.संक्षेपमा.
- भारी करको बोझ: अमेरिकाले युरोपेली कार, औषधि र सेमिकन्डक्टर जस्ता प्रमुख निर्यातमा १५ प्रतिशत कर लगाउनेछ। स्टिल र आल्मुनियममा ५० प्रतिशतको उच्च कर कायम रहनेछ।
- ईयूको प्रतिबद्धता: सम्झौता अन्तर्गत ईयूले अमेरिकाबाट ७५० अर्ब डलरको ऊर्जा उत्पादन खरिद गर्ने र ६०० अर्ब डलर लगानी गर्नेछ। यस्तो प्रतिबद्धताको वैधानिकतामाथि नै प्रश्न उठेको छ।
- युरोपमा चर्को विरोध: जर्मनी, फ्रान्स र फिनल्यान्डका नेताहरूले सम्झौतालाई “अपमानजनक” र “अत्यन्त असन्तुलित” भनेका छन्।
युरोपेली संघ (ईयू) र संयुक्त राज्य अमेरिकाबीच हालै भएको व्यापार सम्झौताले विवाद सिर्जना गरेको छ। ह्वाइट हाउसले “पुस्तान्तरको आधुनिकीकरण” भनेको यो सम्झौता अन्तर्गत अमेरिकाले अधिकांश युरोपेली वस्तुहरूमा १५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउनेछ भने बदलामा ईयूले खर्बौं डलरको अमेरिकी ऊर्जा खरिद र लगानी गर्नुपर्नेछ।
व्यापार सम्झौताले दुई ठूला आर्थिक शक्तिहरूबीच नयाँ अध्याय सुरु गरेको छ। अमेरिका सन्तुष्ट देखिए पनि युरोपमा भने यसलाई “आत्मसमर्पण” को रूपमा हेरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनबीच भएको यो सम्झौताले लामो समयदेखिको व्यापारिक तनावलाई तत्कालका लागि रोकेको छ। सुरुमा राष्ट्रपति ट्रम्पले ३० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका थिए, तर अन्तिममा १५ प्रतिशतमा सहमति भएको हो।
यो सम्झौताले स्टिल र आल्मुनियम जस्ता केही वस्तुहरूलाई भने समेटेको छैन, जसमाथि अमेरिकाले ५० प्रतिशतको उच्च कर कायम राखेको छ। बदलामा ईयूले केही अमेरिकी वस्तुहरूमा लगाइएको कर हटाउन र ठूलो मात्रामा अमेरिकी ऊर्जा खरिद गर्न सहमति जनाएको छ।
आइतबार स्कटल्यान्डमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार सम्झौताको बदलामा ईयूले अमेरिकाबाट ७५० अर्ब अमेरिकी डलर बराबरको ऊर्जा उत्पादन खरिद गर्नेछ र अमेरिकामा थप ६०० अर्ब डलर लगानी गर्नेछ।
युरोपेली नेता र विज्ञहरूको आक्रोश
यो सम्झौताले युरोपभरि राजनीतिक नेता र विज्ञहरूबाट चर्को आलोचना निम्त्याएको छ। फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोले आइतबारलाई ईयूका लागि “अन्धकारको दिन” भन्दै संघले “आत्मसमर्पण” रोजेको टिप्पणी गरे।
जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले “सम्झौताले जर्मन अर्थतन्त्रलाई गम्भीर रूपमा हानि पुर्याउने छ,” भनेका छन्। ट्यारिफले जर्मनीको निर्यात-उन्मुख अर्थतन्त्रमा गम्भीर बोझ पक्कै थप्नेछ।
युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बर्न्ड लांगेले सम्झौतालाई “असन्तोषजनक” र “उल्लेखनीय रूपमा असन्तुलित” भन्दै यसले ईयु ब्लकको आर्थिक स्थिरता र रोजगारी सुरक्षालाई कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्।
“यो एकतर्फी झुकाव भएको सम्झौता हो। यस्ता छुटहरू दिइएका छन् जुन सहन गाह्रो छ।” उनले भनेका छन्।
फिनल्यान्डकी अर्थमन्त्री रिका पुर्राले पनि सम्झौताको कडा आलोचना गरेकि छन्।
“ईयूले कमजोर पोजिसनबाट वार्ता गरेको हुन सक्छ, तर यो सम्झौता निकै असन्तुलित देखिन्छ।” उनले ईयूद्वारा गरिएको १.३ ट्रिलियन डलरको खरिद र लगानीको वाचामाथि प्रश्न उठाउँदै सोधिन्, “यस्तो वित्तीय प्रतिबद्धता कुन जनादेश अन्तर्गत गरिएको हो?”
विश्वव्यापी प्रणालीमाथि खतरा
विज्ञहरूले यो सम्झौताले छोटो अवधिका लागि व्यापार युद्ध टारे पनि दीर्घकालमा विश्वव्यापी व्यापार प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएका छन्। म्युनिखस्थित IFO इन्स्टिच्युटका अध्यक्ष क्लेमेन्स फुएस्टले यो सम्झौता ईयूका लागि “अपमान” भएको र शक्ति असन्तुलनलाई प्रतिबिम्बित गर्ने बताए।
उनले अब युरोपेलीहरू ब्यूँझनुपर्ने र आर्थिक शक्तिमा बढी ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनका अनुसार अमेरिकासँगको सैन्य र प्राविधिक निर्भरता घटाए मात्र युरोपियनहरूले अमेरिकासंग पुनः नयाँ डिल गर्न सक्नेछन्।
“युरोपेलीहरू ब्यूँझनुपर्छ। आर्थिक शक्तिमा बढी ध्यान केन्द्रित गर्नुपर्छ र अमेरिकासँगको आफ्नो सैन्य र प्राविधिक निर्भरता घटाउनुपर्छ। त्यसपछि मात्र उनीहरूले पुनः वार्ता गर्न सक्छन्।”
– क्लेमेन्स फुएस्ट, अध्यक्ष, ifo इन्स्टिच्युट
त्यस्तै, किएल इन्स्टिच्युट फर द वर्ल्ड इकोनोमीका प्रोफेसर जुलियन हिन्जले यसलाई “तुष्टीकरण” को संज्ञा दिँदै यसले बहुपक्षीय व्यापार सिद्धान्तबाट गम्भीर विचलन ल्याएको बताए। उनका अनुसार, “ईयूले छोटो अवधिमा व्यापार युद्ध टारे पनि, उसले विश्व व्यापार संगठनको बहुपक्षीय, नियम-आधारित विश्व व्यापार प्रणालीका सिद्धान्तहरू त्यागेर दीर्घकालीन रूपमा ठूलो मूल्य चुकाइरहेको छ।”





