0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    एयर इन्डिया ड्रीमलाइनर दुर्घटना: धेरै सपनाको अन्त्य र बिछोडको मार्मिक कथा

    कोही पढ्न जाँदै गरेका, कोही छोराछोरी भेट्न जाँदै गरेका, कोही बिहेपछि हनिमुनमा निस्केका, कोही बेलायतमा काम पाएर पहिलो पटक त्यहाँ जाँदै गरेका—यस्ता अनेकौँ मार्मिक कथाहरू दुर्घटनापछि लेखिएका र सेयर गरिएका छन्।

    अहमदाबादको आकाशमा उडान भरेको केही क्षणमै एयर इन्डिया ड्रीमलाइनर दुर्घटनाग्रस्त भयो। लन्डनतर्फ उडेको यो विमानमा चालक दलका सदस्य र यात्रु गरी २४२ सवार थिए। ती मध्ये एक जना भारतीय मूलका बेलायती नागरिक आश्चर्यजनक रूपमा बाँच्न सफल भए तर विमानमा सवार अन्य २४१ जनाको भने ज्यान गएको छ।

    मानव बस्तीमा दुर्घटना भएका कारण मृत्यु हुनेहरूको सङ्ख्या यो रिपोर्ट तैयार पारुन्जेल करिब २९० पुगेको विभिन्न समाचार संस्थाहरूले जनाएका छन्। प्रारम्भिक अनुसन्धानले यो लामो दूरीको उडानका लागि विमानमा धेरै इन्धन लोड गरिएको र त्यसले विस्फोटलाई अझ भयानक बनाएको देखाएको छ। भारतको नागरिक उड्डयन महानिर्देशालय (डीजीसीए) ले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ।

    दसकौँ पछिको यो खतरनाक हवाई दुर्घटनापछि पुरै भारत शोकमा डुबेको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूका कथाले भारतीय मिडियाका पाना भरिएका छन्। ज्यान गुमाउनेमा छोरी भेट्न लन्डन जाँदै गरेका गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानी सहित १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज, र एक क्यानेडियन नागरिक छन्।

    यो दुर्घटनाले केही महिनामै रिटायर हुने तैयारी गरिरहेका क्याप्टेन मात्र होइन केही समय अगाडि मात्र एअर इन्डियामा काम थालेका चालक दलका सदस्यको पनि ज्यान खोसेको छ। कोही पढ्न जाँदै गरेका, कोही छोराछोरी भेट्न जाँदै गरेका, कोही बिहेपछि हनिमुनमा निस्केका, कोही बेलायतमा काम पाएर पहिलो पटक त्यहाँ जाँदै गरेका—यस्ता अनेकौँ मार्मिक कथाहरू दुर्घटनापछि लेखिएका र सेयर गरिएका छन्। ती मध्ये केही हाम्रा पाठकलाई समेत पठनयोग्य हुने ठानी नेपालीलाइनेनले यहाँ प्रस्तुत गरेको छ। 

    रिटायर हुनै लागेका क्याप्टेन सुमित सभरवाल

    Photo source: The Times of India

    ६० वर्षीय कप्तान सुमित सभरवाल यो उडानका सबैभन्दा वरिष्ठ पाइलट थिए। पवईको जलवायु विहारमा आफ्ना ८२ वर्षीय बुवासँग बस्दै आएका सभरवालसंग दशकौंदेखि उडान गरेको अनुभव थियो। केही महिनामै सेवानिवृत्त हुने योजनामा रहेका उनले बाँकी समय आफ्ना वृद्व बुवासँग बिताउने तैयारी गरेका थिए। तर नियतिले उनको यो सपनालाई अधुरै राखिदियो।

