📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- रसिया, उज्बेकिस्तान, चीन र क्यानडाका नागरिकको निवेदन खारेज।
- इमात्र, साभोनलिन्ना र कित्तिला लगायतका क्षेत्रमा जग्गा किन्न रोक।
- राष्ट्रिय सुरक्षा र सीमा सुरक्षामा चुनौती पुग्ने मन्त्रालयको ठहर।
फिनल्यान्डको रक्षा मन्त्रालयले युरोपेली युनियन र युरोपेली आर्थिक क्षेत्र बाहिरका ६ विदेशी नागरिकलाई घरजग्गा किन्ने अनुमति दिन अस्वीकार गरेको छ।
सुरक्षा वातावरणमा आएको परिवर्तनका कारण राष्ट्रिय सुरक्षामा जोखिम हुन सक्ने भन्दै शुक्रबार यस्तो निर्णय लिइएको हो।
मन्त्रालयका अनुसार इमात्रा, साभोनलिन्ना, कित्तिला, रासेबोर्ग, पारिक्काला र सिस्माका जग्गा खरिदमा रोक लगाइएको हो। घरजग्गा किन्न निवेदन दिनेहरू रसिया, उज्बेकिस्तान, चीन र क्यानडाका नागरिक हुन्।
आवेदकहरूले ती जग्गा व्यापारिक, आवासीय र मनोरञ्जनका लागि प्रयोग गर्ने योजना बनाएका थिए। तर फिनल्यान्डका अधिकारीहरूले देशको सुरक्षामा आँच पुग्न सक्ने भन्दै यस्तो कदम चालिएको बताएका छन्।
विदेशीले जग्गा किनेर देशमा प्रभाव जमाउन वा सरकारी संयन्त्रलाई कमजोर बनाउन सक्ने डर अधिकारीहरूको छ। रक्षा मन्त्री आन्ती हाक्कानेनले राष्ट्रिय सुरक्षामा जोखिम हुने अवस्थामा जग्गा खरिदको अनुमति नदिइने स्पष्ट पारे।
उनले मातृभूमि रक्षा, सीमा सुरक्षा र आपूर्ति सुरक्षामा कुनै सम्झौता नगर्ने बताए। यो निर्णय केही निश्चित घरजग्गा खरिद सम्बन्धी अनुमति ऐनमा आधारित रहेर गरिएको हो। यद्यपि यी निर्णयहरू अहिले नै अन्तिम भने भइसकेका छैनन्।
यसअघि सन् २०२५ को अक्टोबरमा पनि मन्त्रालयले ११ वटा यस्तै निवेदन खारेज गरेको थियो।
त्यतिबेला रसिया, इजरायल, काजाकिस्तान र कीर्गिस्तानका नागरिकले अनुमति पाएका थिएनन्।
सन् २०२५ को अप्रिलमा फिनल्यान्डको संसदले युरोपेली युनियन बाहिरका नागरिकलाई घरजग्गा बिक्रीमा प्रतिबन्ध लगाउने सरकारी प्रस्ताव पारित गरेको थियो।
फिनल्यान्डले पछिल्लो समय आफ्नो छिमेकी रसियासँगको सुरक्षा सम्बन्ध र बदलिँदो भू-राजनीतिक अवस्थालाई ध्यानमा राखेर विदेशी लगानी र सम्पत्ति खरिदमा कडा निगरानी बढाएको हो।
खासगरी सीमा क्षेत्र र रणनीतिक महत्त्वका ठाउँहरूमा विदेशी स्वामित्व रोक्न सरकारले नयाँ कानुनहरू कार्यान्वयनमा ल्याइरहेको छ।
सन् २०२५ को जुन महिनामा पनि सरकारले दुई गैर-युरोपेली खरिदकर्तालाई जग्गा किन्न रोक लगाएको थियो।








