.संक्षेपमा.
- हेलसिन्की विश्वविद्यालयको वरीयतामा सुधार, गत वर्ष ९९औं स्थानबाट अहिले ९४औं मा।
- नर्डिक देशहरूमा छैटौं उत्कृष्ट विश्वविद्यालय।
- बजेट कटौतीले अनुसन्धान र शिक्षामा पर्न सक्ने असर प्रति चिन्ता।
फिनल्यान्डको प्रतिष्ठित हेलसिन्की विश्वविद्यालयले विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको सांघाई शैक्षिक वरीयतामा आफ्नो स्थान सुधार गर्दै ९४औं स्थानमा पुगेको छ।
वरीयतामा आएको सुधारले विश्वविद्यालयको शैक्षिक गुणस्तरमा आएको वृद्धिलाई सङ्केत गर्दछ। यद्यपी विश्वविद्यालय प्रशासनले भविष्यमा हुन सक्ने सरकारी बजेट कटौतीले यो प्रगतिलाई जोखिममा पार्न सक्ने चिन्ता व्यक्त गरेको छ।
सांघाई शैक्षिक वरीयता (ARWU) ले वार्षिक रूपमा विश्वका शीर्ष १,००० अनुसन्धान विश्वविद्यालयहरूको सूची प्रकाशित गर्दछ। यस वर्षको सूचीमा हेलसिन्की विश्वविद्यालयले पाँच स्थान सुधार गर्दै ९४औं स्थानमा आफूलाई उभ्याउन सफल भएको हो। यो फिनल्यान्डको एकमात्र विश्वविद्यालय हो जुन विश्वको शीर्ष १०० भित्र पर्न सफल भएको छ।
नेपालका काठमान्डौ र त्रिभुवन लगायतका कुनै पनि विश्वविद्यालय उक्त लिस्टमा परेका छैनन्।
फिनल्यान्डका आल्तो, औलो, तुर्कु, युभास्कुला, ताम्पेरे, र युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्ड लगायतका विश्वविद्यालयहरु पनि शिर्ष ८०० मा पर्न सफल भएका छन्।
ओरालो पछि फेरी उकालो लागेको हेलसिन्की विश्वविद्यालय
हेलसिन्की विश्वविद्यालयको वरीयता लगातार दुई वर्षदेखि उकालो लागेको छ। सन् २०१६ र २०१७ मा ५६औं स्थानमा पुगेको यो विश्वविद्यालय त्यसपछिका वर्षहरूमा भने पछि परेको थियो। सन् २०१० को दशकमा विश्वविद्यालयको कोषमा भएको ठूलो कटौतीका कारण वरीयतामा गिरावट आएको थियो।
अर्थ मन्त्रालयले प्रस्ताव गरेको करोडौं युरोको कटौतीले विश्वको शीर्ष १०० मा फिनिस विश्वविद्यालय रहिरहने सम्भावनालाई कमजोर बनाउने उनको भनाइ छ।
“लामो समयको गिरावटपछि हामीले सही मार्ग समातेका छौं र यसमा हामी खुसी छौं।” विश्वविद्यालयकी उप-रेक्टर एनी पोर्तान्कोर्भाले विज्ञप्तिमा भनेकी छिन्।
“हामीले स्वदेशी तथा विदेशी दुवैतर्फबाट उत्कृष्ट अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न सफल भएका छौं, जसको परिणाम उच्च-स्तरीय प्रकाशनहरूको संख्यामा वृद्धि भएको छ। अब हामीले यो प्रगतिलाई कुनै पनि हालतमा थप बजेट कटौतीले जोखिममा पार्नु हुँदैन।”
पोर्तान्कोर्भाका अनुसार विद्यार्थी संख्याको अनुपातमा फिनल्यान्डका विश्वविद्यालयहरूले स्विडेन, डेनमार्क र नर्वेका विश्वविद्यालयहरूभन्दा २०–३५% कम रकम प्राप्त गर्छन्। अर्थ मन्त्रालयले प्रस्ताव गरेको करोडौं युरोको कटौतीले विश्वको शीर्ष १०० मा फिनिस विश्वविद्यालय रहिरहने सम्भावनालाई कमजोर बनाउने उनको भनाइ छ।
सांघाई वरीयतालाई विश्वको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय वरीयताहरूमध्ये एक मानिन्छ। यसले नोबेल पुरस्कार विजेता, फिल्ड्स मेडल विजेता, सम्मानित अन्तर्राष्ट्रिय प्रकाशनहरूमा प्रकाशित लेखहरू र अनुसन्धानकर्ताहरूले प्राप्त गरेका उद्धरणहरू जस्ता मापदण्डका आधारमा विश्वविद्यालयहरूलाई मूल्याङ्कन गर्दछ।





