.संक्षेपमा.
- देशभरि सडकको अवस्था खराब रहने चेतावनी।
- दक्षिण र मध्य फिनल्यान्डमा पहिलो हिउँ पर्ने सम्भावना।
- तापक्रम घट्नुका साथै हिउँ र असिना पनि पर्न सक्ने।
फिनल्यान्डको मौसम विज्ञान संस्थानले यो सप्ताहन्त देशभरि मौसम चिसो हुने र दक्षिण तथा मध्य भागमा पहिलो हिउँ पर्न सक्ने पूर्वानुमान गरेको छ।
संस्थानले शुक्रबार अर्थात् आज देशभरि नै ‘पहेँलो चेतावनी’ जारी गर्दै सडकको अवस्था खराब रहने भन्दै सवारी चालकहरूलाई विशेष सचेत गराएको छ।
पूर्वानुमान अनुसार पश्चिम-उत्तरबाट आउँदै गरेको चिसो हावाले दक्षिणी भागको न्यानो हावालाई प्रतिस्थापन गर्दैछ।
यसले गर्दा तापक्रम घट्दै जानेछ। उत्तरबाट आउने न्यून चापीय प्रणालीले लगभग पूरै देशमा वर्षा र तीव्र हावा ल्याउनेछ।
मौसम संस्थानको चेतावनी नक्सामा शुक्रबारका लागि पूरै फिनल्यान्डमा पहेँलो देखिएको छ।
देशको दक्षिणी र पश्चिमी भागहरूमा सडक चिप्लो हुने चेतावनी मध्यरातदेखि नै सुरु भएको हो।
शुक्रबार दिउँसोदेखि देशका विभिन्न भागहरूमा हिउँ र असिना ले सवारी आवागमनमा थप असर पार्न सक्नेछ।





