संक्षेपमा
- अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य कारबाही।
- आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको पुष्टि।
- इरानद्वारा युएई, कतार र साउदी अरेबियामा भीषण जवाफी हमला।
अमेरिका र इजरायलले इरानमाथि हालसम्मकै ठूलो संयुक्त सैन्य कारबाही गरेपछि मध्यपूर्व भयानक युद्धको चपेटामा फसेको छ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणमा मारिए पछि मध्यपूर्वमा युद्ध झनै चर्केको हो।
खामेनी मारिएपछि इरानले तत्कालै युएई, कतार र साउदी अरेबियालगायतका खाडी राष्ट्रहरूमा रहेका अमेरिकी अखडाहरूलाई लक्षित गर्दै भीषण क्षेप्यास्त्र हमला गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार खामेनीको मृत्युको पुष्टि गर्दै “एक दुष्ट, कट्टरपन्थी तानाशाही” बाट अमेरिकालाई जोगाउन गरिएको कारबाही भनेका छन्। उनले इरानी नागरिकहरूलाई “आफ्नो सत्ता फिर्ता लिन” आह्वान पनि गरे।
आफ्ना सर्वोच्च नेता मारिएपछि क्रुद्ध बनेको इरानले ‘अहिलेसम्मकै भयानक’ जवाफी कारबाही सुरु गरेको हो। इरानी क्षेप्यास्त्र र ड्रोनहरूले इजरायलका साथै युएईको दुबई, कतारको दोहा र योर्डनमा प्रहार गरेका छन्।
दुबईको प्रख्यात फेयरमोन्ट होटल र पाम जुमेराह क्षेत्रमा इरानी क्षेप्यास्त्र खस्दा आगलागी भएको छ। आबुधाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा एकजना एसियाली नागरिकको मृत्यु भएको युएईले जनाएको छ।
नेपाल-फिनल्यान्ड उडानका लागि दुबई र दोहा प्रमुख ट्रान्जिट मानिन्छन्।

अधिकांश हवाई उडान रद्द
तनावका कारण विश्वभरिका उडानहरू प्रभावित भएका छन्। खाडी क्षेत्रका अधिकांश हवाई उडानहरू रद्द गरिएका छन् भने हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ। यसले गर्दा फिनल्यान्ड र नेपाल आउजाउ गर्ने नेपालीहरू समेत ट्रान्जिटमा अलपत्र परेका छन्।
नेपाल-फिनल्यान्ड उडानका लागि दुबई र दोहा प्रमुख ट्रान्जिट मानिन्छन्।
मध्यपूर्वका युएई, कतार, साउदी अरेबियाजस्ता मुलुकमा लाखौँ नेपाली छन्। यी तीन मुलुकमा मात्रै करिब पन्ध्र लाख नेपाली रहेको आकलन छ।
उक्त क्षेत्रमा रहेका नेपालीहरूले सामाजिक संजालमा फोटो र भिडियोहरू राख्दै पछिल्ला घटनाका कारण आफूहरू त्रसित रहेको बताएका छन्।
फिनल्यान्ड र ईयूले आफ्ना नागरिकलाई तुरुन्तै इरान छोड्न भनेका छन्। युएईले आफ्ना नागरिकहरूलाई आपतकालीन चेतावनी जारी गरेको छ। मध्य पूर्वमा तनाव बढ्दा कच्चा तेलको मूल्य बढेको छ।
नेपालका समेत दर्जनौँ उडानहरू समेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भएका छन्। जसकारण करिब ३ हजार यात्रुलाई असर परेको छ।
के हो तनावको कारण?
लामो समयदेखि इरान र अमेरिका-इजरायल गठबन्धनबीच आणविक कार्यक्रम र क्षेत्रीय प्रभावलाई लिएर तनाव रहँदै आएको थियो।
गत वर्ष जुनमा इजरायल र इरानबिच १२ दिने युद्ध भएको थियो। त्यसपछि ओमानको मध्यस्थतामा अमेरिका र इरानबिच परमाणु सम्झौताका लागि वार्ता चलिरहेको थियो। तर वार्ता असफल भएपछि यो आक्रमण भएको हो।
साउदी अरेबिया र कतारलगायतका देशले इरानी आक्रमणलाई आफ्नो सार्वभौमसत्ता माथिको उल्लङ्घन भनेका छन्। संयुक्त राष्ट्रसंघले यो युद्धले कसैको नियन्त्रण बाहिरको परिस्थिति निम्त्याउन सक्ने भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।
हालको आक्रमणलाई अमेरिकालेअपरेसन एपिक फ्युरी नाम दिएको छ। इरानले आफ्ना छिमेकी अरब राष्ट्रहरूमाथि यसरी सीधै आक्रमण गरेको यो निकै खतरनाक घटना हो।





