.संक्षेपमा.
- एस्पोमा मङ्गलबार समुद्री तट र पौडी पोखरीमा डुब्न लागेका तीन बालबालिकाको उद्धार।
- बालबालिकाको बेवास्ता गरेको आशंकामा अभिभावकहरूमाथि आपराधिक अनुसन्धान सुरु।
- प्रत्यक्षदर्शी र उद्धारकर्ताहरूको सहयोगले सबै बालबालिकाको ज्यान जोगियो।
फिनल्यान्डको एस्पो शहरमा मङ्गलबार तीन बालबालिका पानीमा डुब्नबाट बचेको घटनाले नयाँ मोड लिएको छ। प्रहरीले घटनामा अभिभावकको लापरवाही वा बेवास्ता हुनसक्ने भन्दै अपराधिक अनुसन्धान सुरु गरेको छ।
घटना हुँदा तीनवटै बालबालीकाका अभिभावक घटनास्थल वरिपरी थिएनन्। प्रत्यक्षदर्शी र उद्धारकर्ताहरूको सहयोगमा सबै बालबालिकाको ज्यान भने जोगिएको थियो।
पश्चिमी उसीमा प्रहरी विभागकी अनुसन्धान प्रमुख डिटेक्टिभ चीफ इन्स्पेक्टर मारिया हिएतायार्भीले फिनिस सार्वजनिक प्रसारण संस्था YLE लाई बताए अनुसार तीनवटै घटनामा बालबालिकालाई बेवास्ता गरिएको आशंकामा आपराधिक उजुरी दर्ता गरिएको छ। साथै तीनवटै घटनाबारे बाल संरक्षण निकायमा पनि जानकारी गराइएको छ।
भएको के थियो?
मङ्गलबार एस्पोका तीन फरक-फरक पौडी खेल्ने स्थानहरूमा यी गम्भीर घटनाहरू भएका थिए। लाक्सोलाह्ती समुद्री तटमा दुई युवतीले एक ५ वर्षीय अचेत बालकलाई पानीबाट निकालेर पुनर्जीवित गरेका थिए। त्यस्तै, किभेनलाह्ती समुद्री तटमा एक ६ वर्षीय बालक अनुहार तल पारेर पानीमा तैरिरहेको अवस्थामा भेटिएका थिए। उनलाई एक सर्वसाधारणले उद्धार गरे र अर्काले पुनर्जीवित गराउन सफल भएका थिए।
तेस्रो घटना लेप्पाभारास्थित पौडी पोखरीमा भएको थियो। त्यहाँ एक ४ वर्षीय बालक आफ्ना अभिभावकबाट छुट्टिएपछि पानीमा अचेत अवस्थामा भेटिएका थिए। अर्का एक बालकले उनलाई पानीबाट बाहिर निकालेका थिए र एक वयस्कले प्राथमिक उपचार नआउन्जेल सहयोग गरेका थिए।
प्रहरीले सबै परिवारलाई सोधपुछका लागि सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ। यद्यपि, एउटा परिवार भने प्रहरी टोली पुग्नुअघि नै घटनास्थलबाट हिँडिसकेकोले उनीहरूको पहिचान हुन सकेको छैन।
आप्रवासीमाथि लाग्यो निराधार आक्षेप
मङ्गलवारको घटनामा सम्बन्धित बालबालिकाको जातीय पहिचान खुलाइएको छैन। यद्यपि, फिनल्यान्डमा आप्रवासी प्रति अनुदार केही व्यक्ति तथा समूहहरूले मङ्गलवारको घटनामा बच्नेहरू आप्रवासीका छोराछोरी रहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। लेप्पाभाराको पौडी पोखरीमा दिसा गरिएको घटनालाई पनि उनीहरूले आप्रवासीसँग जोडेका छन्। नेपालीलाइनेनले यस्ता कैयौँ पोस्ट सामाजिक सञ्जालमा हेरेको छ।
आप्रवासीका कारण पौडी पोखरीहरूमा खुट्टा हाल्ने ठाउँ समेत नभएको जिकिर उनीहरूले गरेका छन्। साथै आप्रवासी-मूलका व्यक्तिहरू र तीनका छोराछोरीमा पौडी खेल्ने सीप नभएको आक्षेप पनि उनीहरूले लगाएका छन्।
नेपालीलाइनेनले हेरेको एउटा सामाजिक सञ्जाल पोस्टमा पौडी पोखरी वरिपरि जम्मा भएका सोमाली समुदायका जस्ता देखिने व्यक्तिहरू र सँगै रहेका प्रहरीको फोटो प्रयोग गरी लेप्पाभारामा भएको घटनामा आप्रवासी परिवार सम्बन्धित रहेको ठोकुवा गरिएको छ।
उक्त फोटो त्यही समयको हो र फोटोमा देखिएका व्यक्तिहरू घटनासँग प्रत्यक्ष सम्बन्धित हुन् भनेर पुष्टि गर्ने आधार नेपालीलाइनेनसंग छैन।