    “उहाँ निकै संयमित र अनुशासित व्यक्ति हुनुहुन्थ्यो। हामी उहाँलाई प्रायः वर्दीमा आउजाउ गरेको देख्थ्यौं, तर उहाँले कहिल्यै धेरै कुरा गर्नुहुन्नथ्यो,” उनका एक छिमेकीले आँखा रसाउँदै सम्झिएको इन्डिएन एक्सप्रेसले लेखेको छ।

    कर्तव्यको पहाड: फ्लाइट एटेन्डेन्ट दीपक पाठक

    Photo: The Indian Express

    भारत बदलापुरका दीपक पाठक ११ वर्षभन्दा बढी समयदेखि एयर इन्डियामा फ्लाइट एटेन्डेन्टको रूपमा कार्यरत थिए। हरेक उडानअघि परिवारलाई फोन गर्ने उनको बानी थियो। दुर्घटना भएको दिन बिहीबार पनि उनले घरमा फोन गरेका थिए। तर त्यहि नै उनको अन्तिम संवाद बन्यो।

    “उनले सधैंझैं फोन गरेका थिए। हामीले त्यो कल नै अन्तिम होला भन्ने कल्पना पनि गरेका थिएनौं,” एक पारिवारिक सदस्यले रुँदै भारतीय मिडियालाई भनेका छन्।

    दुर्घटना भएको केहि समयसम्म पनि उनी जिउँदै होलान् भन्ने परिवारले आशा राखेको थियो। “उनको फोन बजिरहेको थियो… हामीले उनी सुरक्षित छन् भन्ने सोचेका थियौं,” उनीहरूले सम्झिए। तर पछी आएको मृत्युको आधिकारिक खबरले उनीहरूको आशालाई चकनाचुर पारिदियो। बदलापुर समुदायमा दीपक एक कर्तव्यनिष्ठ र मृदुभाषी व्यक्तिको रूपमा चिनिन्थे। उनको अभावले परिवार र समुदायलाई गहिरो शोकमा डुबाएको छ।

    १९ वर्षकी हुँदा एयर इन्डियामा काम थालेकी २१ वर्षे गान्थोई शर्मा

    Photo source: Express Photo

    बिहीबार बिहान करिब ११:३० बजे गान्थोई शर्माले आफ्नी दिदीलाई फोन गरेर आफू सोही दिन लन्डन जान लागेको बताएकी थिइन्। मणिपुरको थौबल सहरमा एयर इन्डियाको विमान दुर्घटनाको खबर आएसँगै २१ वर्षीया नगान्थोई शर्माको परिवार शोकमा डुबेको छ। उनी उक्त उडानमा कार्यरत क्याबिन क्रू (चालक दल) की सदस्य थिइन्।

    उनका बुबा नन्देश कुमार शर्माका अनुसार शर्माले अब केही दिन फोन गर्न नसक्ने र जुन १५ मा फर्केपछि मात्र सम्पर्क गर्ने बताएकी थिइन्। त्यसको करिब तीन घण्टापछि उनकी जेठी छोरीले फोनमा विमान दुर्घटनाको खबर देखेपछि आत्तिँदै उनलाई बोलाइन्।

    तीन छोरीहरूमध्येकी माइली गान्थोईले सन् २०२३ मा १९ वर्षको उमेरमा एयर इन्डियामा आफ्नो पहिलो जागिर सुरु गरेकी थिइन्।

    सपनाकी साक्षी: रोशनी राजेन्द्र सोङ्घरे

    Photo source: The Indian Express

    भारत डोम्बिवलीकी २७ वर्षीया रोशनी राजेन्द्र सोङ्घरेले हालै एयर इन्डियामा जागिर पाएकी थिइन्। एयर होस्टेस बन्ने उनको सपना पूरा भएको थियो। न्यू उमिया कृपा सोसाइटीमा आफ्ना अभिभावक र भाइसँग बस्ने रोशनीलाई सबैले “उज्ज्वल र बुद्धिमान” युवतीको रूपमा चिन्थे।

