विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलेसिन्कीको DVV कार्यालय बाहिर बिहानैदेखि लामो लाइन, सेवाग्राही हैरान

विवाह, पब्लिक नोटरी, विदेशी नागरिकको फिनल्यान्डमा रजिस्ट्रेसन जस्ता महत्त्वपूर्ण सेवाका लागि DVV हेलसिन्कीमा समय एक हप्ता भित्रै देखिन्छ। तर 'अन्य सेवाहरू' का लागि भने समय देखिँदैन।

फिनल्यान्डको राजधानी हेलसिन्की स्थित DVV (फिनल्यान्डको डिजिटल तथा जनसङ्ख्या डाटा सेवा एजेन्सी Digi- ja väestötietovirasto) को कार्यालयबाहिर पछिल्ला दिनहरूमा बिहानै देखि लामो लाइन लाग्ने गरेको पाइएको छ।

यो एजेन्सीले मुख्यतः जनसङ्ख्या सूचना प्रणाली अन्तर्गत जन्म, बसाइसराइ, विवाह दर्ता तथा फिनल्यान्डको व्यक्तिगत परिचय कोड (Henkilötunnus) प्रदानजस्ता व्यक्तिगत विवरणसम्बन्धी सेवा प्रदान गर्छ। फिनल्यान्ड बसाइसराइ गरेका विदेशी नागरिकले सामान्यतया: यो एजेन्सीमा एक पटक जानै पर्छ।

फिनल्यान्डमा बसोबास गर्ने नेपाली सेवाग्राहीहरूले नेपालीलाइनेनलाई पठाएका फोटो र भिडियोहरूमा DVV कार्यालयबाहिरको लामो लाइन स्पष्ट देख्न सकिन्छ। फिनल्यान्डका सरकारी कार्यालयहरूमा यति लामो लाइन सामान्यतया: देखिँदैन।

फिनल्यान्डमा लामो समयदेखि बसोबास गरेका नेपाली व्यवसायी विष्णु अर्यालले आफू पनि एक जना साथी लिएर आएको र बिहानै देखि लाइन लागेको बताए। उनका अनुसार समयमा पालो नआए केही सेवाग्राहीले अर्को दिन फेरी लाइनमा लाग्नुपर्ने बाध्यता छ।

“यो त नेपालकै पारा भो नि”, एक सेवाग्राहीले भने। “विदेशी भनेर हेपेको हो।” अर्कोले थपे।

विज्ञापन
विज्ञापन सकियो

उनीहरूले बिहानैदेखि लाइन बस्नुपरेको र लाइन लामो भएको बताए।

भिडियोः विष्णु अर्याल

सेवाग्राहीहरूका अनुसार अनलाइन समय लिने प्रणालीमा समेत आगामी केही महिनासम्मका लागि कुनै खाली समय उपलब्ध छैन।

सेवाग्राहीहरूको गुनासो पछि नेपालीलाइनेनले DVV को अनलाइन रिजर्भेसन सिस्टममा समय बुक गर्ने प्रयास गरेको थियो। विवाह, पब्लिक नोटरी, विदेशी नागरिकको फिनल्यान्डमा रजिस्ट्रेसन जस्ता महत्त्वपूर्ण सेवाका लागि DVV हेलसिन्कीमा समय एक हप्ता भित्रै देखिन्छ। तर ‘अन्य सेवाहरू’ का लागि भने समय देखिँदैन।

DVV ले आफ्नो वेभसाइटमा जनाए अनुसार अनलाइनमै गर्न सकिने साधारण सेवाहरूमा पनि समय चाहिए DVV मा फोन गरेर समय बुक गर्न सकिन्छ। धेरै विदेशीहरूलाई यसमै समस्या रहेको आकलन गर्नसकिन्छ।

सेवाग्राहीहरूको गुनासो पछि नेपालीलाइनेनले DVV को अनलाइन रिजर्भेसन सिस्टममा समय बुक गर्ने प्रयास गरेको थियो।

सेवाग्राहीको गुनासो आएपछि नेपालीलाइनेनले DVV को प्रतिकृयाका लागि सम्पर्क गरेको छ। DVV को प्रतिकृया प्राप्त भएमा यो समाचार अपडेट गरिने छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप