संक्षेपमा
- ८८ अङ्कका साथ फिनल्यान्ड विश्वकै दोस्रो कम भष्ट्राचार हुने मुलुक।
- डेनमार्क पहिलो, तेस्रोमा सिगांपुर।
- विश्वव्यापी रूपमा भ्रष्टाचार बढ्दो, अमेरिकाको नतिजा झनै खस्कियो।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२५ को भ्रष्टाचार सूचकाङ्क (सीपीआई) मा फिनल्यान्ड पुनः विश्वको दोस्रो कम भ्रष्ट्राचार हुने स्थानमा पर्न सफल भएको छ।
मङ्गलवार जारी गरिएको प्रतिवेदन अनुसार सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको मापनमा फिनल्यान्डले आफ्नो स्थान सुरक्षित राखेको हो।
८८ अङ्क प्राप्त गर्दै फिनल्यान्ड आफ्नो नर्डिक छिमेकी डेनमार्कभन्दा थोरै पछि परेको छ। डेनमार्क ८९ अङ्कका साथ सूचीको शीर्ष स्थानमा छ भने ८४ अङ्क ल्याएर सिङ्गापुर तेस्रो भएको छ।
फिनल्यान्डको अङ्क गत वर्षको तुलनामा यस वर्ष पनि स्थिर रहेको छ। फिनल्यान्डमा भ्रष्टाचार कम हुनुको मुख्य कारण यहाँको बलियो न्याय प्रणाली, प्रेस स्वतन्त्रता र सरकारमाथिको उच्च जनविश्वास हो।
भेनेजुएला (१०), सोमालिया (९) र दक्षिण सुडान (९) सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरूको सूचीमा परेका छन्।
३४ अङ्कसहित नेपाल भने १०९ औँ नम्बरमा छ। गत वर्ष पनि नेपाल सोही स्थानमा थियो। भारतले भने सुशासनमा प्रगति गर्दै एक स्थान सुधार्दै ९१ नम्बरमा पुगेको छ।
अमेरिकाको नतिजा पनि चिन्ताजनक देखिएको छ। अमेरिका ६४ अङ्कका साथ २९औँ स्थानमा झरेको छ, जुन उसको अहिलेसम्मकै खराब नतिजा हो।
अस्ट्रेलिया र युके पनि एक स्थान तल झर्दै क्रमशः बाह्र र बिसौँ नम्बरमा पुगेका छन्।
कसरी गरिन्छ मापन?
यो वरीयता सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुमानित स्तरमा आधारित छ, जसमा शून्यले अत्यधिक भ्रष्ट र १०० ले धेरै स्वच्छ भन्ने जनाउँछ।
यो सूचकाङ्कमा विश्वका १८२ देश र क्षेत्रहरू समावेश गरिएको संस्थाले जनाएको छ। विश्व बैङ्क र वर्ल्ड इकोनोमिक फोरम लगायत १३ बाह्य स्रोतहरूको तथ्याङ्क प्रयोग गरेर यो सूची तयार पारिएको हो।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार यो अङ्कले सर्वसाधारणको नभई विज्ञ र व्यवसायीहरूको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।
समग्रमा विश्वभर भ्रष्टाचार बढ्दो क्रममा रहेको देखिएको छ। १० वर्षअघि ८० भन्दा बढी अङ्क ल्याउने देशहरू एक दर्जन थिए भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा झरेको छ।
सन् २०१२ देखि ३१ देशले भ्रष्टाचार घटाउन महत्त्वपूर्ण प्रगति गरे पनि बाँकी देशहरू असफल देखिएका छन्। विश्वको औसत अङ्क ४२ मा झरेको छ र दुई तिहाइभन्दा बढी देशहरूको अङ्क ५० भन्दा कम छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल एक गैर–सरकारी संस्था हो। यसको मुख्यालय जर्मनीमा छ।





