.संक्षेपमा.
- रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै फिनल्यान्डमा पनि हस्ताक्षर अभियान सुरु।
- हेलसिन्कीमा चलचित्र “महाभोज” प्रदर्शनको क्रममा हस्ताक्षर संकलन गरिने।
- रास्वपा सभापति लामिछाने अझै हिरासतमा छन्।
हेलसिन्की, फिनल्यान्ड – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै नेपालमा सुरु भएको हस्ताक्षर अभियान फिनल्यान्डमा पनि चलाइने भएको छ। पोर्चुगल लगायतका अन्य युरोपेली मुलुकमा पनि यो अभियान चलिरहेको छ।
फिनल्यान्डमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेका समर्थकले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर अभियान चलाउने निर्णय गरेका हुन्। यो अभियान सहकारी घोटालाको विषयमा बनेको चलचित्र “महाभोज” को प्रदर्शनसँगै जोडिएको छ। हेलसिन्कीमा महाभोज चलचित्रको प्रदर्शन आज जुन ३० बेलुका र जुलाई ४ मा मामा इभेन्टसले गर्दैछ।
यो हस्ताक्षर अभियानको संयोजन र अगुवाइ फिनल्यान्डमा बस्ने नेपाली व्यवसायी नवीन भट्टराईले गरेको मामा इभेन्ट्सले जनाएको छ। हस्ताक्षर अभियानमा आफ्नो पनि पूर्ण समर्थन र सहयोग रहेको मामा इभेन्ट्सले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।
“राज्यले गलत नियत राखी राजनीतिक द्वेष साध्ने तवरमा प्रस्तुत भई रवि लामिछाने प्रति गरेको अन्याय विरुद्ध एक आम नेपालीको नाताले हामीले ऐक्यबद्धता स्वरूप बृहत् हस्ताक्षर सङ्कलनमा सहभागी हुने निर्णय लिएका छौँ,” मामाले भनेको छ।
चलचित्र प्रदर्शनको समयमा हस्ताक्षर सङ्कलन गरिने र फिनल्यान्डका नेपालीलाई यो अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

नेपालमा यो मुद्दाले ठुलो चर्चा पाइरहेको छ र समर्थकहरूले उनको पक्षमा विभिन्न प्रदर्शन र अभियानहरू चलाइरहेका छन्।
रवि लामिछाने नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। उनी हाल सहकारी घोटाला प्रकरणमा मुछिएका छन् र हिरासतमा छन्। उनले भने यो प्रकरणलाई राजनीतिक द्वेष र प्रतिशोधको रूपमा राज्यले आफू विरुद्ध प्रयोग गरेको आरोप लगाउँदै आएका छन्। नेपालमा यो मुद्दाले ठुलो चर्चा पाइरहेको छ र समर्थकहरूले उनको पक्षमा विभिन्न प्रदर्शन र अभियानहरू चलाइरहेका छन्।





