.संक्षेपमा.
- काठमाडौँस्थित फिनल्यान्ड दूतावासकी कर्मचारी रेणु शाक्य सम्मानित।
- शाक्यले प्रतिष्ठित ‘क्रस अफ मेरिट अफ द अर्डर अफ द लायन अफ फिनल्यान्ड’ पाइन्।
- शाक्यको प्रतिबद्धता, व्यावसायिकता, समर्पण र सकारात्मक मनोवृत्तिको दूतावासद्वारा उच्च प्रशंसा।
फिनल्याण्ड सरकारले काठमाडौंस्थित फिनिस दूतावासमा विगत २३ वर्षदेखि कार्यरत कर्मचारी रेणु शाक्यलाई एक प्रतिष्ठित सम्मान प्रदान गरेको छ। दूतावासले मंगलबार एक नोट जारी गर्दै शाक्यलाई ‘क्रस अफ मेरिट अफ द अर्डर अफ द लायन अफ फिनल्याण्ड’ नामक उच्च पदकबाट विभूषित गरिएको जानकारी दिएको हो। यो सम्मान फिनल्याण्डका लागि उल्लेखनीय योगदान र असाधारण सेवा पुर्याउने व्यक्तिहरूलाई प्रदान गरिन्छ।
दूतावासका अनुसार रेणु शाक्य दूतावास कार्य सञ्चालनको एक महत्वपूर्ण आधारस्तम्भ रहँदै आएकी छिन्। उनको प्रतिबद्धता, व्यावसायिकता र समर्पणले दूतावासको दैनिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको दुतावासले उल्लेख गरेको छ। सहकर्मीहरूले पनि रेणुको सकारात्मक मनोवृत्ति, मित्रता र अरूलाई सधैं सहयोग गर्न तत्पर रहने स्वभावको उच्च मूल्यांकन गरेको दुतावासले जनाएको छ।
दूतावासले सामाजिक संजालमा शाक्यलाई बधाई दिँदै उनको योगदानप्रति आभार व्यक्त गरेको छ।
“रेणु जी, बधाई छ, र दूतावास टोलीको यस्तो आवश्यक हिस्सा हुनुभएकोमा धन्यवाद। तपाईंसँगै काम गर्न पाउनु हाम्रो लागि सम्मान र खुसीको कुरा हो!” दूतावासले उल्लेख गरेको छ।
शाक्य फिनल्यान्डको काठमाडौं दूतावासमा कन्सुलर सर्भिस एसिस्टेन्टको रूपमा कार्यरत छिन्।
के हो शाक्यले पाएको सम्मान?
‘अर्डर अफ द लायन अफ फिनल्याण्ड’ फिनल्याण्डका तीन आधिकारिक सम्मानमध्ये एक हो। यो सन् १९४२ सेप्टेम्बर देखि दिन थालिएको हो। यो सम्मान नागरिक तथा सैन्य क्षेत्रमा उल्लेखनीय सेवा र योगदान पुर्याउने फिनिस नागरिक तथा विदेशीहरूलाई प्रदान गरिन्छ। फिनल्याण्डका राष्ट्रपति यस अर्डरका ग्रान्ड मास्टर हुन्।

यो पदक विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वा लामो समयसम्म सेवा गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ।
‘क्रस अफ मेरिट’ (Ritarikunnan ansioristi) यसै अर्डर अन्तर्गतको एक पदक हो। यो सामान्यतया विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वा लामो समयसम्म सेवा गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ। यो पदक नागरिकहरूलाई उनीहरूको समर्पण र व्यावसायिक उपलब्धिका लागि दिइने एक महत्वपूर्ण कदर हो।





