0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको एउरा क्षेत्रमा दुई हेलिकप्टर ठोकिए, सवार सबैको मृत्यु

    सबै यात्रुको मृत्यु भएको पुष्टि, मृत्यु हुने सबै इस्टोनियन व्यापारीहरू।

    .संक्षेपमा.


    • टालिनबाट उडेका दुई हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनाग्रस्त।
    • दुर्घटनामा परेका पाँचै जना इस्टोनियन नागरिकको मृत्यु।
    • दुर्घटनाग्रस्त हेलिकप्टरका मालिकहरू इस्टोनियाका निर्माण र ऊर्जा क्षेत्रका व्यवसायी।

    फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब २१५ किलोमिटर पश्चिम (पोरी र तुर्कु बिच रहेको) एउरा क्षेत्रमा शनिबार दिउँसो दुई हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना इस्टोनियन नागरिकको मृत्यु भएको छ। इस्टोनियाको विदेश मन्त्रालयले दुर्घटनामा सवार सबैको मृत्यु भएको पुष्टि गरेको छ।

    दुर्घटना भएका एउटा हेलिकप्टरमा दुई र अर्कोमा तीन जना सवार थिए। मृत्यु हुने सबै इस्टोनियन व्यापारीहरू हुन्।

    प्रहरीका अनुसार दुर्घटना दिउँसो १२:३५ बजे भएको थियो। दुवै हेलिकप्टर इस्टोनियाको राजधानी टालिनबाट फिनल्यान्डको पिकायार्भी विमानस्थलतर्फ उडिरहेका थिए। दुर्घटनास्थल एउरा विमानस्थलबाट करिब ७०० मिटर टाढा रहेको छ र दुवै हेलिकप्टर जंगली क्षेत्रमा एक-अर्काबाट करिब १०० मिटरको दूरीमा खसेका थिए।

    एक प्रत्यक्षदर्शीले फिनिश मिडिया इल्तालेहतीलाई बताए अनुसार, “एउटा हेलिकप्टरले छल्ने प्रयास गर्दा अर्कोसँग ठोक्कियो। एउटा ढुंगा जस्तै खस्यो भने अर्को बिस्तारै तल झर्‍यो।”

    फिनल्यान्डको केन्द्रीय अपराध अनुसन्धान ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको र फिनल्यान्डको दुर्घटना जाँच केन्द्रलाई पनि सूचित गरिएको जनाइएको छ।

    पिकायार्भी विमानस्थलमा आयोजित हवाई प्रदर्शनीमा सहभागी हुन जाँदै गरेका यी इस्टोनियन नागरिकहरूको दुर्घटनाले दुई देशका हवाई समुदायलाई स्तब्ध बनाएको छ। पोरी हवाई क्लबका अध्यक्ष आरी पुल्लिनेनका अनुसार शनिबार विशेष हवाई दिवसको आयोजना गरिएको थियो।

    इस्टोनियाका एक व्यक्तिले आफ्नो भाइ दुर्घटनाग्रस्त हेलिकप्टरमध्ये एकको पाइलट रहेको जानकारी दिएका छन्। उनका अनुसार अर्को हेलिकप्टरका पाइलटले भखरै मात्र उडान लाइसेन्स प्राप्त गरेका थिए। दुवै हेलिकप्टर नयाँ र राम्रोसँग मर्मत गरिएका थिए।

    सुरक्षा निकायका अनुसार घटनास्थलमा तत्काल प्रहरी, एम्बुलेन्स र दमकलका टोलीहरू परिचालन गरिएको थियो। फिनल्यान्डको सेनाले पनि घटनास्थल सुरक्षामा सहयोग गरेको छ।

    फिनल्यान्डको सशस्त्र बलका प्रवक्ता कमाण्डर क्याप्टेन टोम्मी सोर्भारीले यो दुर्घटनामा फिनिश वायुसेना वा थल सेनाको कुनै संलग्नता नरहेको स्पष्ट पारे। यद्यपि उनले फिनल्यान्डमा हाल बेलायती सैन्य हेलिकप्टरहरूको उपस्थिति रहेको जानकारी दिए।

    इस्टोनियाको सार्वजनिक प्रसारक ईआरआरले विदेश मन्त्रालयको प्रारम्भिक जानकारीको आधारमा सबै यात्रुको मृत्यु भएको पुष्टि गरेको छ।

    घटनास्थल नजिकैका स्थानीय बासिन्दाले सुनेको एक विशाल आवाजपछि पूर्ण सन्नाटा छाएको बताए। “एउटा ठूलो धमाकाको आवाज आयो, त्यसपछि सबै शान्त भयो,” एक प्रत्यक्षदर्शीले बताए।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप