संक्षेपमा
- पाँच ठूला बेरी कम्पनीहरूद्वारा खरिद मूल्यमा कार्टेलिङ।
- प्रतिस्पर्धा प्राधिकरणद्वारा कुल ९४ लाख युरो जरिवानाको माग।
- २० हजारभन्दा बढी मेसेज र कागजातहरूको विस्तृत विश्लेषण।
फिनल्यान्डको प्रतिस्पर्धा तथा उपभोक्ता प्राधिकरण (केकेभी) ले बेरी कम्पनीहरूलाई ‘कार्टेलिङ’ गरेको आरोपमा ९४ लाख युरो जरिवाना गर्न माग गरेको छ। जङ्गली बेरी संकलन गर्ने खासगरि थाई लगायतका विदेशीमूलका व्यक्तिहरूलाई दिइने मूल्यमा ती कम्पनीहरूले गोप्य रूपमा मिलेमतो गरेको खुलासा भएको हो।
सोझो अर्थमा भन्दा घटनामा आरोपित कम्पनीहरू मिलेर कामदारलाई दिने पैसामा ‘त्यो भन्दा बढी नदिने’ भन्ने सहमति गर्ने गरेका थिए, जुन गैर कानुनी हो।
केकेभीले तयार पारेको सय पृष्ठभन्दा लामो प्रतिवेदनमा उक्त मिलेमतोबारे विस्तृत विवरण दिइएको छ। सन् २०२२ को अन्त्यदेखि सुरु भएको अनुसन्धानमा करिब २० हजार कागजातहरू जाँचिएका थिए। तीमध्ये ८ हजार ८ सय वटा एसएमएस र ह्वाट्सएप मेसेजहरू थिए।
अनुसन्धान अधिकारीहरूका अनुसार कम्पनीहरूबीच खरिद मूल्यका विषयमा निरन्तर र द्रुत गतिमा कुराकानी हुने गर्थ्यो। सन्देशको जवाफ विना कुनै हिचकिचाहट र कहिलेकाहीँ एक मिनेटभन्दा कम समयमै दिइन्थ्यो।
यसबाट कम्पनीहरूबीच मूल्य तोक्ने विषयमा पूर्ण आपसी सहमति रहेको स्पष्ट प्रमाण मिलेको छ।
नर्डिक बजारको अग्रणी स्विडिस कम्पनी पोलारिकालाई सबैभन्दा धेरै अर्थात् ५९ लाख युरो जरिवानाको प्रस्ताव गरिएको छ। त्यसैगरी मार्या बोथ्निया बेरिजलाई करिब १८ लाख युरो जरिवानाको माग गरिएको छ।
आर्कटिक इन्टरनेसनललाई ९ लाख ७० हजार र कास्केन मार्यालाई ७ लाख ८५ हजार युरो जरिवाना माग गरिएको छ।
यद्यपि, कार्टेलको शंकामा परेको अर्को कम्पनी किआन्तामा भने जरिवानाबाट जोगिएको छ। १२ सेप्टेम्बर २०२३ मा अनुसन्धान सुरु भएकै दिन सो कम्पनीले केकेभीसँग सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको थियो।
फिनल्यान्डका जंगलहरूमा पाइने प्राकृतिक बेरीहरू संकलन गर्न हरेक वर्ष सयौँ विदेशी कामदारहरू, विशेषगरी थाइल्यान्डबाट आउने गर्छन्। विगत केही वर्षयता बेरी टिप्ने कामदारहरूको शोषण, मानव बेचबिखनको आशंका र उनीहरूलाई दिइने न्यून ज्यालाको विषय फिनल्यान्डमा निकै विवादित बन्दै आएको छ।
बेरी कम्पनीहरूले कामदारलाई दिने मूल्यमा कार्टेलिङ गर्दा त्यसको प्रत्यक्ष मारमा विपन्न देशबाट आएका मौसमी कामदारहरू पर्ने गर्छन्।




![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)



