.संक्षेपमा.
- हेलसिन्कीका नोला, मुरू, र नोक्का जस्ता रेस्टुरेन्टहरू ‘द गार्डियन’को उत्कृष्ट सूचीमा समावेश।
- रेन्डियर, एल्क र भालुको मासु जस्ता स्थानीय उत्पादन प्रयोगको प्रशंसा।
- प्रकृतिसँगको गहिरो सम्बन्ध फिनिस रेस्टुरेन्टहरूमा पनि झल्किने कुरा उल्लेख।
प्रतिष्ठित ब्रिटिस पत्रिका ‘द गार्डियन’ ले फिनल्यान्डको राजधानी हेलसिन्कीका रेस्टुरेन्ट तथा क्याफेहरूको प्रशंसा गर्दै एक विस्तृत फूड गाइड प्रकाशित गरेको छ। पत्रिकाले हेलसिन्कीको खाना संस्कृतिलाई ‘जङ्गली’ र ‘रोमाञ्चक’ भन्दै यहाँका केही उत्कृष्ट रेस्टुरेन्टहरूको सूची सार्वजनिक गरेको हो।
‘द गार्डियन’ को सूचीमा हेलसिन्कीका चर्चित रेस्टुरेन्टहरू नोल्ला (Nolla), मुरू (Muru), द रूम (The Room), नोक्का (Nokka), लोन्ना (Lonna) र बोना फाइड (Bona Fide) समावेश छन्। पत्रिकाका अनुसार यी रेस्टुरेन्टहरू विशेष गरी मध्यम वर्गीय मूल्य र किफायती ‘टेस्टिङ मेनु’ का लागि छानिएका हुन्।
पत्रिकाले फिनल्यान्डमा वाइन भने महँगो भएको टिप्पणी गरेको छ।
पत्रिकाको सूचीमा क्याफे रेगाटा (Café Regatta), सेन्ट्रल लाइब्रेरी ओडीको रेस्टुरेन्ट, र फिनल्यान्डिया हलको बिस्ट्रो तथा क्याफेलाई पनि स्थान दिइएको छ।
पत्रिकाले फिनिस खानाको पहिचानबारे पनि चर्चा गरेको छ। रेन्डियर, एल्क, पाइक-पर्च, साल्मन सूप, हेरिङ, समुद्री झार र भालुको मासु जस्ता स्थानीय तथा जङ्गली उत्पादनहरूको प्रयोगले यहाँको खानालाई विशेष बनाएको पत्रिकाको भनाइ छ।
फिनल्यान्डको प्रकृतिसँगको गहिरो सम्बन्ध यहाँका खानामा पनि झल्किने पत्रिकाले उल्लेख गरेको छ।
‘द गार्डियन’ ले हेलसिन्की अन्य नर्डिक शहरहरूको स्तरमा द्रुत गतिमा पुगिरहेको र यहाँका नयाँ पुस्ताका शेफहरूले स्थानीय स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकोमा प्रशंसा गरेको छ।

फिनल्यान्डको प्रकृतिसँगको गहिरो सम्बन्ध यहाँका खानामा पनि झल्किने कुरा पत्रिकाले उल्लेख गरेको छ।
‘द गार्डियन’ की फूड पत्रकार फिओना डनलपले ‘भिजिट फिनल्यान्ड’ र ‘हेलसिन्की पार्टनर्स’ को सहयोगमा हेलसिन्कीको भ्रमण गरेकी थिइन्।






