.संक्षेपमा.
- हेलसिन्कीमा रहेको संसद भवन भित्र एक जनाको मृत्यु भएको पुष्टि।
- स्थानीय सञ्चारमाध्यमले एक सांसदले आत्महत्या गरेको रिपोर्ट गरेका छन्।
- प्रहरीले घटनामा कुनै अपराधको आशङ्का नरहेको जनाएको छ।
मंगलबार हेलसिन्कीस्थित फिनल्यान्डको संसद भवन (Eduskuntatalo) मा एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरूले एक सांसदले आत्महत्या गरेको बताएका छन्।
हेलसिन्की प्रहरीले मंगलबार बिहान ११:०६ बजे आपतकालीन कल प्राप्त भएपछि घटनास्थल पुगेको थियो। प्रहरीले यस घटनालाई मृत्युको कारण पत्ता लगाउने अनुसन्धानको रूपमा हेरेको छ र यसमा कुनै अपराध नदेखिएको स्पष्ट पारेको छ।
स्थानीय पत्रिका Iltalehti ले संसद भवनमा एक सांसदले आत्महत्या गरेको भनेर सुरूमा लेखेको हो। त्यसपछि लगभग सबै मिडियाले लेखेका छन्।
संसदका सुरक्षा प्रमुख आरो टोइभोनेनले सार्वजनिक प्रसारक Yle लाई आफूले उक्त जानकारीलाई अस्वीकार नगर्ने बताएका छन्।
घटनापछि संसद भवनबाहिर ठूलो संख्यामा प्रहरी र एम्बुलेन्सहरू तैनाथ गरिएको थियो। एक प्रत्यक्षदर्शीले साइरन बजाउँदै एम्बुलेन्स र प्रहरीका गाडीहरू संसद भवनतर्फ गएको देखेको बताएका थिए।
Yle को एक स्रोतका अनुसार घटनापछि संसद भवनभित्रको वातावरण “स्तब्ध र चिसो” बनेको थियो।
हाल फिनल्यान्डको संसद समर बिदामा रहेको छ र आगामी सत्र सेप्टेम्बर २ बाट सुरु हुनेछ। संसद विदा भएपनि सांसदहरूको त्यहाँ कार्यालय हुन्छ र काम गर्न जान पाउँछन्।
संसदको सबैभन्दा ठूलो दल कोकोमुसका संसदीय दलका नेता युक्का कोप्राले यो खबर सुनेर घटनालाई “दुःखद र गम्भीर” भनेका छन्।
अपडेटः आत्महत्या गर्ने सांसद एसडीपी पार्टीका ३० वर्षे एमिली पेल्तोनेन रहेको खुलेको छ।





