संक्षेपमा
- सुईको दुखाइबिना रगतको ग्लुकोज मापन गर्ने प्रविधिको विकास।
- ६०० मिलियन मधुमेह रोगीलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा।
- प्रविधिको विकास गर्ने विद्यार्थीहरु विदेशी मुलका।
फिनल्यान्डको ताम्पेरे युनिभर्सिटी अफ एम्पलायड साइन्सेजबाट स्नातक गरेका दुई विद्यार्थीहरूले ६०० मिलियन मानिसको जीवन सहज बनाउने प्रविधिको सुरुवात गरेका छन्।
राजिब हसन र जिङजिङ याङले मधुमेह रोगीहरूका लागि सुईको प्रयोगबिना नै प्रकाशको माध्यमबाट रगतमा चिनीको मात्रा मापन गर्ने उपकरण विकास गरिरहेका हुन्।
बङ्गलादेशका नागरिक राजिब हसनले मधुमेह पीडित आफ्ना वृद्ध बुबाले अस्पताल गएर रगत परीक्षण गर्न झन्झट मानेपछि यो उपाय सोचेका हुन्।
“मेरो बुबालाई मधुमेह छ। उहाँसँग कुरा गर्दा म सधैं उहाँको स्वास्थ्य कस्तो छ, सुगर नियन्त्रणमा छ कि छैन भनेर सोध्थें। उहाँको उमेर ढल्किँदै जाँदा मलाई सधैं चिन्ता लाग्थ्यो। बंगलादेशमा रगत जाँच गर्न अस्पताल नै जानुपर्छ। बुबालाई आफ्नो सुगर लेभल थाहा पाउन मन त हुन्छ, तर पटक-पटक अस्पताल धाउन पटक्कै मन पर्दैन,” राजिब हसनले यो आइडियाको पछाडिको कारण बताउँदै भने।
छाला घोचेर रगत निकाल्दा संक्रमणको डर हुन्छ र घाउ निको हुन पनि समय लाग्छ। त्यसैले हसनले सोच्न थाले रगत ननिकाली सुगर नाप्ने कुनै अर्को उपाय होला वा बनाउन सकिएला त?
उनले सफ्टवेयर इन्जिनियरिङ पढ्ने आफ्नी सहपाठी जिङजिङ याङसँग आफ्ना बाबुको हिचकिचाहटका बारे कुरा गरेका थिए। जिङजिङका पनि सुई घोचेर मधुमेह परीक्षण गर्न झन्झट मान्ने आफन्तहरू थिए। अनि दुवै मिलेर यो अवधारणामा काम सुरु गर्ने निर्णय गरेका हुन्।
हसन आफूलाई ‘आइडिया दिने मान्छे’ भन्छन् भने याङले काममा व्यावहारिक पक्ष थपिन्। यसरी उनीहरूको जोडीले आफ्नो थेसिसको काम सुरु गर्यो।
प्रकाशमा आधारित यो नयाँ गैर-आक्रामक विधि सफल भएमा दैनिक रूपमा सुई सिउरिनुपर्ने बाध्यताको अन्त्य हुनेछ।
सामान्य भौतिक विज्ञानको सिद्धान्तमा आधारित प्रविधी
उनीहरूको प्रविधि भौतिक विज्ञानको एक सरल सिद्धान्तमा आधारित छ। इन्फ्रारेड प्रकाश मानव शरीरको तन्तु (टिस्यु) बाट पार हुँदा ग्लुकोजसँग प्रतिक्रिया गर्दछ, जसको विश्लेषण गरेर रगतमा चिनीको मात्रा पत्ता लगाइन्छ।
जब प्रकाश एक ठाउँबाट अर्को ठाउँमा जान्छ, त्यो हावा वा कागज जस्ता माध्यमहरू हुँदै जान्छ। यस्तो बेला माध्यमले केही प्रकाश सोस्छ र बाँकी अर्कोतिर निस्कन्छ। प्रकाशले आफूसँग केही जानकारी बोकेको हुन्छ, जसलाई नाप्न सकिन्छ। प्रकाशका हजारौं स्पेक्ट्रम हुन्छन्, जसमा हामीले देख्ने र नदेख्ने (इन्फ्रारेड) प्रकाश दुवै पर्छन्।
“प्रकाश शरीरको भित्रसम्म जान्छ। हाम्रो अनुसन्धानको मुख्य चुनौती भनेको इन्फ्रारेड प्रकाशको त्यस्तो तरंग लम्बाइ पत्ता लगाउनु थियो, जसले ग्लुकोजसँग प्रतिक्रिया गर्छ। एकपटक त्यो पत्ता लागेपछि हामीले छालाको तन्तु पार गर्ने विशेष प्रकाश उत्पादन गर्न सक्छौं। छाला पार गर्नुअघि र पछिको प्रकाशको मात्रा नापेर हामी रगतमा चिनीको मात्रा कति छ भनेर पत्ता लगाउन सक्छौं। यसका लागि तापक्रम, आर्द्रता र प्रयोगकर्ताको उमेर जस्ता थप जानकारी पनि चाहिन्छ। पछि यो डेटालाई मोबाइल एपमा पनि प्रयोग गर्न सकिन्छ,” याङ र हसन बताउँछन्।
