.संक्षेपमा.
- ‘देउसी भैलो जेन-जी टिम फिनल्यान्ड’द्वारा रु १,११,१११ परोपकारी सहयोग।
- रकम चितवनको मानवसेवा आश्रममा असाहयको भोजनका लागि प्रयोग हुने।
- युवाहरूले विदेशमा संस्कृति संरक्षण मात्र गरेनन्, परोपकारी काम मार्फत आफ्नो देशलाई पनि सम्झिए।
फिनल्यान्डमा रहेका ‘जेन-जी’ पुस्ताका नेपाली युवाहरूले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकम नेपालमा रहेका असहाय वृद्धवृद्धाहरूको सहयोगका लागि पठाएका छन्।
‘देउसी भैलो जेन-जी टिम फिनल्यान्ड’ ले चितवनस्थित मानवसेवा आश्रमलाई वार्षिक भोजन सेवाका लागि रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार) हस्तान्तरण गरेको हो।
युवाहरूका अनुसार यो रकम आश्रमको एउटा कोषमा जम्मा गरिनेछ। कोषबाट आउने ब्याजले हरेक वर्ष आश्रममा रहेका वृद्धवृद्धाहरूलाई कम्तिमा एउटा विशेष भोजन गराइनेछ।
“फिनल्यान्डमा नेपाली संस्कृति संरक्षण गर्न पनि हामीले चाहेको हो।” टोलीका सदस्य बिपिन ढकालले नेपालीलाइनेनसँग कुरा गर्दै भने। “तर हामीले आफ्नो देशका लागि केही सकारात्मक गर्न पनि खोजेका हौँ।”
ढकालका अनुसार फिनल्यान्डमा देउसी भैलो खेल्दाको अनुभव पनि निकै सकारात्मक र रमाइलो रह्यो। निमन्त्रणा आएका सबै ठाउँमा पुग्न नसके पनि करिब ६ स्थानमा देउसी-भैलो खेलेर उल्लेख्य रकम जम्मा गरेको उनले बताए।
मानवसेवा आश्रमले दियो धन्यवाद
मानवसेवा आश्रम चितवनले पनि सामाजिक सञ्जाल मार्फत ‘देउसी भैलो जेन-जी टिम फिनल्यान्ड’ प्रति आभार व्यक्त गरेको छ। आश्रमले युवाहरूले गरेको सहयोगलाई “अविस्मरणीय योगदान” भनेको छ।
आश्रमको तर्फबाट सर्प उद्धारकर्ताका रूपमा चिनिने यमलाल भण्डारीले विदेशमा बसेर यस्तो मानवीय सेवा गरेकोमा युवाहरूको प्रशंसा गरेका थिए। उनले सहयोग गर्ने युवाहरूको नाम वाचन गर्दै धन्यवाद दिएका थिए।
आश्रमको तर्फबाट सर्प उद्धारकर्ताका रूपमा चिनिने यमलाल भण्डारीले विदेशमा बसेर यस्तो मानवीय सेवा गरेकोमा युवाहरूको प्रशंसा गरेका थिए।
देउसी भैलो जेन-जी टिम फिनल्यान्डको टोलीमा अतीत आचार्य, बिपिन ढकाल, सागर पाण्डे, प्रबिन खरेल, किशोर खरेल, शान्ता सापकोटा, प्रज्वल ढकाल र अविष्कार सापकोटा रहेका थिए। त्यस्तै, कोपिला पाण्डे, विकल्प खरेल, शिशिर भट्टराई, विशेष ढकाल, किशोर भण्डारी, कविता भण्डारी, विशाल खरेल, विस्मिता खरेल, सिम्रिका सिंह र दीक्षा बगाले पनि सहभागी थिए।





