.संक्षेपमा.
- गर्भवती महिलाले अस्पताललाई पटक–पटक फोन गरेकी थिइन्।
- अस्पतालको निर्देशन अनुसार महिलाले धेरै कुरिन्।
- आमा र छोरी दुबै स्वस्थ।
फिनल्यान्डको एस्पोमा रहेको योर्भी अस्पतालको पार्किङ हलमा एक महिलाले बच्चा जन्माउनु परेको गम्भीर घटना बाहिर आएको छ।
बारम्बार फोन गरेर अस्पताल आउँछु भन्दा पनि अस्पतालका कर्मचारीले घरमै बसिराख्न सल्लाह दिए र महिला समयमै अस्पताल पुग्न सकिनन्। अन्ततः बच्चा अस्पतालको पार्किङ हलमै जन्मियो। सौभाग्यवश, आमा र बच्चा दुबै स्वस्थ छन्।
घटना यही जुलाई महिनाको सुरुवातमा भएको थियो।
गर्भावस्थाको अन्तिम चरणमा पुगेकी महिलाले अस्पतालको प्रसूति विभागलाई पटक-पटक फोन गरी आफ्ना सबै लक्षणहरूबारे जानकारी दिएकी थिइन्। उनले पाँच-पाँच मिनेटको अन्तरमा आधा मिनेटसम्म बलियो संकुचन अर्थात् ‘कन्ट्रयाक्सन’ महसुस गरिरहेको कुरा बताए पनि अस्पतालले उनलाई घरमै बसिरहन निर्देशन दिएको थियो। उनलाई रक्तस्राव पनि भइरहेको थियो।
पहिल्यै एक बच्चाकी आमा भएको हुनाले यस्तो तीव्र पीडाको मतलब अब बच्चा जन्मिन धेरै समय छैन भन्ने महिलालाई थाहा थियो। तर जति भनेपनि अस्पतालका सुँडेनीले महिलालाई घरमै पर्खन सल्लाह दिए।
दुई घण्टा पर्खिएपछि उनलाई घरमै बच्चा जन्मिने हो कि भन्ने डर लाग्न थाल्यो। आफ्नो र बच्चाको सुरक्षाको चिन्ता भयो र फेरि फोन सेवामा सम्पर्क गरिन्। फेरि पनि उनलाई पर्खन भनियो।
“मैले उनीहरूमाथि विश्वास गरेँ र उनीहरूको कुरा सुनेँ,” उनले फिनिस भाषको पत्रिका हेलसिन्की सानोमातसंगको कुराकानीमा भनेकी छिन्।
“मेरो शारीरिक अवस्था अत्यन्तै खस्केको थियो, तर मलाई घरमै बसी प्रतीक्षा गर्ने सल्लाह दिइएको थियो।”
अस्पतालको ढिलाइले उनी र उनको बच्चा दुबैलाई खतरामा पार्न सक्ने उनले बताइन्।
करिब तीन घण्टा तनावपूर्ण प्रतीक्षापछि उनलाई अन्ततः अस्पताल आउन सल्लाह दिइएको थियो। तर जब उनी अस्पताल पुगेकी थिइन्, समय ढिलो भइसकेको थियो।
उनी अस्पतालको पार्किङ हलमा उत्रिनासाथ संकुचनको तीव्रता बढ्यो र उनले त्यहीँ छोरी जन्माइन्।
उनले पछि घटनाबारे बुझ्न अस्पताललाई सम्पर्क गरिन्, किनकी उनलाई त्यतिबेला पनि पर्खन सल्लाह दिइएको थियो जब उनको पीडाले सबै मापदण्ड पूरा गरेको थियो र उनलाई रक्तस्राव पनि भइरहेको थियो।
अस्पतालले सुँडेनीको व्यवहारप्रति माफी माग्यो।
“तर यदि मेरो बच्चालाई केही भइहालेको भए कसले जिम्मेवारी लिन्थ्यो?” उनी प्रश्न गर्छिन्।
फिनल्यान्डमा पछिल्लो समय धेरै अस्पतालमा प्रसूति सेवा कटौती भइरहेको छ।
फिनल्यान्डमा पछिल्लो समय धेरै अस्पतालमा प्रसूति सेवा कटौती भइरहेको छ। विशेष गरी सन् २०२४ मा लोह्याको अस्पतालमा प्रसूतिको सेवा बन्द गरिएपछि योर्भी अस्पतालमा सेवा लिन आउनेको संख्या अचाक्ली बढेको छ।
सुँडेनीहरू यति व्यस्त छन् कि उनीहरूसँग प्रसव पीडामा रहेका महिलालाई सहयोग गर्ने समय समेत हुँदैन भन्दै आलोचना समेत भएको छ।





