.संक्षेपमा.
- हिमालयन स्पोर्ट्स क्लब (HSC) ले मात्र ९ दिनको अन्तरालमा जित्यो तीन उपाधि।
- अस्ट्रियामा प्रतिष्ठित युरोपेली-नेपाली भलिबल च्याम्पियनसिपको उपाधि।
- हेलसिन्कीमा आयोजित स्थानीय फुटबल र बहुसांस्कृतिक भलिबल प्रतियोगितामा पनि विजयी।
फिनल्यान्डमा बस्ने नेपाली युवाहरूले संचालन गरेको हिमालयन स्पोर्ट्स क्लब (HSC) ले खेलकुदको मैदानमा लोभलाग्दो सफलता हासिल गरेको छ। क्लबले मात्र नौ दिनको छोटो अवधिमा युरोपेली भलिबल च्याम्पियनसिप सहित तीनवटा प्रतिष्ठित उपाधिहरू जितेर आफ्नो नाम चम्काएको हो।
यो सफलताको शृङ्खला अस्ट्रियाको इन्सब्रकमा आयोजित ‘नेप्लिज-युरोपियन भलिबल च्याम्पियनसिप’ बाट सुरु भएको थियो। नेपाल युरोपियन स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा फिनल्यान्ड, अस्ट्रिया, जर्मनी, र स्विट्जरल्यान्डका गरी ६ टोलीले सहभागिता जनाएका थिए।
फाइनलमा आयोजक टोली NESC लाई पराजित गर्दै हिमालयन स्पोर्ट्स क्लबले उपाधिसँगै चार लाख पाँच हजार नेपाली रुपैयाँ बराबरको पुरस्कार जित्यो।
युरोप विजयपछि हेलसिन्की फर्किएको क्लबले स्थानीय स्तरमा पनि आफ्नो दबदबा कायम राख्यो। फिलिपिनो समुदायद्वारा आयोजित बहुसांस्कृतिक भलिबल प्रतियोगितामा क्लबले एक सेट पनि नगुमाई उपाधि जित्यो।
प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली नेपाली थिए। हिमालयन स्पोर्ट्स क्लबले फिनिस नेपाली समाज (FNS) को टोलीलाई फाइनलमा पराजित गरेको थियो। क्लबका विक्रम बुढा ‘बेस्ट प्लेयर’ र स्याबी क्षेत्री ‘बेस्ट सेटर’ घोषित भए।
भलिबलमा मात्र नभई फुटबलमा पनि क्लबले आफ्नो उत्कृष्ट प्रदर्शन गर्यो। FC Gaule द्वारा आयोजित आठौँ संस्करणको ‘गाँउले कप’ फुटबल प्रतियोगितामा पनि हिमालयन स्पोर्ट्स क्लबले उपाधि जित्यो।
फाइनलमा लालिगुराँस एफसीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै क्लबले १००० युरो नगद पुरस्कार र रनिङ ट्रफी हात पारेको हो। उक्त खेलमा क्लबका खेलाडी प्रवेश पाण्डे ‘बेस्ट प्लेयर’ र सुमन पाठक ‘बेस्ट गोलकिपर’ चुनिएका थिए।
क्लबले आफ्ना प्रायोजकहरू सोलु मार्केट, इन्डियन मार्केट हाकानिएमी, साथै सहयोगीहरू राभिन्तोला आगो र राभिन्तोला रोयल मुस्ताङ पोरीप्रति आभार व्यक्त गरेको छ।



क्लबले जितेका ट्रफीहरू.
- एफसी गोर्खा कप २०२२ (आयोजक: एफसी गोर्खा तुर्कु)
- एफसी गोर्खा कप २०२३ (आयोजक: एफसी गोर्खा तुर्कु)
- खुकुरी कप २०२३ (आयोजक: मान्से नेपाल ताम्पेरे)
- भासा कप २०२४ (आयोजक: एफसी भासा)
- एफसी गोर्खा कप २०२४ (आयोजक: एफसी गोर्खा तुर्कु)
- पहिलो हिमालयन कप २०२५ विजेता (आयोजक: हिमालयन स्पोर्ट्स क्लब)
- एफसी गाउँले फुटबल प्रतियोगिता २०२५





