यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- ७१ वर्षीय संदिग्धको पुरानो आपराधिक इतिहास र मदिरा सेवनको समस्या।
- पछिल्लो समय व्यवहारमा देखिएको थियो अस्वाभाविक परिवर्तन।
- सोमाली परिवारलाई मात्र लक्षित थिएन आगलागी।
फिनल्यान्डको भान्तास्थित पाहकिनारिन्नेको एउटा अपार्टमेन्टमा पाँच जनाको ज्यान लिने गरि भएको विनाशकारी आगलागीको घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका ७१ वर्षीय वृद्धको पृष्ठभूमिबारे नयाँ तथ्यहरू बाहिर आएका छन्।
प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्ति एक्लै बस्ने स्वभावका थिए र विगतमा पनि ज्यान मार्ने उद्योग जस्ता गम्भीर अपराधमा संलग्न रहेका थिए।
ती वृद्ध सोही ठेगानामा करिब २५ वर्षदेखि बस्दै आएका थिए। उनको नाममा सन् २००० मा ज्यान मार्ने उद्योग र २०१४ मा कुटपिटको मुद्दा चलेको रेकर्ड भेटिएको छ।
उनले फेसबुक ग्रुपहरूमा आफ्नो पर्स हराएको, औषधी हराएको जस्ता कुराहरु लेख्ने गरेका थिए।
छिमेकीहरूले उनलाई शान्त स्वभावको तर नियमित मदिरा सेवन गर्ने व्यक्तिको रूपमा चिन्थे। तर पछिल्लो समय उनको व्यवहार परिवर्तन भएको र उनी अस्वाभाविक कुराहरू गर्न थालेको छिमेकीहरू बताउँछन्।
आगलागीको रात एक छिमेकीले ती वृद्धलाई अत्यन्तै अन्योलपूर्ण अवस्थामा देखेका थिए। वृद्धले बालकोनीबाट हाम फालेर बाहिर हिउँको थुप्रोमा बसेको र प्रहरी आउँदा कुनै प्रतिरोध नगरेको प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई बताए।
प्रहरीले यो घटनामा कुनै जातिवादी उद्देश्य वा घृणाजन्य अपराधको संकेत भने फेला नपारेको जनाएको छ।
संदिग्धको निसानामा कुनै विशेष सोमाली परिवार नभई भवनका सबै बासिन्दा रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। यद्यपी अनुसन्धान अझै प्रारम्भिक चरणमा रहेको प्रहरीले जनाएको छ।
उक्त भीषण आगलागीमा परेर अपार्टमेन्टको सिँढीमा एउटा सोमाली परिवारका पाँच जना मृत भेटिएका थिए। उक्त परिवारका एक शिशु गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
अन्य तीन वयस्कको पनि अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ परेका वृद्धले सोधपुछका क्रममा प्रहरीलाई सहयोग गरिरहेका छन्। उनले पछिल्लो समय आफूलाई कसैले खतरा पुर्याउन खोजेको जस्ता भ्रमपूर्ण कुराहरू गर्ने गरेको छिमेकीहरूको भनाइ छ।





