अपडेट @ 19:47
पछिल्लो अपडेटमा प्रहरीले घटनामा आतंकवादी वा रंगभेदी उद्देश्य रहेको नदेखिएको बताएको छ। ताम्पेरे अहिले शान्त छ। प्रहरी अनुसन्धान जारी छ। यो संगै आजको नेपालीलाइनेन लाइभ अपडेट समाप्त हुन्छ। नयाँ घटनाक्रम विकसित भएमा छुट्टै समाचारको रुपमा रिपोर्टिगं जारी रहने छ।
.अपडेट @ 19:31
ताम्पेरेको घटनालाई अन्तराष्ट्रिय मिडियाले पनि प्रमुखताका साथ रिपोर्टिंग गरेका छन्। बेलायतको द मिरर, अमेरिकाको वासिङ्गटन पोष्ट लगायतले समाचार लेखेका छन्।
.अपडेट @ 19:20
पक्राउ परेका व्यक्ति युवा उमेरको रहेको बताइएको छ। एक प्रत्यक्षदर्शीले फिनिस भाषाको ट्याबलोइट इल्ता सानोमातलाई बताए अनुसार उनले एक्कासी महिलाहरू माथि चक्कु आक्रमण सुरु गरेका थिए। तर उनलाई छिटै नियन्त्रणमा लिइएको थियो।
.अपडेट @ 19:13
प्रहरीले ४ जना घाइते भएको र घटनामा कसैको पनि मृत्यु नभएको जनाएको छ। पक्राउ परेको व्यक्ति पुरुष भएको जानकारी दिइएको छ। रातिना मल क्षेत्रबाट प्रहरी बाहिरिएको छ। चक्कु हान्नेको उद्देश्य के हो स्पष्ट छैन।
..अपडेट @ 18:51 ..
ताम्पेरे शहरको रातिना शपिङ सेन्टर नजिकै चक्कु आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार एक जना आरोपीलाई नियन्त्रणमा लिइएको छ र घाइतेहरूलाई तत्काल प्राथमिक उपचार गरिएको छ। केही घाइतेहरुलाई एम्बुलेन्सले अस्पताल लगेको देखिएको छ। रातिना मलमा रगतको कुण्ड देखिएको जनाइएको छ। प्रहरीले थप आधिकारिक जानकारी दिएको छैन।
.संक्षेपमा.
- रातिना शपिङ सेन्टर नजिकै धेरै व्यक्तिमाथि चक्कु प्रहार।
- एक आरोपी नियन्त्रणमा, थप खतरा नरहेको प्रहरीको जानकारी।
- घटनास्थल प्रहरीद्वारा घेराबन्दी, यातायात अवरुद्ध।
फिनल्यान्डको ताम्पेरे शहरको रातिना शपिङ सेन्टर नजिकै बिहीबार अपराह्न भएको चक्कु आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार एक जना आरोपीलाई नियन्त्रणमा लिइएको छ र घाइतेहरूलाई तत्काल प्राथमिक उपचार गरिएको छ।
स्थानीय समयानुसार साँझ ४:२३ बजे प्रहरीलाई घटनाबारे सूचना प्राप्त भएको थियो। एक प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ। रातिना शपिङ सेन्टरका कर्मचारीका अनुसार मल भित्र भने अवस्था सामान्य रहेको छ।
बस स्टेशन र शपिङ सेन्टर बीचको क्षेत्र प्रहरीले घेराबन्दी गरेको जनाइएको छ। रगतका चिह्नहरू मलको मुख्य प्रवेशद्वारबाट बाहिर फैलिएको विभिन्न संचार माध्यमले रिपोर्ट गरेका छन्। ताम्पेरे केन्द्रको यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
घटनाको विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन। पीडितहरूको संख्या, उनीहरूको अवस्था, आरोपीको पहिचान र घटनाको कारण लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सामाजिक र संकट सेवाका कर्मचारीहरू पनि घटनास्थलमा परिचालित छन्।





