विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

मोदीले फिनिसमा लेखेको ट्विटमा राष्ट्रपति स्टबको जवाफ ‘बहुत धन्यवाद, प्रधानमंत्री जी’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिनिस भाषामा ट्वीट गरेपछि फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले हिन्दीमा जवाफ फर्काएर धन्यवाद दिएका छन्।

संक्षेपमा


  • भारत र युरोपेली संघबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता सम्पन्न।
  • प्रधानमन्त्री मोदीद्वारा फिनिस भाषामा ट्वीट गर्दै खुसी व्यक्त।
  • राष्ट्रपति स्टबले हिन्दीमा दिए धन्यवाद।

भारत र युरोपेली संघ (ईयू) बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (FTA) सम्पन्न भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिनिस भाषामा लेखेको ट्वीटले फिनल्यान्डमा धेरैको ध्यान खिचेको छ।

प्रधानमन्त्री मोदीले फिनिस भाषामा ट्वीट गर्दै सम्झौतालाई दुई पक्षीय सम्बन्धको एक ‘महत्वपूर्ण कोशेढुङ्गा’ भनेका थिए। उनले वर्षौंदेखिको रचनात्मक सहयोग र प्रतिबद्धताका लागि युरोपेली नेताहरूलाई धन्यवाद पनि दिएका थिए।

“यो सम्झौताले आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउनेछ र हाम्रा नागरिकहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ।” मोदीले लेखेका छन्।

उनले अन्य युरोपियन भाषामा पनि छुट्टै ट्विट गरेर धन्यवाद दिएका थिए।

मोदीले फिनिस भाषामा लेखेको ट्वीटको जवाफ फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले हिन्दी र अंग्रेजी भाषाको प्रयोग गरेर दिएका छन्।

विज्ञापन
विज्ञापन सकियो

“बहुत धन्यवाद, प्रधान मंत्री जी” स्टबले लेखेका छन्। “यह समझौता भारत के साथ हमारे आर्थिक और राजनीतिक संबंधों को और अधिक मजबूत करेगा।”

दुई देशका शीर्ष नेताहरूले एक-अर्काको स्थानीय भाषामा संवाद गर्नुलाई कूटनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिन्छ।

फिनल्यान्डले भारतसँगको व्यापारिक सम्बन्धलाई सधैं प्राथमिकतामा राख्दै आएको छ।

फिनल्यान्ड युरोपेली संघको एक सक्रिय सदस्य राष्ट्र हो र यसले भारतसँगको व्यापारिक सम्बन्धलाई सधैं प्राथमिकतामा राख्दै आएको छ।

कस्तो हो नयाँ ईयू-भारत स्वतन्त्र व्यापार सम्झौता?

भारत र युरोपेली सङ्घ (EU) बिच भएको ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता अर्थात् Free Trade Agreement ले दुवै शक्तिको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले व्यापार सम्झौतालाई “सबै सम्झौताहरूको जननी” (mother of all deals) भन्दै प्रशंसा गरेकी छिन्।

भारत र युरोपेली संघबीचको स्वतन्त्र व्यापार सम्झौताका लागि लामो समयदेखि वार्ता भइरहेको थियो। निकै मेहनत पछि भएको यो सम्झौताले भन्सार शुल्क घटाउने र सेवा क्षेत्रमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ।

भारत र ईयू बीच झण्डै दुई दशकदेखि कहिले हुने त कहिले रोकिने गर्दै आएको यो वार्ता, पछिल्लो ६ महिनामा भने निकै तीव्र गतिमा अघि बढेको थियो। अन्ततः सोमबार अबेर राति यो सम्झौताले पूर्णता पाएको हो।

यो सम्झौताले भारतको विशाल र कडा नियमहरू भएको बजारलाई ईयूका २७ राष्ट्रहरूका लागि खुल्ला गर्ने अपेक्षा गरिएको छ, जसमा विशेषगरी उत्पादन र सेवा क्षेत्रमा जोड दिइएको छ।

यसबाट युरोपका मुख्य उत्पादनहरू जस्तै गाडी र वाइनलाई भारतीय बजारमा सहज पहुँच मिल्नेछ भने बदलामा भारतले कपडा, धातु/रत्न र औषधिजन्य सामग्रीहरू सजिलै युरोपियन बजारमा निर्यात गर्न पाउनेछ।

ईयूका अनुसार यो सम्झौताले सन् २०३२ सम्ममा भारततर्फ हुने युरोपेली निर्यातलाई दोब्बर बनाउने लक्ष्य राखेको छ। यसका लागि व्यापार हुने कुल वस्तुको ९६.६% मा भन्सार शुल्क हटाइने वा घटाइनेछ, जसले गर्दा युरोपेली कम्पनीहरूको करिब ४ अर्ब युरो (३.५ अर्ब पाउण्ड) भन्सार महसुल बचत हुनेछ।

फलाम, स्टिल, प्लास्टिक, रसायन, मेसिनरी र औषधि लगायतका धेरैजसो औद्योगिक उत्पादनहरूमा अब भन्सार शुल्क शून्यमा झारिनेछ।

नेपालले भने अति कम विकसित मुलुक (LDC) भएका कारण युरोपेली युनियनको ‘एभ्रिथिङ बट आर्म्स’ (EBA) सुविधा अन्तर्गत भन्सार नतिरी र कोटाको झन्झट बिना आफ्ना सामानहरु पठाउन पाइरहेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप