विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की-भान्ता क्षेत्रमा ‘बफे’ रेस्टुरेन्टको बाढी: मूल्य युद्धले व्यवसायीहरू सङ्कटमा

सहरभरि बफे रेस्टुरेन्टहरू बढ्दै जाँदा व्यवसायीहरूका लागि रेस्टुरेन्ट चलाउनै धौधौ परिरहेको गुनासो सुनिन थालेको छ।

.संक्षेपमा.


  • फिनल्यान्डका सहरी क्षेत्रमा बफे रेस्टुरेन्ट खोल्ने प्रवृत्ति बढ्यो।
  • बढ्दो लागतका बावजुद ग्राहक तान्न मूल्य घटाउन व्यवसायीहरू बाध्य।
  • साना तथा मझौला व्यवसायीहरू संकटमा पर्न थाले।

फिनल्यान्डको राजधानी क्षेत्र (खासगरी हेलसिन्की, भान्ता, र एस्पोका केही क्षेत्र) मा बफे (buffet) रेस्टुरेन्टहरू खोल्ने होडबाजीले साना तथा मझौला व्यवसायीहरू सङ्कटमा पर्न थालेका छन्।

व्यवसायीहरूका अनुसार बढ्दो प्रतिस्पर्धाका कारण ग्राहक आकर्षित गर्न मूल्य घटाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर खाद्यान्नको मूल्य आकासिँदो छ।

राजधानी क्षेत्रमा रेस्टुरेन्ट व्यवसायमा संलग्न नेपाली व्यवसायीहरूले पनि यस्तै समस्या नेपालीलाइनेनसंगको कुराकानीमा व्यक्त गर्ने गरेका छन्। यसै महिना राजधानी क्षेत्रमा कम्तीमा ४ नयाँ नेपाली रेस्टुरेन्टहरू थपिएका छन्।

यही विषयमा हेलसिन्कीको स्थानीय पत्रिका Helsingin Uutiset ले पनि एउटा ‘स्टोरी’ गरेको छ। उक्त रिपोर्टमा जनाइए अनुसार यो समस्याको सबैभन्दा ज्वलन्त उदाहरण पूर्वी हेलसिन्कीको इतिस (Itis) सपिङ सेन्टरमा देखिएको छ। त्यहाँ व्यवसायीहरूले आपतकालीन बैठक नै बोलाएर आफ्नो पीडा पोखेका छन्।

“यदि रेस्टुरेन्टमा बफे छैन भने मान्छे नै आउँदैनन्,” इतिसमा रेस्टुरेन्ट चलाउने एक व्यवसायी सामी इस्माइलले उक्त समाचार रिपोर्टमा भनेका छन्।

विज्ञापन
विज्ञापन सकियो

इतिसको ‘इटिस’ (Eatis) फुड कोर्टमा मात्रै पाँच वर्षमा बफे रेस्टुरेन्टको सङ्ख्या तीन गुणाले बढेको छ। सन् २०२० मा जब भारतीय रेस्टुरेन्ट ‘देल्ही रासोइ’ (Delhi Rasoi) खुल्यो, त्यहाँ जम्मा दुई वटा बफे रेस्टुरेन्ट थिए। अहिले बढेर ६ पुगेका छन्।जसमध्ये पाँच वटा एकै ठाउँमा लहरै छन्।

चर्को प्रतिस्पर्धाले गर्दा रेस्टुरेन्टहरूले खानाको मूल्य बढाउन पनि सकेका छैनन्। धेरै रेस्टुरेन्टहरूले करिब १३.५० युरोमा लन्च बफे बेचिरहेका छन्, जुन नाफामुखी नभएको व्यवसायीहरूको भनाइ छ।

यदि रेस्टुरेन्टमा बफे छैन भने मान्छे नै नआउने व्यवसायीको गुनासो।

देल्ही रासोइका सञ्चालक हशमत रहमानका अनुसार उनले आफ्नो बफेको मूल्य १५.९० युरो राख्नुपर्ने हो, तर प्रतिस्पर्धाका कारण १३.९० युरोमा झार्न बाध्य भएका छन्।

“ग्राहकहरू यति मूल्य-सचेत छन् कि २० सेन्ट मूल्य बढ्दा पनि उनीहरूले तुरुन्तै गुनासो गर्छन्,” रहमानले भनेका छन्।

हेलसिन्कीको कानेल्माकीमा खुल्ने तैयारीमा रहेको नयाँ नेपाली रेस्टुरेन्ट। फोटोः नेपालीलाइनेन

रहमानले सपिङ सेन्टरसँग भाडा सम्झौता गर्दा भविष्यमा खुल्ने प्रतिस्पर्धी रेस्टुरेन्टबारे पारदर्शिता नअपनाइने गरेको गुनासो पनि गरे। पाँच वर्षको लागि सम्झौता गरेपछि छेउमै उस्तै प्रकृतिका अन्य रेस्टुरेन्ट खुल्दा व्यवसायमा ठुलो असर पर्ने उनको भनाइ छ।

अर्का व्यवसायी सामी इस्माइलले मासुको मूल्य ४० प्रतिशतले बढे पनि बफेको मूल्य बढाउन नसकेको बताए। प्रतिस्पर्धाका कारण ग्राहक गुमाउने डरले उनी पनि मूल्य बढाउन सक्दैनन्। व्यवसाय टिकाउनका लागि उनी हप्ताको सातै दिन काम गरिरहेको बताउँछन्।

यद्यपि केही रेस्टुरेन्टहरू जस्तै ‘नुडल स्टोरी’ (Noodle Story) र ‘बाबा डोनर’ (Baba Döner) ले भने बफेको सट्टा प्लेटमा खाना बेचिरहेका छन्। उनीहरू पनि बफे रेस्टुरेन्टको सङ्ख्या धेरै भएकोमा सहमत छन्।

बाबा डोनरका सञ्चालक इहसान गुनबेयीले अहिलेको आर्थिक अवस्थामा १३.५० युरोमा पेयसहितको बफे बेच्नु नाफामुखी हुन नसक्ने बताउँछन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप