.संक्षेपमा.
- फिनल्याण्डमा नेपाली खानाको लोकप्रियता झनै बढ्दो।
- भियतनामी, भारतीय र कोरियाली परिकारहरू पनि फिनिस नागरिकहरूको रोजाइमा।
- पिज्जा, बर्गर र केबाबको माग घट्दो।
फिनल्याण्डको खाद्य बजारमा परम्परागत रूपमा लोकप्रिय रहँदै आएका पिज्जा र ह्यामबर्गर जस्ता परिकारहरूलाई एसियाली मुलुकका खानाहरूले कडा टक्कर दिन थालेको देखिएको छ। खाना डेलिभरी कम्पनी ‘फूडोरा’का अनुसार पिज्जा, बर्गर र केबाब अझै पनि फिनिस उपभोक्ताहरूमाझ लोकप्रिय छन्, तर यिनको अर्डर गर्ने प्रवृत्तिमा केही कमी आएको छ।
फूडोराका अनुसार पछिल्लो समय उपभोक्ताहरूले एसियाली स्वादहरूलाई बढी प्राथमिकता दिन थालेका छन्, जसमा नेपाली खानाले पनि आफ्नो स्थान बनाउन सफल भएको छ।
फूडोराको तथ्याङ्कअनुसार सन् २०२४ भरि भियतनामी, भारतीय, नेपाली र कोरियाली खानाको लोकप्रियता उल्लेख्य रूपमा बढेको छ। जापानी खानामा पनि सुशीबाहेक अन्य परिकारहरूको माग बढेको पाइएको छ।
सन् २०२४ को सुरुदेखि नै उपभोक्ताहरूको रोजाइमा विविधीकरण देखिन थालेको हो। भियतनामी खाना वर्षभरि नै लोकप्रिय रह्यो भने मेक्सिकन र मध्यपूर्वीय खानाको मागमा पनि वृद्धि भएको छ।
यद्यपि फूडोरा मार्फत सबैभन्दा बढी अर्डर गरिने परिकार अझै पनि पिज्जा नै हो, तर सन् २०२४ मा यसको लोकप्रियतामा थोरै गिरावट आएको छ। गत वर्ष उपभोक्ताहरूले सबैभन्दा कम रुचि देखाएका खानाहरूमा सलाद, स्टिकहरू, युरोपेली र घरेलु फिनिस खानाहरू पर्दछन्।
केही वर्षदेखि ट्रेन्डमा रहेको ‘बोल’ (bowl) खानाको लोकप्रियता पनि घट्दै गएको फूडोराले जनाएको छ।

यद्यपि फूडोरा मार्फत सबैभन्दा बढी अर्डर गरिने परिकार अझै पनि पिज्जा नै हो
हाल फिनल्यान्डमा करीब सय भन्दा बढि नेपाली रेष्टुरेन्ट छन्। फिनल्यान्डको पहिलो नेपाली रेस्टुरेन्ट ‘हिमालय’ सन् १९९३ मा हेलसिन्कीको काल्लीयोमा खोलिएको थियो।





