.संक्षेपमा.
- फिनल्यान्डले अमेरिकाका लागि चारवटा आइसब्रेकर पानीजहाज निर्माण गर्ने।
- कुल ६.१ अर्ब डलरको यो सम्झौताले हजारौं रोजगारी सिर्जना गर्ने।
- राष्ट्रपति स्टब र ट्रम्पको भेटमा सम्झौतामा हस्ताक्षर हुने।
फिनल्यान्ड र संयुक्त राज्य अमेरिकाले एक ठूलो आइसब्रेकर पानीजहाज खरिद-बिक्री सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। रोयटर्स र फिनल्यान्डका स्थानीय समाचार एजेन्सीहरूका अनुसार यो सम्झौताले फिनल्यान्डको पानीजहाज निर्माण उद्योगमा ठूलो उत्साह थपेको छ।
फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र प्रधानमन्त्री पेत्तेरी ओर्पो अहिले अमेरिकामा छन्। उनीहरूले फिनिस समय अनुसार आज राति १० बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
युक्रेन युद्ध, नेटो, र आइस ब्रेकर सम्झौता सो भेटवार्ताका मुख्य विषयहरू रहेको जनाइएको छ। फिनल्यान्डका राष्ट्रपति र प्रधानमन्त्रीले एकैपटक गरेको यो भ्रमणलाई फिनल्यान्डमा ‘ऐतिहासिक’ भ्रमणको रूपमा चित्रण गरिएको छ।
ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कुल ११ वटा आइसब्रेकर जहाजमध्ये चारवटा फिनल्यान्डको शिपयार्डमा र बाँकी सातवटा अमेरिकामा निर्माण गरिनेछन्। फिनिस स्रोतहरूले पनि यो खबरको पुष्टि गरेका छन्।
यो सम्झौताको कुल मूल्य करिब ६.१ अर्ब डलर हुने अनुमान गरिएको छ। यी आइसब्रेकरहरू अमेरिकी कोस्ट गार्डले प्रयोग गर्नेछन् र पहिलो जहाज सन् २०२८ सम्ममा हस्तान्तरण गरिनेछ।
फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले बिहीबार सामाजिक सञ्जाल X मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा आइसब्रेकर सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने कुरा पुष्टि गरेका छन्। प्रधानमन्त्री पेत्तेरी ओर्पो पनि उक्त भेटमा सहभागी हुने कार्यक्रम छ।
यो सम्झौताले फिनल्यान्डमा हजारौं नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
यो सम्झौताले फिनल्यान्डमा हजारौं नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। सामुद्रिक उद्योग संघकी सीईओ एलिना एन्डरसनका अनुसार चारवटा आइसब्रेकरको अर्डरले फिनल्यान्डको अर्थतन्त्रमा ठूलो र सकारात्मक प्रभाव पार्नेछ।
“एउटै आइसब्रेकरको निर्माणले हजारौं ‘म्यान-इयर’ बराबरको रोजगारी सिर्जना गर्छ।” एन्डरसनले स्थानिय फिनिस समाचार संस्थाहरूलाई दिएको प्रतिकृयामा भनेकी छिन्।
यसले जहाज निर्माणमा मात्र नभई डिजाइन, उपकरण निर्माण र अन्य सहायक उद्योगहरूमा पनि रोजगारी बढाउनेछ।
हेलसिन्की शिपयार्डका जनसम्पर्क निर्देशक आन्ती लेइनोले आफ्नो शिपयार्ड जुनसुकै बेला यस्ता ठूला अर्डरहरू लिन तयार रहेको बताएका छन्। हाल हेलसिन्की शिपयार्डमा क्यानडा सरकारको लागि एउटा आइसब्रेकर निर्माण भइरहेको छ।
राष्ट्रपति स्टबका अनुसार अमेरिकी प्रशासनले सिधै फिनिस कम्पनीहरूसँग वार्ता गरिरहेको थियो। “फिनिस विशेषज्ञतामा विश्वास गरिनु राम्रो कुरा हो। यो सहकार्यले फिनल्यान्ड र अमेरिका दुवैलाई फाइदा पुर्याउँछ,” उनले लेखेका छन्।





