संक्षेपमा
- केही क्षेत्रमा १० सेन्टिमिटरसम्म हिमपात हुने सम्भावना।
- समर टायर प्रयोग गर्ने सवारी चालकलाई सडकमा ननिस्कन आग्रह।
- आइतबार शक्तिशाली हावाहुरीले क्षति पुर्याउन सक्ने चेतावनी।
फिनल्यान्डमा फेरि हिउँद फर्कने भएको छ। यो सप्ताहन्तमा दक्षिणी र मध्य भागमा भारी हिमपात र शक्तिशाली हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखा (FMI) ले जनाएको छ।
धेरै सवारी साधनले समर टायर राखिसकेकाले सडक यात्रा निकै जोखिमपूर्ण हुने देखिन्छ। विशेषगरी मध्य र पूर्वी क्षेत्रमा यात्रा नगर्न सुझाव दिइएको छ।
शुक्रबार ओस्ट्रोबोथनिया तटबाट सुरु भएको वर्षा र हिउँ शनिबार दक्षिणतर्फ फैलिनेछ। आइतबार बिहान हेलसिन्की र ऊसिमाका अन्य क्षेत्रमा पनि हिउँ पर्ने सम्भावना छ।
मौसमविद्हरुका अनुसार जमिन केही समयका लागि हिउँले सेतो देखिन सक्नेछ। तापक्रम ३ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ।
उत्तरी क्षेत्रका केही भागमा सरकारले घरमै पुगेर दिने स्वास्थ्य सेवामा ढिलाइ हुन सक्ने चेतावनी दिएको छ। धेरै सरकारी गाडीहरूमा समर टायर जडान गरिएकाले यस्तो ढिलाइ हुने भएको हो। स्थानीय मिडियाका अनुसार केही गाडीहरूमा अन्तिम समयमा फेरि विन्टर टायर हालिएको छ।
मध्य ओस्ट्रोबोथनिया, मध्य फिनल्यान्ड र उत्तर कारेलिया लगायतका क्षेत्रमा सडक अवस्था निकै खराब रहने भन्दै ‘एम्बर चेतावनी’ जारी गरिएको छ। यद्यपि, धेरै भागमा डढेलोको जोखिम भने कायमै छ।
आइतबार हावाको गति २० मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्ने मौसमविद्को चेतावनी छ। उत्तरबाट चल्ने चिसो हावाका कारण तापक्रम थप घटेको महसुस हुनेछ।
यो प्रतिकूल मौसम आउँदो हप्ताको मध्यतिरबाट मात्र सुधार हुने देखिन्छ। शुक्रबारको भाप्पु उत्सव अगाडि तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अपेक्षा छ।
फिनल्यान्डमा अप्रिल महिनामा कहिलेकाहीँ यस्तो अनौठो मौसम देखिन्छ, जसलाई फिनिस भाषामा ‘ताका ताल्भी’ भनिन्छ। यसको अर्थ ‘हिउँदको पुनरागमन’ हो।





