फिनल्यान्डको बेरोजगारी दर नोभेम्बर महिनामा १०.६ प्रतिशत पुगेको छ, जुन सन् २००९ यताकै उच्च हो।
फिनल्यान्डको तथ्याङ्क विभागका अनुसार अघिल्लो वर्षको नोभेम्बर महिनाको तुलनामा यो वर्ष ५० हजारभन्दा बढी मानिस बेरोजगार भएका छन्।
हाल फिनल्यान्डभरि कुल २ लाख ७६ हजार मानिस काम विहीन छन्। अक्टोबर महिनाको तुलनामा नोभेम्बरमा बेरोजगारी दर ०.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
बजारमा पूर्णकालीन अर्थात् फुलटाइम रोजगारीमा कमी आएको छ। तर पार्टटाइम काम गर्नेहरूको संख्यामा भने केही वृद्धि देखिएको छ।
यसले फिनल्यान्डमा रहेका नेपाली समुदाय लगायत अन्य आप्रवासीहरूलाई प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ। विशेषगरी नयाँ काम खोजिरहेकाहरूका लागि बजार थप चुनौतीपूर्ण बनेको छ।
सरकारले फिनल्यान्डको आर्थिक सुधार सोचेभन्दा कमजोर रहेको स्वीकार गरेको छ। अर्थ मन्त्रालयका अनुसार सार्वजनिक वित्त व्यवस्थापन गर्न थप १.४ अर्ब युरो बराबरको बजेट कटौती वा कर वृद्धि गर्नुपर्ने हुनसक्छ।
तथ्याङ्क विभागले सन् २००९ बाट यस्तो ट्रेन्ड ट्र्याकिङ सुरु गरेयताको यो सबैभन्दा उच्च बेरोजगारी दर हो। यसले मौसमी उतारचढाव बाहेक दीर्घकालीन रूपमै रोजगारीको क्षेत्रमा समस्या रहेको संकेत गरेको छ।





