फिनल्यान्डको बेरोजगारी दरले नयाँ कीर्तिमान कायम गर्दै युरोपेली युनियनमै सबैभन्दा उच्च बिन्दुमा पुगेपछि फिन्स पार्टीको युवा सङ्गठन अर्थात् पेरुसुओमालाइसेत नुओरिसोले सबै बेरोजगार आप्रवासीलाई फिनल्यान्डबाट आ-आफ्नै देश फर्काउनुपर्ने कडा माग अघि सारेको छ।
पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डको कुल बेरोजगारी दर अहिले १०.६ प्रतिशत पुगेको छ। विदेशमा जन्मेका व्यक्तिहरूको बेरोजगारी दर १९.३ प्रतिशत छ भने फिनल्यान्डमै जन्मेकाहरूको ७.८ प्रतिशत मात्र रहेको छ।
संगठनको वेबसाइट र सामाजिक सञ्जालमा सार्वजनिक गरेको मागमा युवा सङ्गठनका अध्यक्ष एलियास रोसेनग्रेनले यो स्थितिका लागि अघिल्ला सरकारहरूको फितलो आप्रवासन नीति जिम्मेवार रहेको तर्क गरेका छन्। साथै उनले वर्तमान सरकारलाई मात्र दोष दिनुभन्दा विगतको आप्रवासन नीतिको नतिजालाई हेर्नुपर्नेमा जोड दिएका छन्।
सङ्गठनले बेरोजगार आप्रवासीहरू फिनल्यान्डमा बस्नुको कुनै औचित्य नभएको भन्दै तत्काल आ-आफ्नै देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रस्ताव गरेको छ।
उनीहरूले आप्रवासीका लागि ‘पाहुना कामदार मोडेल’ अर्थात् केही समयका लागि काम गरेपछि आफ्नै देश अनिवार्य फर्कनुपर्ने मोडेल लागू गर्नुपर्नेमा जोड दिएका छन्।
यो प्रस्ताव गरिएको मोडेलअनुसार काम वा अध्ययनको अनुमतिले मात्र परिवारलाई फिनल्यान्ड ल्याउने बाटो स्वतः खुल्ने छैन। विदेशीका परिवारका सदस्यहरू यहाँ आएर बेरोजगारहरूको नयाँ वर्ग नबनुन् भन्ने उनीहरूको तर्क छ।
सङ्गठनकी बोर्ड सदस्य फान्नी ताह्भानाइनेनले काम वा पढ्न आउनेले आफ्नो देशमा रहेका परिवारलाई पैसा पठाउन स्वतन्त्र रहेको बताएकी छन्। तर परिवारलाई यता ल्याउन चाहनेले उनीहरूलाई पाल्ने सम्पूर्ण खर्च आफैँ बेहोर्नुपर्ने उनको भनाइ छ।
पेरुसुओमालाइसेत नुओरिसो फिनल्यान्डको फिन्स पार्टी अर्थात् पेरुसुओमालाइसेतको युवा सङ्गठन हो। उक्त पार्टी हाल फिनल्यान्डको सत्तारूढ गठबन्धनको एक प्रमुख हिस्सेदार हो र अर्थमन्त्री लगायतका महत्त्वपूर्ण पदहरू सम्हालिरहेको छ।