उनीहरू दुवैले सफ्टवेयर इन्जिनियरिङ पढेका हुन्। थेसिसका लागि उनीहरूले धेरै मेडिकल लेखहरू पढ्नुपर्यो। सुरुमा भौतिक विज्ञानका लेक्चरर तुओमो नियमीनेनले उनीहरूलाई धेरै मद्दत गरे।
“हसनले मलाई आफ्नो आइडिया सुनाए, अनि हामीले त्यसको पछाडिको भौतिक विज्ञान र यन्त्रले कसरी काम गर्न सक्छ भनेर छलफल गर्यौं। आइडिया निकै रोचक छ, तर यसलाई व्यावहारिक रूपमा उतार्न अझै धेरै काम गर्न बाँकी छ। नयाँ कुरामा आँट गर्ने विद्यार्थीहरूलाई मार्गदर्शन गर्न पाउँदा सधैं रमाइलो लाग्छ,” नियमीनेन भन्छन्।
सफलता र भविष्यको सम्भावना
थेसिसका सुपरभाइजर भिहतोरी भिरताले पनि उनीहरूको कामको निकै प्रशंसा गरे। “सफ्टवेयरको विद्यार्थी भएर पनि हार्डवेयरमा आधारित यस्तो चुनौतीपूर्ण काममा हात हालेको देख्दा मलाई गर्व लाग्छ। उनीहरूले आफ्नो आवश्यकता र भिजनलाई मिलाएर केही नयाँ सिर्जना गरेका छन्,” भिरता भन्छन्।
भिरताकै प्रोत्साहनमा उनीहरूले आफ्नो प्रोजेक्टलाई ‘इभर्टिक ग्लोबल एक्सपो’मा प्रस्तुत गरे। मार्च २०२६ मा ताम्परे हलमा भएको उक्त प्रतियोगितामा उनीहरूको कामले जित हासिल गर्यो। उनीहरूलाई १००० युरोको पुरस्कार पनि प्रदान गरियो।
“यो सम्मानले हामीलाई काम जारी राख्न धेरै हौसला दिएको छ,” दुवै भन्छन्।
“तर अझै पनि एउटा पूर्ण उत्पादन तयार हुन धेरै लामो बाटो बाँकी छ,” याङ थप्छिन्।
अहिले उनीहरू यो आइडियालाई विभिन्न स्टार्टअप फेस्टिभल र ब्रसेल्सको फोटोनिक्स मिटिङमा प्रस्तुत गर्दैछन्।
उनीहरूको दीर्घकालीन लक्ष्य भनेको एउटा मेडिकल उपकरण बनाउनु हो, तर सुरुमा उनीहरू यसलाई ‘वेलनेस डिभाइस’ (स्वास्थ्य उपकरण) को रूपमा बजारमा ल्याउने प्रयास गर्दैछन्।
यो प्रक्रिया छिटो र सजिलो हुने हुँदा उनीहरुले त्यसो गरेका हुन्।
आफ्नो प्रोजेक्टका लागि छिट्टै युरोपेली संघ (EU) बाट आर्थिक सहयोग मिल्छ भन्ने पनि उनीहरूको आशा छ।
“अहिले संसारमा कसैले पनि यो विधिबाट काम गरिरहेका छैनन्। जसले यो प्रविधि बजारमा ल्याउँछ, त्यो ठूलो कुरा हुनेछ। यो करिब ४० अर्ब डलरको उद्योग हो,” हसन भन्छन्।
मानिसको जीवन सुधार्ने सपना
अहिले जिङजिङ याङ ताम्पेरे विश्वविद्यालयमा ‘इम्बेडेड सिस्टम’ पढ्दै छिन् भने राजिब हसन हेलसिन्की विश्वविद्यालयमा कम्प्युटर साइन्स पढ्दै ताम्पेरेको फिल्डल्याबमा रोबोटिक्स सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्दैछन्।
“म मेरो करियरमा यस्तो काम गर्न चाहन्छु जसले मानिसको जीवन र स्वास्थ्यमा सुधार ल्याओस्,” हसन भन्छन्।
हसनका बुबा पनि छोराको यो काम देखेर निकै खुसी छन्। “उहाँ त अहिले नै सोध्नुहुन्छ— कहिले ल्याइदिन्छस् त्यो मेसिन?” हसन हाँस्दै भन्छन्।




![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)



