संक्षेपमा
- फिनल्यान्डको स्टार्ट-अप लगानी सन् २०२५ मा १.५ अर्ब युरो नाघ्ने अनुमान।
- ‘मारिया ०१’ हबबाट ‘लिनियर’ एक अर्ब डलरभन्दा बढी मूल्यांकन भएको पहिलो युनिकर्न कम्पनी बन्यो।
- नर्डिक क्षेत्रको कुल रक्षा प्रविधि लगानीमध्ये ८५ प्रतिशत फिनिस कम्पनीहरूको पोल्टामा।
डिफेन्स टेक (रक्षा प्रविधि) कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेसँगै फिनल्यान्डको स्टार्ट-अप कोष रेकर्ड स्तरमा पुगेको छ।
हेलसिन्कीस्थित स्टार्ट-अप हब मारिया ०१ को रिपोर्ट अनुसार जनसंख्याको अनुपातमा लगानी भित्र्याउने मामिलामा फिनल्यान्ड युरोपकै शीर्ष स्थानमा उक्लिएको हो।
फिनिस भेन्चर क्यापिटल एसोसिएसनले सन् २०२५ मा स्टार्ट-अप लगानी १.५ अर्ब युरो नाघ्ने अनुमान गरेको थियो। अहिले मारिया ०१ ले पनि ठूला लगानी भित्रिरहेको भन्दै यसको पुष्टि गरेको छ।
मारिया ०१ की प्रमुख कार्यकारी अधिकृत सरिता रुनेबर्गले यो सफलता फिनल्यान्डको स्टार्ट-अप इकोसिस्टम परिपक्व भएको संकेत भएको सार्वजनिक प्रसारक YLE सँगको कुराकानीमा बताएकी छन्।
गत साता फिनल्यान्डका नेपालीहरूलाई लक्षित गरेर आयोजना गरेिएको स्टार्टअप सम्बन्धी बाटो समिटमा अतिथिको रूपमा प्यानल छलफलमा सहभागी भएकी रुनेबर्गले त्यो बेला पनि रक्षा प्रविधिमा धेरै लगानी भित्रिएको बताएकी थिइन्।
उनले अब एउटा मात्र नभई विभिन्न क्षेत्रमा १० करोड युरोभन्दा ठूला लगानी आउन थालेको पनि बताइन्।

लगानीको आकार बढे पनि फन्डिङ राउन्डको संख्या भने घटेको छ। अघिल्लो वर्ष ३७ फन्डिङ राउन्ड भएकोमा गत वर्ष मारिया ०१ का स्टार्ट-अपहरूले २७ राउन्डमा मात्र पुँजी संकलन गरेका थिए।
मारिया ०१ का कम्पनीहरूले गत वर्ष कुल ३३ करोड ७० लाख युरो उठाए, जुन अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो। यो हबका कम्पनीहरूले फिनल्यान्डको समग्र स्टार्ट-अप इकोसिस्टमको करिब १४ प्रतिशत हिस्सा ओगट्छन्।
यसै हबबाट प्रोजेक्ट म्यानेजमेन्ट सफ्टवेयर कम्पनी लिनियर पहिलो युनिकर्न बनेको छ। एक फन्डिङ राउन्डपछि उक्त कम्पनीको मूल्यांकन १ अर्ब २५ करोड डलर पुगेको हो।
पछिल्लो समय रक्षा प्रविधिले लगानीकर्ताको ठूलो ध्यान खिचिरहेको छ। गत अटममा अनम्यान्ड सिस्टम कम्पनी ‘नेस्ट एआई’ले नोकिया र सरकारी कम्पनी टेसीको साथमा १० करोड युरो उठाएको थियो।
डान्सके बैंकको अध्ययनअनुसार नर्डिक क्षेत्रको रक्षा तथा ड्युअल-युज प्रविधिमा आएको कुल लगानीको ८५ प्रतिशत फिनल्यान्डले पाएको छ।
रुनेबर्गका अनुसार केही वर्षअघिसम्म रक्षा क्षेत्र स्टार्ट-अपको सूचीमै थिएन। अहिले भने यो फिनिस कम्पनीहरूको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ।
हेलसिन्कीस्थित मारिया ०१ एउटा पुरानो मारिया अस्पतालको ऐतिहासिक भवनलाई रूपान्तरण गरेर बनाइएको नर्डिक क्षेत्रकै ठूलो स्टार्ट-अप क्याम्पस हो।
रुससँग लामो सिमाना जोडिएको फिनल्यान्डले नेटो सदस्यता लिएपछि र विश्वव्यापी भू-राजनीतिक परिवर्तनसँगै यहाँ रक्षा तथा सैन्य प्रविधि (डिफेन्स टेक) को विकासले तीव्रता पाएको छ।