    इन्स्टाग्राममा ५४,००० फलोअरहरू भएकी रोशनीले आफ्नो जीवनका विभिन्न पलहरू सामाजिक संजालमा सेयर गर्थिन्। उनको एयर इन्डिया वर्दी उनको छिमेकमा गर्वको प्रतीक थियो।

    घर फर्कने सपना अधुरै: रञ्जिता गोपकुमारन

    केरलाकी ४२ वर्षीया रञ्जिता बेलायतमा नर्सको रूपमा कार्यरत थिइन्। उनी आफ्ना पति विनीश, दुई स्कूले छोराछोरी रिथिका र इन्दुचूदन, र आमा थुलसीलाई केरालामै छोडेर अझै १ वर्ष त्यहाँ काम गर्ने तैयारी सहित लन्डन जाँदै थिइन।

    “रञ्जिता तीन दिनअघि यूकेबाट घर आएकी थिइन्। आफ्नो बन्दै गरेको घरको निर्माण हेर्न छोटो बिदामा यहाँ आएकी थिइन्,” पंचायत सदस्य जोनसन थोमसले भने।

    रञ्जिताले यूकेमा आफ्नो सम्झौता पूरा गरेर केरलामा फर्कने र केरलाको राज्य स्वास्थ्य सेवामा काम गर्ने सपना देखेकी थिइन्। बुधबार उनी कोच्ची हुँदै अहमदाबाद गएकी थिइन्, जहाँबाट उनी लन्डन फर्कने उडानमा थिइन्।

    सधैं मुस्कुराउने अनुहार: सैनीता चक्रवर्ती

    जुहु कोलिवाडाकी ३५ वर्षीया सैनीता चक्रवर्तीलाई सबैले ‘पिंकी’ भनेर माया गर्थे। गो एयरमा काम गरेपछि हालै एयर इन्डियामा प्रवेश गरेकी सैनीताको जीवन मेहनत र समर्पणको गाथा थियो।

    “हामी सँगै हुर्कियौं। उनी मानेक्जी कूपर स्कूल र मिथिबाई कलेजमा पढेकी थिइन्। उनी अर्को ठाउँमा सरेपछि पनि म उनलाई कहिलेकाहीं वर्दीमा देख्थें,” उनकी बाल्यकालकी साथी निकी डिसूजाले सम्झिइन्। “उनले त्यहाँसम्म पुग्नका लागि निकै मेहनत गरेकी थिइन्। यो घटना हृदयविदारक छ,” उनले थपिन्। सैनीताको मुस्कान र व्यावसायिकताले उनीसँग जोडिएका सबैलाई प्रभावित पारेको थियो।

    गाउँकी प्रेरणा: मैथिली मोरेश्वर पाटील

    पनवेलको न्हावा गाउँकी २४ वर्षीया मैथिली मोरेश्वर पाटीलले आफ्नो मेहनतले विमान क्षेत्रमा आफ्नो स्थान बनाएकी थिइन्। साधारण परिवारबाट आएकी मैथिलीले टीएस रहमान विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरेकी थिइन्। आर्थिक कठिनाइका बाबजुद परिवारको समर्थनमा विमानन कोर्स पूरा गरेकी उनले एयर इन्डियामा जागिर पाएकी थिइन्।

    “उनी हाम्रो गर्व थिइन्। उनको उपलब्धिले हामीलाई ठूलो खुसी दिएको थियो। यो दुर्घटनाको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ,” एक छिमेकीले भने।

    मैथिलीले गाउँका अनगिन्ती युवतीहरूलाई सपना देख्न र मेहनत गर्न प्रेरित गरेकी थिइन्। “उनी हिजो दिउँसो कामका लागि निस्केकी थिइन्। हामीलाई उनी त्यही दुर्भाग्यपूर्ण उडानमा थिइन् भन्ने थाहा भयो। हामी सबै प्रार्थना गरिरहेका छौं,” एक आफन्तले आँसु झार्दै भने।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप