वर्षाको मात्रा भने सामान्य नै रहने।
फोरेका मौसम सेवाका मौसमविद् योनास कोस्केलाका अनुसार युरोपेली मौसम पूर्वानुमान केन्द्र (ECMWF) ले जारी गरेको गृष्म ऋतुको त्रैमासिक पूर्वानुमानले यो समरमा फिनल्याण्डमा औसत भन्दा बढी तातो मौसम हुने देखाएको छ।
पूर्वानुमान अनुसार जुन देखि अगस्ट महिनासम्म सम्पूर्ण युरोप नै सामान्य भन्दा तातो हुने देखिएको हो। विशेषगरी मध्य र दक्षिणी युरोपमा धेरै गर्मी र सुख्खा मौसम हुने अनुमान गरिएको छ।
फिनल्याण्डमा वर्षाको मात्रा भने सामान्य नै रहने देखिएको छ। तर देशको पूर्वी र पश्चिमी क्षेत्र, विशेषगरी नर्वेको पहाडी क्षेत्रमा भने सामान्य भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।
गत वर्ष २०२४ को समर अर्थात् गृष्म ऋतु युरोपकै सबैभन्दा तातो रेकर्ड गरिएको थियो। फिनल्याण्डमा जुन-अगस्ट महिनाको औसत तापक्रम १६.२ डिग्री सेल्सियस मापन गरिएको थियो। गत वर्ष कुओपिओ र हेइनोलामा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियससम्म पुगेको थियो।





