विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा गर्मीको नयाँ कीर्तिमान: तापक्रम १५ दिन लगातार ३० डिग्रीभन्दा माथि

सन् १९७२ को कीर्तिमान तोड्दै फिनल्यान्डले अहिले इतिहासकै सबैभन्दा लामो र तीव्र गर्मीको सामना गरिरहेको छ।

.संक्षेपमा.


  • लगातार १५ दिनसम्म तापक्रम ३० डिग्री सेल्सियस नाघ्यो, सन् १९७२ को १३ दिने रेकर्ड तोडियो।
  • सन् १९६१ मा मौसमको तथ्याङ्क राख्न थालिएयताकै सबैभन्दा लामो र तीव्र गर्मीको लहर।
  • आइतबारदेखि वर्षा र चट्याङले राहत दिने पूर्वानुमान।

फिनल्यान्डले इतिहासकै सबैभन्दा लामो गर्मीको सामना गरिरहेको छ। फिनिस मौसम विज्ञान संस्थानका अनुसार लगातार १५ दिनसम्म तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेर नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। शनिबार दक्षिण साभोमा तापक्रम ३० डिग्री नाघेपछि यो कीर्तिमान पुष्टि भएको हो।

यसअघि सन् १९७२ मा लगातार १३ दिनसम्म ३० डिग्रीभन्दा माथि तापक्रम पुगेको कीर्तिमान थियो। अहिलेको गर्मीको लहरलाई सन् १९६१ यताकै सबैभन्दा तीव्र र लामो मानिएको छ।

यो गर्मी उत्तरी लापल्यान्डका केही भागबाहेक लगभग पूरै देशमा महसुस गरिएको छ। पश्चिमी तटमा समुद्री हावाले केही राहत दिए पनि अन्यत्र गर्मी र सुख्खा अवस्था कायमै छ।

मौसमविद्हरूले ‍‍स्थिर उच्च-चाप प्रणालीका कारण यस्तो अवस्था आएको बताएका छन्। YLE कि मौसमविद् आनिना भाल्तोनेनका अनुसार उच्च-चाप प्रणाली “सुस्त-गतिमा चलिरहेको” छ र त्यसमा पछिल्लो दुई हप्तामा थोरै मात्र परिवर्तन भएको छ।

लामो समयसम्म वर्षा नहुँदा फिनल्यान्डको अधिकांश भूमिको सतह अत्यन्त सुख्खा भएको छ। मौसम विज्ञान संस्थानले देशका धेरै भागमा गर्मी र डढेलोको चेतावनी जारी गरेको छ।

विज्ञापन
विज्ञापन सकियो

मौसम पूर्वानुमान अनुसार सप्ताहन्तसम्म गर्मी जारी रहनेछ, तर आजै शनिबारदेखि केही परिवर्तन सुरु हुन सक्नेछ। लापल्यान्ड र पूर्वी फिनल्यान्डका केही भागहरूमा मेघगर्जन र वर्षाको सम्भावना छ।

आइतबारसम्म अस्थिर मौसम पश्चिमी तट र मध्य फिनल्यान्डसहित फराकिलो क्षेत्रमा पुग्न सक्नेछ।

गर्मीका कारण आउटडोर पुलहरू र समुद्री तटहरुमा पौडी खेल्नेको भीड बढेको छ। एयर कन्डिसनर र पंखाहरूको माग पनि ह्वात्तै बढेको छ।

गर्मी धेरै बढेपछि स्थानीय निकायहरूले वृद्धवृद्धा र दीर्घ रोगीहरूजस्ता जोखिममा रहेका समूहहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप