.संक्षेपमा.
- मंगलबार एस्पोका तीन फरक स्थानमा तीन बालबालिका पानीमा डुबे।
- तीनवटै घटनामा बालबालिकाको उद्धार अभिभावकले नभई त्यहाँ उपस्थित अन्य व्यक्तिहरूले गरे।
- प्रहरीले पौडी खेल्ने स्थानमा बालबालिकाको सुरक्षाको पूर्ण जिम्मेवारी अभिभावकको हुने कुरामा जोड दिएको छ।
मंगलबार एस्पो शहरका तीन फरक स्थानमा तीन बालबालिका पानीमा डुबेको प्रहरीले जनाएको छ। सबै बालबालिका पानीमा डुबेर अचेत अवस्थामा फेला परेका थिए। लाक्सोलाहती र किभेनलाहतीको समुद्री तट तथा लेप्पाभाराको स्वीमिङ पुलमा भएका यी घटनाहरूमा सबै बालबालिकाको ज्यान जोगिएको छ।
प्रहरीका अनुसार त्यहाँ उपस्थित सर्वसाधारण तुरुन्त सहयोगमा उत्रिएका कारण बालबालीकाको ज्यान जोगिएको हो।
कहाँ के भएको थियो?
लाक्सोलाहतीको समुद्री तटमा दुई युवतीले करिब ५ वर्षीय बालकलाई पानीमा अनुहार डुबेको अवस्थामा तैरिरहेको देखेका थिए। ती मध्ये एक युवतीले तुरुन्तै पानीमुनि डुबुल्की मारेर बालकलाई बाहिर निकालेकी थिइन्। बालकलाई पानीबाहिर ल्याएर होसमा ल्याउने प्रयास (सीपीआर) गरियो, र त्यसपछि मात्र बालकको साथमा आएका वयस्क त्यहाँ आइपुगेका थिए।
अर्को घटनामा किभेनलाहतीको समुद्री तटमा एक ६ वर्षीय बालकलाई पनि पानीमा अनुहार तल पारेर तैरिरहेको अवस्थामा एक सर्वसाधारणले देखे। उनले बालकलाई पानीबाट बाहिर निकाले र अर्का एक व्यक्तिले होसमा ल्याउने प्रयास सुरु गरे। बालकका अभिभावक त्यस समय अन्यत्र थिए र घटनाको बीचमा मात्र आइपुगे। बालकलाई थप उपचारका लागि अस्पताल लगिएको छ।
तेस्रो घटना लेप्पाभाराको स्वीमिङ पुलमा भएको थियो। त्यहाँ ४ वर्षीय बालक आफ्ना अभिभावकबाट हराएपछि अचेत अवस्थामा पानीमा भेटिएका थिए। अर्का एक बालकले उनलाई पानीबाट बाहिर निकाले र प्राथमिक उपचार टोली पुग्नु अघि एक वयस्कले मद्दत गरेका थिए।
प्रहरी भन्छः अभिभावक जिम्मेवार
पश्चिम-उसिमा प्रहरी विभागले हिजोका घटनालाई अत्यन्तै चिन्ताजनक भनेको छ। बाल अपराध अनुसन्धान इकाईकी डिटेक्टिभ कमिश्नर मारिया हिएतायार्भीका अनुसार बालबालिकासँग पौडी खेल्ने ठाउँमा जाने अविभावक वा अन्य वयस्क नै बच्चाको सुरक्षाको लागि पूर्ण रूपमा जिम्मेवार हुन्छ।
प्रहरीका अनुसार हिजोका तीनवटै घटनामा बालबालिकाका अभिभावकहरू उनीहरूको नजिक थिएनन्। सर्वसाधारणको छिटो र साहसी कार्यले गर्दा मात्र उनीहरूको ज्यान बच्यो। प्रहरीले लाक्सोलाहती र लेप्पाभाराका साहसी युवाहरू र अन्य सबै उद्धारकर्ताहरूलाई धन्यवाद दिएको छ।

पश्चिम-उसिमा प्रहरी विभागले हिजोका घटनालाई अत्यन्तै चिन्ताजनक भनेको छ।
लाक्सोलाहतीको घटनामा संलग्न वयस्कहरू प्रहरी पुग्नुअघि नै घटनास्थलबाट गइसकेकाले प्रहरीले उनीहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।





