.संक्षेपमा.
- फिनल्याण्डमा भालुको संख्या बढेर करिब २,४०० पुग्यो।
- भालुको संख्यामा वार्षिक १०-२० प्रतिशतले वृद्धि।
- दक्षिणपश्चिम फिनल्याण्डका शहरी क्षेत्रहरूमा भालु देखिने क्रम बढ्यो।
फिनल्याण्डमा भालुको संख्यामा पछिल्ला वर्षहरूमा उल्लेखनीय वृद्धि भएको छ। फिनल्याण्डको प्राकृतिक स्रोत संस्थान (LUKE) का अनुसार सन् २०२२ मा शिकारी कोटामा गरिएको कटौतीपछि भालुको संख्या वार्षिक १० देखि २० प्रतिशतले बढेर हाल करिब २,४०० पुगेको अनुमान छ।
संख्यामा वृद्धिसँगै भालुहरू शहरी क्षेत्रमा समेत देखिन थालेका छन्। यसले स्थानीय बासिन्दामा चासो र केही त्रास उत्पन्न गरेको छ।
सन् २०२२ मा भालुको संख्या घटेर १,७४० देखि १,९२५ को बीचमा पुगेको थियो। यो गिरावट फिनिस अधिकारीहरूले क्रमशः शिकार कोटा बढाउँदै लगेका कारण आएको थियो। तर २०२२ मा उक्त नीतिमा परिवर्तन गरी शिकार कोटा घटाएपछि भालुको संख्या पुनः बढ्न थालेको हो। LUKE ले आफ्नो प्रतिवेदनमा आगामी वर्षहरूमा पनि भालुको संख्या बढ्दै जाने अपेक्षा गरेको छ।
भालुको संख्यामा भएको यो वृद्धिसँगै दक्षिणपश्चिम फिनल्याण्डका विभिन्न शहरहरूमा भालु देखिने घटनाहरू बढेका छन्। हालै टुर्कु र टाम्पेरे शहरको बीचमा रहेको १५,००० जनसंख्या भएको लोइमा शहरको मध्यभागमा एउटा खैरो भालु देखिएको थियो। प्रहरीका अनुसार यो वसन्तमा दक्षिणपश्चिम फिनल्याण्डमा यस्ता घटनाहरू बढेका छन्। त्यहाँ भालुको संख्या तीव्र गतिमा बढिरहेको छ।
दक्षिणपश्चिम फिनल्याण्ड प्रहरी विभागका इन्स्पेक्टर मार्कु कुइस्माका अनुसार भालु पहिलो पटक लोइमा शहर भएर बग्ने लोइमियोकी नदीमा पौडीरहेको देखिएको थियो। “त्यसपछि, भालु नदी किनारमा चढेर एकल-परिवारका घरहरू भएको क्षेत्र हुँदै बाहिरियो,” उनले भने। त्यसपछि धेरै प्रत्यक्षदर्शीहरूले उक्त भालुलाई आवासीय क्षेत्रमा दौडिरहेको देखेका थिए।
लोइमामा भालु देखिनु दुर्लभ भए तापनि हाल दक्षिणपश्चिम फिनल्याण्डमा भालु देखिने घटनाहरूमा उल्लेखनीय रूपमा वृद्धि भएको कुइस्माले फिनिस प्रसारण सँस्था YLE लाई बताए। पछिल्लो महिनामा मात्र सालो, पाइमिओ र किमिटोओनका आवासीय क्षेत्रहरूमा भालु देखिएका छन्।
लोइमाकी एक बासिन्दाले उक्त भालुको भिडियो खिच्न सफल भएकी थिईन्। उनले उक्त भालु राति करिब ११:२० बजे स्कूल नजिकैको सडक र शहरको केन्द्रमा रहेको घाँसे मैदानमा देखेकी थिइन्।
“यो एक जंगली दृश्य थियो। मैले पहिले कहिल्यै भालु देखेको थिइनँ,” हकालाले फिनिस प्रसारण संस्था YLE लाई बताइन्। उनका अनुसार भालु शहरी क्षेत्रमा हराएकोले अलिकति डराएको जस्तो देखिन्थ्यो र जसरी आएको थियो त्यसरी नै फर्कियो। “भिडियो खिचेपछि हामीले भालुलाई लोइमियोकी नदी तरेर गएको देख्यौं,” उनले भनिन्।
फिनिस वन्यजन्तु एजेन्सीका अनुसार फिनल्याण्डमा पोथी खैरो भालुको तौल सामान्यतया ४५-१७० किलोग्राम हुन्छ। भालेको तौल २३० किलोग्रामसम्म हुन सक्छ। जनसंख्या वृद्धिदर र रुससँगको लामो सिमानामा जनावरहरूको आवतजावतका कारण भालुको संख्यामा उतारचढाव आइरहन्छ।

दक्षिणपश्चिम फिनल्याण्डका विभिन्न शहरहरूमा भालु देखिने घटनाहरू बढेका छन्।
गत अप्रिलमा सरकारले संसदलाई शिकार ऐनमा संशोधन स्वीकृत गर्न अनुरोध गरेको थियो जसले भालु र अन्य ठूला मांसाहारी जनावरहरूको शिकार गर्न सजिलो बनाउनेछ। संरक्षण समूहहरूले भने यस योजनाको चर्को आलोचना गरेका छन्।





