.संक्षेपमा.
- रुस र चीनसँगै इरानले पनि फिनल्याण्डमाथि सक्रिय जासुसी गरिरहेको जिकिर।
- इरानले फिनल्याण्डमा असन्तुष्ट आवाजहरू दबाउन शरणार्थी जासुसी र आपराधिक समूहहरू प्रयोग गर्न सक्ने आँकलन।
- पश्चिमा देशहरूसँग इरानको बिग्रँदो सम्बन्धका कारण यस्ता गतिविधिहरू बढे।
हेलसिन्की: फिनल्याण्डको सुरक्षा खुफिया सेवा (सुपो) ले इरानले फिनल्याण्डमाथि सक्रिय रूपमा जासुसी गरिरहेको खुलासा गरेको छ। सुपोले पहिलो पटक इरानलाई रुस र चीनसँगै फिनल्याण्डमा जासुसी गर्ने प्रमुख राष्ट्रहरूको सूचीमा समावेश गरेको हो। सुपोले यी तीन राष्ट्रका अतिरिक्त अन्य केही मुलुकले पनि फिनल्याण्डमा जासुसी गरिरहेको बताएको छ।
सुपोका अनुसार इरानको गतिविधि युरोपमा पहिलेभन्दा बढी शत्रुतापूर्ण बन्दै गएको छ। इरानले फिनल्याण्डबाट विशेष रूपमा कस्तो जानकारी खोजिरहेको छ भन्नेबारे खुफिया एजेन्सीले विस्तृत रूपमा खुलाएको छैन।
सुपोले निरंकुश राष्ट्रहरूले सामान्यतया प्रयोग गर्ने उपकरणहरूमध्ये शरणार्थी जासुसी पनि एक भएको बताएको छ। यस्तो जासुसी प्रायः ती व्यक्तिहरूमाथि लक्षित हुन्छ जो आफ्नो पूर्व गृहदेश वा उद्गम देशमा राजनीतिक प्रतिपक्ष वा सत्ताधारीहरूका लागि खतरा मानिने अन्य समूहमा आबद्ध हुन्छन्।
“विभिन्न माध्यमहरू प्रयोग गरेर यी व्यक्तिहरूबाट जानकारी सङ्कलन गर्ने प्रयास गरिन्छ। व्यक्तिगत जासुसी (ह्युमन इन्टेलिजेन्स) पनि एक प्रयोग गरिने तरिका हो।” सुपोले भनेको छ।
जासुसीको निशानामा परेका व्यक्तिका उद्गम देशमा रहेका आफन्तहरूलाई दबाब दिने माध्यमको रूपमा प्रयोग गरिने सुपोको भनाइ छ। यसको मुख्य उद्देश्य शासन विरोधी आवाजहरूलाई निस्तेज पार्नु हो।
इरानसँग सम्बन्धित अन्य सम्भावित सुरक्षा जोखिमहरू पनि रहेको सुपोले औंल्याएको छ। सुपोले इरानले फिनल्याण्डमा विभिन्न कार्यहरू गर्न आपराधिक समूहहरूलाई परिचालन गर्न सक्ने सम्भावनालाई नकारेको छैन। “इरानको कार्यशैलीमा संगठित आपराधिक समूहहरू जस्ता प्रोक्सी (मध्यस्थकर्ता)हरूको प्रयोग समावेश छ। फिनल्याण्डमा यस्तो गतिविधि हुन सक्दैन भन्न सकिन्न,” सुपोले भनेको छ।
यद्यपि कस्ता कामहरूका लागि प्रोक्सीहरू प्रयोग हुन सक्छन् भन्नेबारे सुपोले थप टिप्पणी गरेको छैन। युरोपमा हालैका वर्षहरूमा इरानी राज्य-सम्बन्धित तत्वहरू संलग्न भएका धेरै आक्रमणका योजनाहरू विफल पारिएको उसले उल्लेख गरेको छ।
सुपोका अनुसार इरानको बढ्दो शत्रुतापूर्ण गतिविधि पश्चिमा देशहरूसँग उसको कमजोर हुँदै गएको सम्बन्धको प्रतिबिम्ब हो। यसअघि स्विडेनका अधिकारीहरूले पनि इरानले स्विडेनमा सक्रिय आपराधिक सञ्जालहरूलाई कुनै समूह, व्यक्ति वा राज्यविरुद्ध आक्रमण गर्न प्रयोग गर्न सक्ने चेतावनी दिएका थिए।

इरानको बढ्दो शत्रुतापूर्ण गतिविधि पश्चिमा देशहरूसँग उसको कमजोर हुँदै गएको सम्बन्धको प्रतिबिम्ब हो।
सुपोका प्रमुख युहा मार्टेलियसका अनुसार फिनल्याण्डका लागि रुस सबैभन्दा ठूलो खतरा भए तापनि चीनबारे पनि जानकारी आवश्यक छ।





