संक्षेपमा
- हेलसिन्कीमा आयोजित कन्सर्टबाट आर्थिक सहयोग संकलन।
- संकलितमध्ये ७० हजार रुपैयाँ संगीतकार दीपक थापालाई हस्तान्तरण।
- मिर्गौला प्रत्यारोपणका लागि थापा छिट्टै दिल्ली जाने।
फिनल्यान्डमा बसोबास गर्ने नेपाली युवाहरूको ब्यान्ड द नेपिक ले एक साङ्गीतिक कार्यक्रम मार्फत मानवीय सहयोग जुटाएका छन्।
नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित ‘नाइट विथ द नेपिक‘ कन्सर्टबाट सङ्कलित रकम मिर्गौला रोगसँग लडिरहेका नेपाली सङ्गीतकर्मी दीपक थापाको उपचारका लागि पठाइएको हो।
गत अप्रिल ११ मा हेलसिन्कीको राभिन्तोला चौतारीमा द नेपिक व्यान्डले प्रस्तुति दिएको थियो।
सङ्कलित कुल रकमको करिब ४० प्रतिशत अर्थात् ७० हजार नेपाली रुपैयाँ थापाको सहयोगलाई पठाइएको उक्त ब्यान्डका एक सदस्यले नेपालीलाइनेनलाई बताए।
प्रवासमा रहेर पनि नेपाली कलाकारलाई सहयोग गर्न पाउनु गर्वको विषय भएको र नेपाली नयाँ वर्षलाई परोपकारी कामबाट सुरु गर्न पाउनु खुसीको कुरा रहेको उक्त ब्यान्डले उल्लेख गरेको छ।
को हुन् थापा?

नेपालको सङ्गीत क्षेत्रमा लामो समय सक्रिय वरिष्ठ सङ्गीतकार थापा मिर्गौलाको गम्भीर समस्या (सीकेडी स्टेज-५) बाट पीडित छन्।
उनले हाल सातामा तीन पटक नियमित डायलिसिस गराइरहेको र मिर्गौला प्रत्यारोपणका लागि दिल्ली जाने तयारीमा रहेको जनाइएको छ।
कुनै बेलाको चर्चित ‘The Prism’ ब्यान्डका सदस्य समेत रहेका थापा गायक, सङ्गीतकार, एरेन्जर तथा गिटारिस्ट समेत हुन्।
भैरहवामा जन्मिएका थापाले आफ्नो बाल्यकाल हङकङमा बिताएका थिए । त्यहाँ उनले Tom Lee Music Center मा क्लासिकल गितार अध्ययन गरेका थिए। नेपाली सङ्गीत क्षेत्रमा उनी विशेष गरी ‘विदेश जाने मायालु तिमीलाई’ गीतका गायक तथा सर्जकका रूपमा परिचित छन् ।
हाल नियमित डायलिसिस र बढ्दो चिकित्सकीय खर्चका कारण उनलाई आर्थिक रूपमा ठुलो चुनौती परेको जनाइएको छ।
नेपाली सङ्गीतमा योगदान दिएका कलाकार थापाको उपचारका लागि परिवार, साथीभाइ तथा सङ्गीत प्रेमीहरूले सहयोग अभियान सञ्चालन गरिरहेका छन्।
सङ्गीतकार थापाको उपचारमा सहयोग गर्न चाहनेले यो गो फन्ड मी पेजमार्फत वा उनको बैक एकाउन्टमा सिधै सहयोग पठाउन सक्नेछन्।
बैंकमार्फत सहयोगका लागि:
Account Name: Deepak Thapa
Bank: Sunrise Bank, Kalikasthan Branch
Account Number: 1460839470205001






