फिनल्याण्डमा यो साता मौसम न्यानो रहने पूर्वानुमान गरिएको छ। फोरेकाकी मौसमविद् आन्ना लाटभालाका अनुसार फिनल्यान्ड अहिले समर अर्थात् ग्रीष्म ऋतुको संघारमा छ।
केही स्थानमा तापक्रम २२ डिग्री सेल्सियस सम्म पुग्ने सम्भावना रहेको छ। विगत एक हप्ताभन्दा बढी समयदेखि देशको दक्षिणी र मध्य भागका साथै लापल्याण्डका केही क्षेत्रमा समेत दैनिक औसत तापक्रम १० डिग्री सेल्सियसको हाराहारीमा रहेको छ। मौसमविद्का अनुसार यसले समरको आगमनलाई संकेत गर्छ।
मौसमविद् लाटभालाले आफ्नो ब्लगमा उल्लेख गरेअनुसार जब औसत तापक्रम स्थायी रूपमा १० डिग्री सेल्सियसभन्दा माथि पुग्छ तब “थर्मल ग्रीष्म” (thermally defined summer) सुरु भएको मानिन्छ।
यो हप्ता अधिकांश दिनमा तापक्रम १५ देखि २० डिग्री सेल्सियसको बीचमा रहनेछ।
“घमाइलो र सुख्खा क्षेत्रहरूमा साताभरि तापक्रम स्थानीय रूपमा २० डिग्रीभन्दा केही माथि पनि जान सक्छ,” लाटभालाले बताइन्। सोमबार नै उत्तरी ओस्ट्रोबोथनियाको युलिभिएस्कामा दिनको सबैभन्दा उच्च तापक्रम २२.६ डिग्री सेल्सियस मापन गरिएको थियो।
यो साताको सुरुमा दक्षिण र दक्षिणपश्चिम दिशाबाट तीव्र हावा चल्ने पूर्वानुमान छ। “बिहीबार र शुक्रबार हावाको गति केही कम हुनेछ, तर सप्ताहन्तमा उत्तरी हावा केही बलियो हुन्छ वा हुँदैन भन्नेमा अनिश्चितता छ,” लाटभालाले थपिन्।
फोरेकाका अनुसार लामो अवधिको मौसम तथ्याङ्क हेर्दा मे को अन्त्य र जून महिनाको सुरूतिर फिनल्याण्डको दक्षिणी भागमा औसत अधिकतम तापक्रम १६–२० डिग्री, मध्य भागमा १४–१८ डिग्री र उत्तरी भागमा सामान्यतया १०–१६ डिग्री सेल्सियस रहने गर्दछ। उत्तरी लापल्याण्डमा भने यो तापक्रम स्थानीय रूपमा ८–१० डिग्री सेल्सियससम्म रहने गर्छ।
यस वर्षको तापक्रमले सामान्यभन्दा केही चाँडै नै गर्मीको अनुभव गराएको छ।





