📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Go.संक्षेपमा.
- पिर्क्काला क्षेत्रको भाहायार्भी विद्यालयमा भएको घटनामा तीन विद्यार्थी घाइते।
- आरोपी विद्यार्थीले ChatGPT को सहयोगमा ६ महिना अघिदेखि योजना बनाएको दाबी।
- घाइतेहरूको अवस्था गम्भीर खतरा बाहिर रहेको प्रहरीको भनाई।
मंगलबार बिहान फिनल्यान्डको ताम्पेरे शहरको पिर्क्काला क्षेत्रमा रहेको भाहायार्भी विद्यालयमा एक १६ वर्षीय विद्यार्थीले गरेको चक्कु आक्रमणमा तीन विद्यार्थी घाइते भएका छन्। बिहान १०:४२ बजे घटेको यस घटनामा एक विद्यार्थीको घाँटीमा, अर्काको हातमा र तेस्रो विद्यार्थीको कम्मरमा चोट लागेको छ।
प्रहरीले आरोपी विद्यार्थीलाई नियन्त्रणमा लिइसकेको छ। उक्त घटनाअघि आरोपीले एक ‘म्यानिफेस्टो’ प्रकाशित गरेको पाईएको छ। उक्त म्यानिफेस्टोमा आरोपीले महिला विद्यार्थीहरूलाई लक्षित गरी चक्कु प्रहार गर्ने योजना बनाएको उल्लेख गरेको जनाइएको छ।
म्यानिफेस्टो अनुसार आरोपीले “महत्वपूर्ण” र “रोमाञ्चक” केही गर्न चाहेको र २-४ वर्षको जेल सजाय भोग्ने उद्देश्य राखेको पाईएको छ। आरोपीले कुनै साथी नभएको र साथी बनाउन पनि नचाहेको उल्लेख छ। आरोपीले यो योजना बनाउन ChatGPT को सहयोग लिएको पनि दाबी गरिएको छ।
प्रहरीले घटनासँग सम्बन्धित सबै सामग्रीको अनुसन्धान गरिरहेको जनाएको छ। यो घटनाको अनुसन्धान जारी रहँदा स्थानीय अधिकारीहरूले विद्यालयका अन्य विद्यार्थी र शिक्षकहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराएका छन्। विद्यालय प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको र अभिभावकहरूलाई सम्पर्क गरी स्थितिबारे जानकारी गराएको छ।








