.संक्षेपमा.
- करिब २०० फिनिस कम्पनीद्वारा युक्रेनमा लगानी र सञ्चालन विस्तारको तयारी।
- डिजिटल प्रविधि, हरित ऊर्जा, निर्माण तथा खाद्य प्रशोधन क्षेत्रमा मुख्य आकर्षण।
- फिनिस कम्पनीहरूलाई सहजीकरण गर्न किभ र हेलसिन्कीमा नयाँ व्यावसायिक महासंघ स्थापना हुने।
युक्रेनको पुनर्निर्माण र आर्थिक लगानीका लागि करिब २०० फिनिस कम्पनीहरू सक्रिय हुने भएका छन्।
युक्रेनमा आर्थिक पुनर्निर्माण र लगानीका सम्भाव्यता विषयक बैठकमा सहभागी फिनिस कम्पनीहरूले युक्रेनी बजारमा आफ्नो उपस्थिति विस्तार गर्न थालेका हुन्।
फिनल्याण्डका व्यावसायिक नेताहरू र युक्रेनका प्रथम अर्थ उपमन्त्री ओलेक्सी सोबोलेभबीच भएको छलफलमा फिनिस कम्पनीका प्रतिनिधिहरूले हरित ऊर्जा, डिजिटल प्रविधि, पूर्वाधार र खाद्य प्रशोधन क्षेत्रमा मुख्य ध्यान केन्द्रित गर्ने बताएका थिए।
युक्रेनमा तीन दशकदेखि क्रियाशील रहेको नोकिया टेलिकम्युनिकेशन कम्पनीले स्थानीय कम्पनीहरूसँग मिलेर रक्षा नवप्रवर्तन केन्द्र खोल्ने योजना बनाएको छ। नोकियाले युक्रेनमा ५जी पूर्वाधार विस्तार र डिजिटलाइजेशनमा पनि सहकार्य गर्ने जानकारी दिएको छ।
इन्फ्रा तथा लिफ्ट सिस्टममा संलग्न कोने (KONE) कम्पनी सन् १९९१ देखि युक्रेनमा उपस्थित छ। कोनेले युक्रेनमा अब यातायात, आवास र शहरी पुनर्निर्माणमा आफ्नो लगानी विस्तार गर्ने योजना रहेको जनाएको छ। त्यसैगरि ऊर्जा दक्षता तथा डिकर्बनाइजेसनमा योगदान गर्न वर्ट्सिला (Wärtsilä) कम्पनीले विभिन्न प्रस्तावहरू अघि ल्याएको छ।
फिनल्याण्डका मुख्य रोजगारदाताको छाता संस्था ‘कन्फेडरेशन अफ फिनिश इन्डस्ट्रीज’ ले किभ र हेलसिन्कीमा कार्यालय स्थापना गर्दै नयाँ व्यावसायिक महासंघ सुरु गर्ने जनाएको छ। यसले आगामी दुई वर्षभित्र २०० भन्दा बढी साना तथा मध्यम फिनिस कम्पनीलाई युक्रेनमा लगानीका लागि सल्लाह, साझेदारी र वित्तीय सहुलियत उपलब्ध गराउनेछ।
युक्रेनका लागि तयार पारिएको ‘नेसनल रिकन्स्ट्रक्सन प्लान’ मार्फत फिनिस कम्पनीले विभिन्न परामर्श, बजार अनुसन्धान, निर्यात वित्तीय सहुलियत पाउनेछन्। पछिल्लो उदाहरणका रूपमा पेक्को ग्रुप (Peikko Group) ले बिलासरका औद्योगिक पार्कमा नयाँ उत्पादन इकाई सुरु गरिसकेको छ।

फिनल्याण्डका प्रधानमन्त्री पेट्टेरी ओर्पोले हालै युक्रेन भ्रमण गरेका थिए।
फिनल्याण्डका प्रधानमन्त्री पेट्टेरी ओर्पोले हालै युक्रेन भ्रमण गरेका थिए। प्रधानमन्त्री ओर्पोले युक्रेनमा युद्ध पीडितप्रति सम्मान व्यक्त गरे र युक्रेनको सार्वभौमिकता तथा पुनर्निर्माणमा फिनल्याण्डको निरन्तर सहयोग रहने स्पष्ट पारेका थिए।





