संक्षेपमा
- बिरालो बोक्ने बक्स फुटेपछि जोसेफिन नामको बिरालो रेलमुनि भाग्यो।
- रेलको तल्लो भागमा लुकेर अन्यत्र यात्रा गरेको हुन सक्ने आशंका।
- फेला परेमा नामले नबोलाउन र नतर्साउन मालिकको आग्रह।
हेलसिन्कीको सेन्ट्रल रेलवे स्टेसनबाट गत बिहीबार जोसेफिन नामको साढे ६ वर्षको बिरालो हराएपछि बिरालो मालिकले कतै त्यस्तो बिरालो देखेमा जानकारी दिन आग्रह गरेकी छन्।
विभिन्न सामाजिक सञ्जालका समूहहरूमा पोस्ट गरी उनले उक्त आग्रह गरेकी हुन्।
उक्त घटनाबारे फिनल्यान्डको सर्वाधिक पढिने पत्रिका हेलसिन्की सानोमातले समेत समाचार लेखेको छ।
मालिक महिला आफैलाई भने बिरालो रेलको तल्लो भागमा लुकेर कुओपियोतिर गयो कि भन्ने आशङ्का छ।
उनी बिहीबार बिहानै आफ्नो बिरालोसहित कुओपियोको गाउँतिर जाँदै थिइन्। स्टेसनभित्र बिरालो बोक्ने बक्स खस्दा त्यसको ढोका फुट्यो र प्लेटफर्ममा पुगेपछि बिरालोले बक्सबाट हाम फाल्यो।
प्लेटफर्ममा हाम फाल्ने बित्तिकै बिरालो रेलमुनि लुक्न गएको थियो।
रेल हिँडेपछि बिरालो लिकबाट बाहिर निस्कने आशा मालिकको थियो, तर त्यसो भएन। रेल छुटेपछि बिरालो त्यहाँबाट गायब भइसकेको थियो।
बिरालो रेलको तल्लो भागको संरचनामा लुकेर यात्रा गरेको हुन सक्ने आफूलाई लागेको मालिकले हेलसिन्की सानोमातलाई बताएकी छन्।
बिरालो कतै पासिला स्टेसनमै ओर्लिएको पो हो कि भन्ने अनुमान पनि गरिएको छ।
टिकट निरीक्षक र कुओपियो स्टेसनमा कुरिरहेकी बिरालो मालिककी बहिनीले भने बिरालो कतै ओर्लिएको देखेनन्। रेल लिकमा बिरालो कुनै दुर्घटनामा परेको प्रमाण पनि फेला परेको छैन।
बिरालो कसैले नदेख्ने गरी हेलसिन्की स्टेसनमै कतै लुकेको हुन सक्ने सम्भावना छ, तर सिसिटिभी फुटेज हेर्दा र तालिमप्राप्त कुकुरले खोज्दा पनि अहिलेसम्म कुनै सुराक भेटिएको छैन।
सीसीटीभी फुटेज हेर्दा र तालिमप्राप्त कुकुरले खोज्दा पनि अहिलेसम्म कुनै सुराक भेटिएको छैन।
बिरालो खोज्न मालिक दिनरात नभनी कुदेकी छन्। उनले बिरालो (जोसेफिन) एकदमै डराउने स्वभावकी भएकोले कसैले देखेमा नामले नबोलाउन अनुरोध गरेकी छन्।
बिरालो कतै देखिएमा karkurit.fi वेबसाइट मार्फत् खबर गर्न सकिनेछ।





