विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

शुक्रवारका दिन सबैभन्दा धेरै तनावमा हुन्छन् फिनल्यान्डका मानिसहरू

स्मार्ट रिङको तथ्याङ्कले पुरुषको तुलनामा महिलाहरूमा बढी मानसिक तनावमा रहने पनि देखायो।

संक्षेपमा


  • हप्ताको सबैभन्दा तनावपूर्ण दिन शुक्रबार।
  • पुरुषको तुलनामा महिलामा बढी मानसिक चाप।
  • अक्टोबरमा उत्कृष्ट र जुलाईमा कमजोर निद्रा।

फिनल्यान्डको चर्चित हेल्थ-टेक कम्पनी औराले गरेको एक अध्ययनले फिनल्यान्डमा बस्ने मानिसहरू शुक्रबार सबैभन्दा धेरै तनावमा रहने देखाएको छ।

यसअघि सोमबारलाई हप्ताको सबैभन्दा कठिन दिन मानिने गरिए पनि स्मार्ट रिङबाट प्राप्त तथ्याङ्कले यो धारणा फेरिदिएको हो।

फिनल्यान्डको सार्वजनिक प्रसारक YLE को अनुरोधमा औराले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

तथ्याङ्कका अनुसार फिनल्यान्डमा महिलाहरू पुरुषको तुलनामा बढी तनावमा रहने गरेको देखिएको छ। महिलाहरू दैनिक औसत १२० मिनेट र पुरुषहरू ९७ मिनेट तनावमा रहने गरेको तथ्याङ्कले देखाएको छ।

युभास्कुला विश्वविद्यालयकी उपप्राध्यापक योहान्ना इहालाईनेनले काम र परिवारको दोहोरो जिम्मेवारीले महिलामा चाप बढाएको हुनसक्ने YLE लाई दिएको प्रतिक्रियामा बताएकी छन्।

विज्ञापन
विज्ञापन सकियो

विशेषगरी कामकाजी उमेरका महिलामा मानसिक तनावका लक्षणहरू बढी देखिएका छन्।

विश्वभरऔरा प्रयोगकर्ताहरू औसत सात घण्टा सुत्ने भए पनि निद्राको गुणस्तरमा फिनल्यान्ड उत्कृष्ट १० देशमा पर्छ।

दिन अनुसार निद्रा पनि फरक

निद्राको हकमा भने मानिसहरू बुधबार राति सबैभन्दा राम्रो र आइतबार राति सबैभन्दा खराब सुत्ने गरेको पाइयो।

बिदाका दिनमा ढिलो सुत्ने र मद्यपान गर्ने बानीले शरीरलाई पूर्ण आराम नमिल्ने इहालाईनेनको भनाइ छ।

मौसमले पनि यहाँको निद्रामा ठूलो प्रभाव पारेको देखिएको छ। दिन छोटो हुने हुँदा अक्टोबरमा मानिसहरू सबैभन्दा राम्रोसँग सुतेको पाइयो भने उज्यालो बढी हुने जुलाईमा निद्राको स्तर कमजोर रहेको देखियो।

शारीरिक सक्रियताको कुरा गर्दा फिनल्यान्डका बासिन्दाहरू अन्य देशका औरा औठी प्रयोगकर्ताको तुलनामा कम हिँड्ने गरेको पाइयो।

हिँड्नुको साटो यहाँका मानिसहरू साइकल चलाउनु र बगैँचाको काम गर्नुलाई व्यायामको रूपमा रोज्छन्।

विश्वभरऔरा प्रयोगकर्ताहरू औसत सात घण्टा सुत्ने भए पनि निद्राको गुणस्तरमा फिनल्यान्ड उत्कृष्ट १० देशमा पर्छ।

औरा एक फिनिस स्वास्थ्य प्रविधि कम्पनी हो। उक्त कम्पनीले उत्पादन गरेको औरा औँठीले मानिसको मुटुको चाल, तापक्रम, निद्राको गुणस्तर लगायतका विभिन्न सुचकहरू मापन गर्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप