.संक्षेपमा.
- काठमाडौंको भद्रकाली एजुकेशनल कन्सल्टेन्सीले नेपाली विद्यार्थीका अत्यन्तै व्यक्तिगत र संवेदनशील जानकारी टिकटकमा सार्वजनिक गरेको पाइयो।
- विद्यार्थी तथा उनीहरूका आश्रितहरूको नाम, जन्ममिति, नागरिकता, आवासीय अनुमतिपत्रको विवरण, र अध्यागमन अधिकारीहरूको जानकारीसमेत खुलाइयो।
- आवासीय अनुमतिपत्रमा नै ‘गोप्य राख्नुपर्ने’ उल्लेख भएपनि कन्सल्टेन्सीले कुनै सम्पादन नगरी विवरणहरू भाइरल प्लेटफर्ममा राख्यो।
काठमाडौंको डिल्लीबजारमा स्थित भद्रकाली नामक एक शैक्षिक परामर्शदाता संस्था/कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरूको व्यक्तिगत गोपनीयतामाथि गम्भीर खेलवाड गरेको पाइएको छ।
उक्त कन्सल्टेन्सीले विद्यार्थी र उनीहरूका आश्रित (डिपेन्डेन्ट) हरूको फिनिस अध्यागमनबाट प्राप्त आवासीय अनुमतिपत्रका निर्णयहरू (रेसिडेन्ट परमिट) पूर्ण व्यक्तिगत विवरणहरू सहित, कुनै सम्पादन नगरी टिकटकमा सार्वजनिक गरिदिएको हो।
विडम्बना त के छ भने प्रत्येक आवासीय अनुमतिपत्रको पहिलो शब्द नै “Salassa Pidettävä” लेखिएको छ, जसको अर्थ ‘गोप्य राख्नुपर्ने’ भन्ने हुन्छ।
सार्वजनिक गरिएका विवरणहरूबाट विद्यार्थीको नाम, जन्ममिति, जन्म जिल्ला, र नागरिकता जस्ता अत्यन्त महत्वपूर्ण व्यक्तिगत जानकारीहरू स्पष्ट देख्न सकिन्छ।
यसका साथै आवासीय अनुमति कहिले स्वीकृत भयो, कति अवधिका लागि भयो, कुन प्रकारको अनुमति (A वा B) प्रदान गरियो, र आवासीय अनुमतिको म्याद कहिले सकिन्छ भन्ने जस्ता कुराको विस्तृत जानकारी पनि पाउन सकिन्छ।
कुन आधारमा आवासीय अनुमति दिइएको हो, यदि कुनै सर्तहरू सहित अनुमति दिइएको थियो, वा कुनै अदालती मुद्दा संलग्न थियो भने त्यो समेत देखिने गरी रेसिडेन्ट परमिटका फोटोहरू सार्वजनिक गरिएको छ। आवेदकलाई काम गर्ने अधिकार छ वा छैन, र छ भने कति घन्टासम्म काम गर्ने अधिकार छ भन्ने पनि प्रष्टै देखिन्छ।
नेपालीलाइनेनले कन्सल्टेन्सीको टिकटक पेजमा यस्ता दर्जनौ भिडियोहरू हेरेको छ।
यसरी सार्वजनिक गरिएको गोप्य विवरणले विद्यार्थीहरू र उनीहरूका आश्रित मात्र होइन, फिनिस अध्यागमनको गोपनीयतालाई पनि भंग गरेको छ।
सार्वजनिक गरिएका विवरणमा फिनिस अध्यागमनको ग्राहक नम्बर, डायरी नम्बर, र निर्णय प्रकृयामा संलग्न अध्यागमन अधिकारीहरूको नाम पनि सार्वजनिक भएको छ।
यी सबै गोप्य राख्नु पर्ने विवरण हुन्। सार्वजनिक गरिएका भिडियोहरूमा आवासीय अनुमति शुल्कबापत तिरिएको रकम समेत देख्न सकिन्छ।

विद्यार्थीहरूको भविष्यसँग जोडिएका संवेदनशील कागजातहरू र व्यक्तिगत विवरणहरूलाई यसरी सामाजिक सञ्जालमा छरपस्ट पार्नु शैक्षिक परामर्शदाताको गैरजिम्मेवारपनको पराकाष्ठा हो।
नेपालीलाइनेनले यस विषयमा टिप्पणीका लागि उक्त कन्सल्टेन्सीलाई सम्पर्क गरेको थियो, तर हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन। कन्सल्टेन्सीको टिप्पणी प्राप्त भएमा यो समाचार अपडेट गरिने छ।
यदि आवेदकले बधाई प्रयोजनका लागि आफ्नो फोटो वा नाम सेअर गर्न सहमति दिएका थिए भने उनीहरूको नाम वा फोटो सम्म सेअर गर्नु सामान्यतया ठीकै मान्न सकिन्थ्यो। तर चाहे विद्यार्थी वा उनीहरूका आश्रितहरूले सहमति नै दिएका किन नहोउन्, व्यक्तिगत डाटाको यो स्तरको गोपनीयता उल्लंघन गम्भीर हो।
धेरैलाई यी विवरणहरू कति महत्वपूर्ण छन् भन्ने थाहा नहुन सक्छ र कसैले त प्रत्यक्ष वा अप्रत्यक्ष दबाबमा परेर सहमति दिएका पनि हुन सक्छन्। आफ्ना ग्राहकहरूको गोपनीयताको उचित संरक्षण गर्नु शैक्षिक परामर्शदाताको जिम्मेवारी हो।
विद्यार्थीहरूको भविष्यसँग जोडिएका संवेदनशील कागजातहरू र व्यक्तिगत विवरणहरूलाई यसरी सामाजिक सञ्जालमा छरपस्ट पार्नु शैक्षिक परामर्शदाताको गैरजिम्मेवारपनको पराकाष्ठा हो।





