फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब १४० किलोमिटर दुरीमा रहेको लाहती र कौभोला बिच रहेको इइटी सहरमा आइतबार साँझ एक ५२ वर्षीय पुरुषको हत्या भएको प्रहरीले जनाएको छ।
इइटीको कौसालास्थित एक अपार्टमेन्टमा उक्त हत्याको घटना भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले लापेरान्ता र इइटीमा व्यापक खोजतलास गरेको थियो।
सोमबार प्रहरीले हत्यामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्ति १५ वर्षीय किशोर भएको र उनीमाथि पहिले कुनै पनि अपराधको अभियोग नलागेको बताइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार आइतबार उक्त अपार्टमेन्टबाट प्रहरीले एउटा शव बाहिर निकालेको थियो। त्यसपछि प्रहरीले भवनको वरपर र फोहोर फाल्ने ठाउँहरूमा पनि केही खोजतलास गरेको थियो।
सामान्यतया शान्त मानिने उक्त क्षेत्रमा भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको स्थानीय पत्रिकाले लेखेका छन्।
हामे प्रहरी विभागले हत्याको आशंकामा पक्राउ परेका किशोरलाई हिरासतमा राख्न पैयात-हामे जिल्ला अदालतसँग अनुमति मागेको छ।
प्रहरीले घटनाको अनुसन्धानलाई निकै गोप्य राखेको छ र अनुसन्धान जारी रहेकोले थप जानकारी दिन अस्वीकार गरेको छ।





