.संक्षेपमा.
- हेलसिन्की र भान्तामा दुई फरक मितिमा महिला यात्रुमाथि यौन आक्रमण।
- पुनरावेदन अदालतद्वारा ४ वर्ष १ महिनाको जेल सजाय सदर।
- गुडिरहेको ट्याक्सीबाट हाम फालेर एक पीडितले बचाइन् आफ्नो ज्यान।
फिनल्यान्डको पुनरावेदन अदालतले दुई महिला यात्रुलाई बलात्कार गरेको अभियोगमा एक ट्याक्सी चालकको जेल सजाय सदर गरेको छ। ४६ वर्षीय क्वासी एग्येमाङलाई हेलसिन्की र भान्तामा भएका घटनाहरूमा दोषी ठहर गर्दै ४ वर्ष १ महिनाको जेल सजाय सुनाइएको हो।
यी दुई घटनाहरू सन् २०२१ को अटममा र सन् २०२३ को समरमा भएका थिए। एग्येमाङले विशेषगरी मादक पदार्थ सेवन गरेका महिलाहरूलाई आफ्नो निशाना बनाउने गरेका थिए।
पहिलो घटना ३१ अक्टोबर २०२१ मा भएको थियो। चालकले हेलसिन्कीको काम्पीस्थित नाइट क्लब बाहिरबाट एक महिलालाई ‘पिक’ गरेका थिए। महिलालाई गन्तव्यतर्फ लैजानुको साटो उनले गाडी भान्ताको एक सुनसान बस स्टपमा लगे र महिलालाई जंगलतर्फ डोर्याएर बलात्कार गरेका थिए।
दोस्रो घटना २३ जुन २०२३ मा भएको थियो, जहाँ उनले हेलसिन्कीको केन्द्रमा अर्की महिलालाई लिफ्ट दिएका थिए। घर पुर्याउनुको सट्टा उनले ट्याक्सी तेर्भासारीको एकान्त ठाउँमा लगे र निदाएकी महिलामाथि दुर्व्यवहार गर्न थाले।
महिला ब्युँझिएर प्रतिकार गर्दा एग्येमाङले “धेरै समय लाग्दैन” भन्ने जवाफ दिएको अदालती विवरणमा उल्लेख छ। ती साहसी महिलाले बिस्तारै गुडिरहेको गाडीबाट हाम फालेर आफूलाई बचाइन् र तत्काल आपतकालीन सेवामा खबर गरिन्।
अदालतमा दोषीले आफू निर्दोष रहेको र कुनै यौनजन्य कार्य नगरेको दाबी गर्दै महिलाहरूले नै गलत ठेगाना दिएको जिकिर गरेका थिए।
प्रहरीले एग्येमाङलाई सोही दिन पक्राउ गरेको थियो। अदालतमा उनले आफू निर्दोष रहेको र कुनै यौनजन्य कार्य नगरेको दाबी गर्दै महिलाहरूले नै गलत ठेगाना दिएको जिकिर गरेका थिए।
तर जीपीएस लोकेसन र पीडितहरूको बयानका आधारमा इता-उसिमा जिल्ला अदालतले उनलाई दोषी ठहर गर्यो। हेलसिन्की पुनरावेदन अदालतले तीन दिन अगाडी अर्थात् गत नोभेम्बर १९ मा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ।
अदालतले दोषीलाई पहिलो पीडितलाई १०,००० युरो र दोस्रो पीडितलाई ५,४०० युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ। यद्यपि पुनरावेदन अदालतले पहिलो पीडितको तनाव बापतको १,००० युरो क्षतिपूर्ति भने खारेज गरिदिएको छ।





