संक्षेपमा
- औेरा अमेरिकाको डेलावेयर सर्ने।
- युरोपेली मुख्यालय भने औेलुमै रहने।
- व्यापार ८४ करोड युरो नाघ्यो।
फिनल्यान्डमा जन्मिएको विश्वकै नम्बर एक स्मार्ट रिङ उत्पादक कम्पनी औेरा (Oura) ले अमेरिका सर्ने घोषणा गरेको छ।
गत आर्थिक वर्षमा ८४ करोड युरोभन्दा बढी व्यापार गरेको यो कम्पनीले आफ्नो कानुनी ठेगाना अमेरिकाको डेलावेयरमा राख्ने निर्णय गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टम हेलले हेलसिन्कीमा Kauppalehti पत्रिकासँगको कुराकानीमा यसलाई पुष्टि गरेका हुन्।
उनले कम्पनीको आर्थिक वृद्धिदरप्रति सन्तुष्टि व्यक्त गर्दै लगातार तेस्रो वर्ष पनि व्यापार करिब दोब्बर भएको बताए।
सन् २०२५ सेप्टेम्बरमा सकिएको आर्थिक वर्षमा ओउराले ११ करोड ३५ लाख युरो खुद सञ्चालन नाफा कमाएको छ। अघिल्लो वर्ष ३६ करोड ७० लाख युरो व्यापार गरेको कम्पनीले यस वर्ष त्यसलाई बढाएर ८४ करोड युरो पुर्याएको हो।
व्यापारमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको यो निर्णयले फिनल्यान्डमा भने मिश्रित प्रतिक्रिया उब्जाएको छ। अब Oura Health Oy को सट्टा अमेरिकी Oura Inc. कम्पनीको मुख्य संस्था हुनेछ।
यस्तो छ इतिहास
सन् २०१३ मा फिनल्यान्डको औेलु सहरमा पाँच जना स्थानीयले यो कम्पनी स्थापना गरेका थिए। तर, अहिले ती सबै पाँच जनाले कम्पनी छाडिसकेका छन् र सञ्चालक समितिमा एक जना मात्र फिनिस नागरिक छन्।
यद्यपि कम्पनीले आफ्नो युरोपेली मुख्यालय र अनुसन्धान केन्द्र भने औेलुमै राख्ने जनाएको छ। औेरामा काम गर्ने आधा कर्मचारी अझै पनि फिनल्यान्डमै रहेर अनुसन्धान र विकासमा संलग्न रहने छन्।
फिनल्यान्डमा हुर्किएका Supercell, Silo AI) र Iceye जस्ता कम्पनीहरू पनि विदेशी लगानीमै निर्भर हुनुपरेको थियो।
औेराको यो कदमले फिनल्यान्डमा पुँजी र वृद्धिको अवसर अभाव रहेकोतर्फ संकेत गरेको विज्ञहरूले बताएका छन्।
औेराका संस्थापक मध्येका एक पेत्तेरी लाह्तेलाले फिनल्यान्डको व्यवसायिक अनुदान नीतिप्रति असन्तुष्टि जनाएका छन्। उनले नवप्रवर्तनभन्दा पनि परम्परागत वन उद्योगले मात्र राज्यबाट ठूलो अनुदान पाउने गरेको भन्दै आलोचना गरेका थिए।
औेरा एउटा ‘स्मार्ट रिङ’ हो जसले मानिसको मुटुको धड्कन, निद्रा, र समग्र स्वास्थ्यको तथ्यांक संकलन गर्छ।
फिनल्यान्डको औेलुमा सुरु भएको यो कम्पनीले यसै वर्ष आफ्नो पहिलो एक करोड औँठी बेच्ने अनुमान गरिएको छ।
औेराको नयाँ घर भनिएको अमेरिकाको डेलावेयर राज्य विश्वभरका कर्पोरेट कम्पनीहरूका लागि कर छुट र लचिलो कानुनी व्यवस्थाको कारण मुख्य आकर्षणको केन्द्र मानिन्छ, जसले गर्दा धेरै ठूला प्रविधि कम्पनीहरूले त्यहाँ आफ्नो दर्ता राख्ने गर्छन्।





