0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा घर भाडामा दिँदा व्यापक जातीय भेदभाव हुने खुलासा

    विदेशी नाम भएका व्यक्तिहरूलाई घर भाडामा दिन अस्वीकार गर्ने प्रवृत्ति रहेको र सोमाली, इराकी र सिरियाली मूलका व्यक्तिहरूले बढी समस्या भोग्नुपरेको इल्ता-सानोमात पत्रिकाले गरेको अनुसन्धानले देखाएको छ।

    .संक्षेपमा.


    • अरबी र रसियाली नाम भएका आवेदकहरूले फिनिश नाम भएकाहरूको तुलनामा कम प्रतिक्रिया पाए।
    • फिनिश नाम भएका ९०% ले जवाफ पाए भने अरबी नाम भएका ५०% ले मात्र जवाफ पाए।
    • कानूनी रूपमा प्रतिबन्धित भए पनि जातीय भेदभाव कायमै।

    हेलसिन्की र ओउलु शहरमा गरिएको एक अध्ययनले फिनल्यान्डको घर भाडा बजारमा व्यापक जातीय भेदभाव रहेको देखाएको छ। इल्ता-सानोमात पत्रिकाले गरेको अनुसन्धानमा ४०० वटा घर भाडाका निवेदन पठाइएको थियो। पत्रिकाले एक तिहाई फिनिश नाम, एक तिहाई अरबी नाम र एक तिहाई रसियाली नामका आवेदकहरू बनाएर परिक्षण गरेको थियो।

    पत्रिकाले प्राप्त गरेको रिजल्ट कहालीलाग्दो छ। उदाहरणका लागि एउटै घरधनीले फिनिश नाम भएको आवेदकलाई तुरुन्तै जवाफ दिने तर विदेशी नाम भएको आवेदकलाई बेवास्ता गर्ने दर्जनौं उदाहरणहरू फेला परे। यद्यपि सबै आवेदनहरू शुद्ध फिनिश भाषामा लेखिएका थिए।

    अचम्मको कुरा त के छ भने केही घरधनीहरूले आफ्नो यस्तो व्यवहार गैरकानूनी हो भन्ने जानकारी नै नभएको बताए।

    ओउलु शहरका एक घरधनीले “यार्को रान्तानेन” नामको आवेदकलाई आधा घण्टाभित्रै जवाफ दिए र घर हेर्न बोलाए। तर त्यही घरको लागि “भ्लादिमिर इभानोभ”लाई एक दिनपछि मात्र “घर पहिले नै भाडामा गइसक्यो” भन्ने जवाफ दिए।

    पत्रिकाले ती घरधनीलाई सम्पर्क गर्दा उनले पृष्ठभूमिको आधारमा भाडामा बस्ने सम्भावित व्यक्तिहरूलाई भेदभाव गर्ने गरेको स्वीकार गरे। उनले भने, “नामबाटै थाहा हुन्छ कि आवेदक रोमानी हो। बजार राम्रो छ भने म कुराकानी अगाडि बढाउन चाहन्न। विदेशीहरूको हकमा पनि त्यस्तै हो।” यद्यपि उनले एक रुसी व्यक्तिलाई अर्को अपार्टमेन्ट भाडामा दिएको र सबै कुरा राम्ररी चलेको पनि बताए। नामको आधारमा भेदभाव गर्नु अपराध हो भन्ने कुरा थाहा थियो कि भनेर सोध्दा उनले आफूलाई यसबारे जानकारी नभएको बताए।

    फिनल्याण्डको समानता सम्बन्धी ऐनले जाति, राष्ट्रियता र भाषा लगायतका आधारमा भेदभाव गर्न निषेध गरेको छ। ऐनको तयारी गर्दा अपार्टमेन्ट भाडामा दिने काम पनि यसको दायराभित्र पर्ने कुरा विशेष रूपमा उल्लेख गरिएको थियो।

    “यी नतिजाहरूले मलाई दुखी बनाएका छन्।” फिनल्यान्डका घरधनी संघकी कार्यकारी निर्देशक सान्ना ह्युघेसले इल्ता-सानोमात पत्रिकालाई भनेकि छिन्। “घर भाडा बजारमा भेदभाव पूर्णतया प्रतिबन्धित छ। व्यक्तिको पृष्ठभूमिले भाडा सम्बन्धमा कुनै प्रभाव पार्न सक्दैन।”

    आप्रवासीहरूको घरबारविहीनतामा अनुसन्धान गरेकी र उनीहरूलाई घर खोज्न मद्दत गरेकी नसिबे हेदायाती ‘इल्ता-सानोमात’को अनुसन्धान नतिजाबाट आश्चर्यचकित छैनन्। “दुर्भाग्यवश म आश्चर्यचकित छैन, तर पनि यस्ता नतिजाले मलाई धेरै दुःखी बनाउँछ,” हेदायातीले भनिन्। उनले यस्ता धेरै अवस्थाहरू सामना गरेकी छिन् जहाँ आप्रवासी पृष्ठभूमि भएका घर खोज्नेहरूले आफ्नो आवेदनको कुनै जवाफ पाउँदैनथे। कतिपय अवस्थामा घरधनीले सीधै विदेशीलाई घर भाडामा नदिने समेत बताएका थिए।

    हेदायातीले घर आधारभूत अधिकार भएको र कसैलाई पनि नाम, पृष्ठभूमि वा भाषा क्षमताको आधारमा भेदभाव गर्न नहुने कुरामा जोड दिइन्। उनले भाडामा लिने व्यक्तिको भाषा क्षमताको बारेमा चिन्ता हुनु स्वाभाविक भए पनि नामको आधारमा मात्र भाषा क्षमताको अनुमान लगाउन नसकिने बताइन्। 

    सन् २०२१ मा तीन गैरसरकारी संस्थाहरूले गरेको एक सर्वेक्षणमा करिब एक तिहाई घरधनीहरूले जातीय अल्पसंख्यक भएकै कारण भाडावाल छनौटमा नकारात्मक असर पर्ने स्वीकारेका थिए। विशेषगरी युरोप बाहिरका आवेदकहरूप्रति नकारात्मक धारणा बढी पाइएको थियो।

    यो समस्या रोजगारी क्षेत्रमा पनि व्याप्त रहेको विभिन्न अनुसन्धानले देखाएका छन्।

    यो समस्या रोजगारी क्षेत्रमा पनि व्याप्त रहेको विभिन्न अनुसन्धानले देखाएका छन्।

    इल्ता सानोमात पत्रिकाले सोमालियाका एक “शर्माके” (परिवर्तित नाम) नामका व्यक्तिले भोगेको वास्तविक र तीतो यथार्थलाई पनि लेखेको छ। उनलाई एउटै फ्ल्याटको लागि अन्य फिनिश आवेदकहरूको तुलनामा मासिक २०० युरो बढी तिर्न भनिएको थियो। यद्यपि उनले फ्ल्याट अति आवश्यक परेका कारण यो भेदभावपूर्ण सम्झौता स्वीकार्नु परेको थियो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप