विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

रातो बत्तीमा गाडी चलाएका कारण फिनल्यान्डको पिआर आवेदन अस्वीकृत

दश वर्षदेखि फिनल्यान्डमा बसोबास गर्दै आएकी एक महिलालाई सामान्य ट्राफिक नियम उल्लंघनका कारण स्थायी आवासीय अनुमति अर्थात् पिआर दिन अस्वीकार गरिएको छ।

.संक्षेपमा.


  • १० वर्षदेखि फिनल्यान्डमा बस्दै आएकी रुसी महिलाको स्थायी आवासीय आवेदन ट्राफिक नियम उल्लंघनका कारण अस्वीकृत।
  • फिनल्यान्डको कानुन अनुसार अपराध गरेको दुई वर्ष पूरा नभएसम्म स्थायी अनुमति प्रदान गर्न मिल्दैन।
  • छोरी फिनल्यान्डको नागरिक भएका कारण अस्थायी आवासीय अनुमति भने पाइन्।

करिब एक दशकअघि फिनल्यान्डमा बसाइँ सरेकी भेरा नामकी एक रुसी महिलाको स्थायी आवासीय अनुमतिको आवेदन कुनै ठूलो अपराध नभई गाडी चलाउँदा रातो बत्तीमा गाडी नरोकेका कारण अस्वीकृत भएको छ।

हेलसिन्की सानोमात पत्रिकाका अनुसार भेराले दुई वर्षअघि क्रिसमसको समयमा एस्पो शहरमा रातो बत्ती बलेको बेला गाडी चलाएकी थिइन्। ट्राफिक सुरक्षालाई खतरामा पारेको भन्दै प्रहरीले उनलाई १२० युरो जरिवाना गरेको थियो।

गत अप्रिल महिनामा फिनिस अध्यागमन सेवा (Maahanmuuttovirasto) ले भेराको स्थायी आवासीय अनुमतिको निवेदनमा निर्णय दिएको थियो। निर्णयमा उक्त ट्राफिक अपराधका कारण उनलाई स्थायी अनुमति अर्थात् पिआर दिन नसकिने उल्लेख गरिएको थियो।

यद्यपि, उनकी सानी छोरी फिनल्यान्डमै रहेको र छोरी फिनिस नागरिक भएका कारण उनलाई अस्थायी अनुमति भने दिइएको हेलसिन्की सानोमातको रिपोर्टमा उल्लेख छ।

फिनिस अध्यागमन सेवाकी निर्देशक आना-लेना लिन्डबर्गले सञ्चारमाध्यमलाई बताए अनुसार फिनल्यान्डको विदेशी ऐन (Ulkomaalaislaki) अन्तर्गत ट्राफिक सुरक्षालाई खतरामा पार्ने जस्ता अपराधले स्थायी आवासीय अनुमतिमा स्वतः रोक लगाउँछन्। कुनै अपराध भएको दुई वर्षसम्म यो कानुन स्वतः लागु हुन्छ।

विज्ञापन
विज्ञापन सकियो

अध्यागमन सेवाको नियमअनुसार कुनै पनि आपराधिक सजाय वा अपराधको शंकाले पनि स्थायी आवासीय अनुमति अस्वीकृत हुन सक्छ। यसमा जरिवाना वा निलम्बित जेल सजाय जस्ता सामान्य सजायहरू पनि समावेश छन्।

फिनल्यान्डको कानुनअनुसार यदि कुनै व्यक्तिलाई जेल सजाय सुनाइएको छ भने उसले सजाय पूरा गरेको कम्तिमा तीन वर्षपछि मात्र स्थायी अनुमतिका लागि आवेदन दिन सक्छ। निलम्बित जेल सजायको हकमा यो अवधि दुई वर्षको हुन्छ।

फिनल्यान्डमा स्थायी अनुमति पाउनका लागि आवेदकको रेकर्ड सफा हुनुपर्छ।

फिनल्यान्डमा स्थायी अनुमति पाउनका लागि आवेदकको रेकर्ड सफा हुनुपर्छ। फिनिस अध्यागमन सेवाका अनुसार एउटा सानो जरिवानाले पनि लामो समयदेखि बसोबास गर्दै आएका व्यक्तिको पिआर आवेदन अस्विकृत हुन सक्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप