संक्षेपमा
- अप्रिल ३ देखि ६ सम्म विशेष सहुलियत दर लागू।
- कन्ट्याक्टलेस पेमेन्ट प्रयोग गर्ने सबै जोनका यात्रुलाई फाइदा।
- एउटै कार्डबाट परिवारका धेरै सदस्यको टिकट काट्न मिल्ने सुविधा।
हेलसिन्की क्षेत्रको सार्वजनिक यातायात सेवा प्रदायक HSL ले इस्टर पर्वको उपलक्ष्यमा यात्रुहरूका लागि विशेष छुटको घोषणा गरेको छ।
अप्रिल ३ देखि ६ सम्म कन्ट्याक्टलेस पेमेन्ट अर्थात् Lähimaksu प्रयोग गरी किनिएका सबै सिंगल टिकटको मूल्य २ युरो मात्र कायम गरिएको हो।
यो छुट योजना हेलसिन्की, भान्ता र एस्यो सहितका सबै HSL जोनका लागि समान रूपमा लागू हुनेछ। यात्रुले बैंक वा क्रेडिट कार्ड प्रयोग गरी मेसिनमा ट्याप गरेर सजिलै यो टिकट खरिद गर्न सक्नेछन्।
एउटै कार्डमार्फत परिवारका धेरै सदस्यका लागि एकै पटक टिकट किन्न सकिने HSL ले जनाएको छ। यो प्रक्रिया छिटो र सुरक्षित हुनुका साथै झन्झटरहित पनि छ।
कसरि किन्ने टिकट?
यो अफर HSL को मोबाइल एप वा टिकट किन्ने मेसिनमा भने लागु हुने छैन। सवारी साधनभित्र रहेको कन्ट्याक्टलेस पेमेन्ट टर्मिनल अर्थात् Lähimaksu प्रयोग गरि टिकट किन्दा यो छुट पाइने छ।
टिकट किन्नका लागि पेमेन्ट टर्मिनलमा पहिले आफू जाने जोन छनोट गरी कार्ड देखाउनुपर्ने हुन्छ। त्यसपछि टिकट कार्डमै डिजिटल रूपमा सुरक्षित हुन्छ र यात्रा गर्न सकिन्छ।
यो नियम नीलो रङका बस, लोकल रेल, ट्राम र फेरी सबैमा मान्य हुनेछ। टिकट जाँचकी वा कन्डक्टरले मागेमा आफ्नो टिकट किन्दा प्रयोग गरेको पेमेन्ट कार्ड देखाउनुपर्ने छ।
फिनल्यान्डमा इस्टरको समयमा मानिसहरू संग्रहालय भ्रमण गर्न, आफन्तलाई भेट्न वा वनविहारमा जान रुचाउँछन्। HSL को यो अफरले व्यक्तिगत कारको प्रयोग घटाउन र सार्वजनिक यातायातमा यात्रुलाई आकर्षित गर्न सहयोग गर्ने विश्वास लिइएको छ।
कन्ट्याक्टलेस पेमेन्ट अहिले फिनल्यान्डको सार्वजनिक यातायातमा सिंगल टिकट किन्ने सबैभन्दा लोकप्रिय र सजिलो माध्यम बनेको छ।





