0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सेनाको अनुरोध अस्वीकार गर्दा कुटिएका थिए देउवा दम्पती

    पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलाई पनि सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो। ओलीबाहेक सबै नेता ब्यारेकबाट फर्किसकेका छन्। 

    .संक्षेपमा.


    • देउवा दम्पती हाल अस्पतालमा उपचाररत।
    • पूर्वप्रधानमन्त्री ओली अझै सैनिक ब्यारेकको आश्रयमा।
    • नेताहरू कोही आफन्तकोमा, कोही डेरा खोज्दै।

    कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा सेनाको सूचना र अनुरोधपछि पनि घर छाड्न तयार नभएका कारण आन्दोलनकारीहरूको भौतिक हमलामा परेको खुलेको छ।

    नेपाली पत्रकार उजीर कार्कीले सैनिक स्रोतलाई हवाला दिदै नेपालखबरमा लेखेको समाचार अनुसार आन्दोलन उर्लिंदै जाँदा नेताहरूको भागाभाग चल्न थाल्यो। सेनाले शीर्ष नेता, मन्त्रीहरू र सुरक्षा चुनौती देखिएका सबैलाई नजिकका ब्यारेकमा राख्न थाल्यो। 

    धेरैजसो मन्त्रीहरू भैँसेपाटीस्थित मन्त्री निवासमै थिए। कोही बालुवाटार थिए। सेनाले जोजो जहाँ छन्, उनीहरूलाई त्यहीँबाट उठाएर नजिकैको सैनिक ब्यारेकमा राख्न थाल्यो। तर बुढानीलकण्ठस्थित निवासमै रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा भने सेनाको सूचनापछि पनि घर छाड्न तयार भएनन्। 

    देउवा निवासमा अघिल्लो दिनबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइएको थियो। यता आन्दोलनकारीले बिहानैदेखि देउवाचोकमा जम्मा हुन सामाजिक सञ्जालमा आह्वान गरिरहेका थिए। 

    भीड बढ्दै देउवा निवास पस्यो। अघिल्लो दिन अत्यधिक बल प्रयोग गर्दा आलोचित बनेको प्रहरी त्यसदिन रक्षात्मक बनिसकेको थियो। त्यसैदिन उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका एआईजी दानबहादुर कार्कीले न्यूनतम बल प्रयोग गरेर रोक्न र त्यति गर्दा पनि नसके गोली नचलाउन आदेश दिएका थिए। 

    प्रहरी कार्यालयमा आक्रमण भए हिरासतमा रहेका थुनुवाको तथ्यांक राखेर छाड्न, हातहतियार, सवारीसाधन र ज्यानको सुरक्षा गर्ने आदेश एआईजी कार्कीले दिएका थिए। 

    सेनाले अरु नेता–मन्त्रीलाई सुरक्षित स्थानमा सार्दै थियो। जो जहाँ छ त्यहीँबाट उठाउन सेनाका गाडी खटाइयो। तर देउवा दम्पतीले निवास छाडेनन्।

    सेनाले असुरक्षा हुने भन्दै पटकपटक ताकेता गर्‍यो। स्रोतका अनुसार आरजु तयार भए पनि देउवा ‘यसरी भाग्न हुँदैन’ भन्न थाले। 

    सेनाले असुरक्षा हुने भन्दै पटकपटक ताकिता गर्‍यो। स्रोतका अनुसार आरजु तयार भए पनि देउवा यसरी भाग्न हुँदैन भन्न थाले। 

    केहीबेरमा देउवाचोकबाट अगाडि बढेको भीड देउवा निवासमा पुग्यो। सुरुमा उनीहरूले गेट खुलाउन दबाब दिए। सुरक्षाकर्मीले गेट खोलेनन्। त्यसपछि गेट तोडफोड गरेर भित्र छिरेका आन्दोलनकारीले अन्धाधुन्ध प्रहार गर्न थाले।

    कोही झ्यालका सिसामा हान्न थाले, कोही गाडी फोड्न थाले। 

    देउवा दम्पतीलाई एउटा हुल गएर बाहिर धकेल्न थाल्यो। भित्रैबाट कुटपिट गर्दै बाहिर निकाले। त्यतिबेलासम्म दुवैको शरीरबाट रगत बगिरहेको देखिन्थ्यो।

    सुरक्षाकर्मीहरू जोगाउने प्रयास गरिरहेका थिए। तर ढोकाबाहिर ल्याएर थप आन्दोलनकारीले देउवा दम्पतीलाई कुटपिट गरे। 

    डीएसपीसहितको प्रहरी टोलीले आफ्नो ज्यान थापेर बचाउँदै लगे। मूलगेटबाट बाहिर निकाल्ने अवस्था भएन। पछाडि भर्‍याङ लगाएर सुरक्षाकर्मीले केही प्रदर्शनकारीको सहयोगमा तारबारसहितको कम्पाउन्डबाट उनीहरूलाई बाहिर निकाले।

    तर प्रदर्शनकारीले उनीहरूमाथि ढुंगा बर्साउन छाडेनन्। 

    देउवा दम्पतीको सुरक्षाका लागि नेपाली सेनाको टोली पनि निवासमा पुगिसकेको थियो। उद्धारका लागि सेनाको हेलिकप्टर पुग्यो। तर प्रदर्शनकारीले ढुंगा हानेर हेलिकप्टर बस्न सकेन।

    पटकपटक पुगे पनि सेनाको हेलिकप्टर बस्न नदिएपछि सुरक्षाकर्मीहरूले अबेर गाडीमै एक अस्पताल पुर्‍याए। अहिले पनि उनीहरूको उपचार भइरहेको छ।

    दुवै जनाको अवस्था भने खतरामुक्त रहेको सैनिक स्रोतले जानकारी दिएको भन्दै नेपालखबरले समाचार लेखेको छ। 

    ‘अझै केही दिन उहाँहरू अस्पतालमै बस्नुहुन्छ। डिस्चार्ज भएपछि कहाँ बस्ने भन्ने टुंगो लाग्ला,’ सैनिक स्रोतले नेपालखबरलाई बताएको छ। 

    ओली अझै ब्यारेकमै

    भदौ २४ गते ५ पूर्वप्रधानमन्त्री सहित झण्डै सय जना नेता, मन्त्री र कर्मचारीहरू सुरक्षाका लागि सेनाका विभिन्न ब्यारेकमा पुगेका थिए। तीमध्ये अधिकांश डेरा फर्किंदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित एक दर्जनजति नेता भने अझै ब्यारेकमै बसिरहेका छन्। 

    सेनाले धेरै नेतालाई शिवपुरीस्थित ब्यारेकमा लगेर राखेको थियो। तर प्रधानमन्त्री ओलीसहितको टोली भने ललितपुरको एउटा ब्यारेकमा बसिरहेको जनाइएको छ।

    प्रधानमन्त्री ओलीलाई राजीनामा दिएलगत्तै बालुवाटारस्थित सरकारी निवासबाटै सेनाको हेलिकोप्टर लगेर उद्धार गरिएको थियो।

    पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलाई पनि सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो। यीमध्ये ओलीबाहेक सबै नेता ब्यारेकबाट फर्किसकेका छन्। 

    तर प्रधानमन्त्री ओली सुरक्षा चुनौतीका कारण अझै ब्यारेकमै छन्। अरु केही नेता पनि घरसहित सबै सम्पत्ति जलेको र सुरक्षा चुनौती पनि देखिएकाले ब्यारेकबाट निस्किएका छैनन्। नेपाली सेनाले पनि अझै सुरक्षा चुनौती टरिनसकेको बताएको छ। 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप