.संक्षेपमा.
- मुख युरोपेली विमानस्थलहरूमा साइबर हमलाका कारण उडान प्रभावित ।
- यात्रीहरू लामो लाइनमा बस्न र म्यानुअल चेक-इन गर्न बाध्य।
- रुसी विमानले एस्टोनियाको हवाई क्षेत्र उल्लङ्घन गरेपछि फिनल्यान्डले पनि पठायो विमान।
यो सप्ताहन्त युरोपका लागि संकटपूर्ण बनेको छ। एकातिर लन्डनको हिथ्रो लगायतका प्रमुख विमानस्थलहरूमा भएको ठूलो साइबर हमलाका कारण हजारौं यात्रीहरू प्रभावित भएका छन् भने अर्कोतर्फ फिनल्यान्डको छिमेकी देश एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकु विमान प्रवेश गरेपछि तनाव बढेको छ।
विमानस्थलमा साइबर हमलाको असर
शनिबार लन्डनको हिथ्रो, ब्रसेल्स र बर्लिनको ब्रान्डेनबर्ग लगायतका धेरै युरोपेली विमानस्थलहरूमा साइबर हमला भएको छ। हमलाका कारण एयरलाइनहरूले प्रयोग गर्ने इलेक्ट्रोनिक चेक-इन र ब्यागेज प्रणालीलाई प्रभावित भएको छ। फलस्वरूप सयौं उडानहरूमा ढिलाइ भएको छ।
RTX कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयर प्रदायक कोलिन्स एयरोस्पेसले आफ्नो प्रणालीमा “साइबर-सम्बन्धित अवरोध” आएको स्वीकार गरेको छ।
कम्पनीले समस्याको समाधान गर्न द्रुत गतिमा काम गरिरहेको बताएको छ। हमलाले ‘Muse’ नामक सफ्टवेयरलाई असर गरेको जनाइएको छ। उक्त सफ्टवेयरले विभिन्न एयरलाइनहरूलाई एउटै चेक-इन डेस्क र बोर्डिङ गेट प्रयोग गर्न अनुमति दिन्छ।
साइबर हमलाका कारण अनलाइन चेक-इन अबरूद्ध भएपछि विमानस्थलहरूमा यात्रुहरूलाई म्यानुअल रूपमा चेक-इन र बोर्डिङ गराइएको थियो।
लण्डनको हिथ्रो विमानस्थलमा यात्रुहरूले घण्टौंसम्म लाइनमा बस्नुपरेको र कर्मचारीहरूले हातले लगेज ट्याग लगाइरहेको बिबिसीले लेखेको छ।
“हामी बिहान ५ बजेदेखि विमानस्थलमा छौं, तर अझै कहिले उड्ने हो थाहा छैन।” एक यात्रुले बिबिसीलाई भनेका छन्।
फिनल्यान्डको छिमेकीमा रुसी विमान
विमानस्थलको यो प्राविधिक समस्याका साथै युरोपले अर्को गम्भीर सुरक्षा चुनौतीको पनि सामना गरिरहेको छ।
शुक्रबार तीनवटा रुसी मिग-३१ लडाकु विमानहरूले फिनल्यान्डको छिमेकी तथा नेटो सदस्य राष्ट्र एस्टोनियाको हवाई क्षेत्र उल्लङ्घन गरेका छन्।
यो घटनापछि नेटो सदस्य राष्ट्रहरू इटाली, फिनल्यान्ड र स्विडेनले तुरुन्तै आफ्ना लडाकु विमानहरू पठाएका थिए। रुसी विमानहरूले आफ्नो उडान योजना पेस गरेका थिएनन् र ट्रान्सपोन्डर पनि बन्द गरेका थिए।
एस्टोनियाले यसलाई गम्भीर उक्साहट भन्दै नेटो गठबन्धनसँग आपत्कालीन परामर्शको लागि आह्वान गरेको छ।
घटनापछि नेटो सदस्य राष्ट्रहरू इटाली, फिनल्यान्ड र स्विडेनले तुरुन्तै आफ्ना लडाकु विमानहरू पठाएका थिए।
रुसले भने आफ्नो विमानले कुनै पनि देशको हवाई क्षेत्र उल्लङ्घन नगरेको दाबी गरेको छ। तर हालैका हप्ताहरूमा पोल्यान्ड र रोमानियाको हवाई क्षेत्रमा पनि रुसी ड्रोनहरू प्रवेश गरेपछि यस क्षेत्रमा तनाव बढ्दो छ।
एस्टोनियाका विदेशमन्त्रीले यसलाई ‘उम्लिरहेको भ्यागुतो’ को संज्ञा दिएका छन्, जसअनुसार रुसले बिस्तारै-बिस्तारै उक्साहट बढाएर नेटोको रक्षा प्रणालीलाई कमजोर बनाउन खोजिरहेको छ।





