विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका प्रधानमन्त्री ओर्पो पार्टी अध्यक्षमा पुनः निर्वाचित, यस्तो छ उनको विगत

दश वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका प्रधानमन्त्री पेत्तेरी ओर्पो पार्टी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको पार्टीले फिनल्यान्डको कल्याणकारी राज्य प्रणालीमा ठूलो परिवर्तन ल्याउने संकेत गरेको छ।

संक्षेपमा


  • पेत्तेरी ओर्पो कोकोमुस पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित।
  • आर्थिक भत्ताभन्दा गुणस्तरीय सार्वजनिक सेवामा जोड दिनुपर्ने ओर्पोको भनाइ।
  • सामाजिक सुरक्षामा डेनमार्क र स्विडेनको मोडल अपनाउने तयारी।

फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पो फेरि दुई वर्षका लागि कोकोमुस पार्टीको अध्यक्षमा चुनिएका छन्। उनी पार्टीको सम्मेलनबाट विना प्रतिस्पर्धा निर्विरोध निर्वाचित भएका हुन्।

विगत १० वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका ओर्पोले अब अर्को संसदीय चुनाव जित्ने लक्ष्य राखेका छन्। उनले आफ्नो दोस्रो प्रधानमन्त्री कार्यकाल सुरक्षित गर्न चाहेका छन्, तर त्यो सजिलो भने छैन।

पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उनले फिनल्यान्ड अझै पनि पूर्ण रूपमा नर्डिक कल्याणकारी राज्य नभएको बताए। उनका अनुसार सरकारले नागरिकलाई बाँड्ने आर्थिक सहायताभन्दा गुणस्तरीय सेवालाई प्राथमिकता दिनुपर्छ।

ओर्पोका अनुसार काम गर्न सक्ने उमेरका सबै मानिसहरू रोजगारमा जोडिनुपर्छ। साँचो कल्याणकारी समाजमा आम्दानीले सबै खर्च धान्न सक्ने हुनुपर्छ, ओर्पोले बताए।

आगामी दिनमा पेन्सन प्रणालीमा पनि केही परिवर्तन हुन सक्ने उनले संकेत गरे। तर, हाल दिइँदै आएको पेन्सन रकम भने नघटाउने उनको भनाइ छ। पार्टीकी महासचिव म्यागी केस्किनेनले सामाजिक सुरक्षामा डेनमार्क र स्विडेनको मोडल हेरिने बताइन्।

विज्ञापन
विज्ञापन सकियो

साथै ओर्पोले पैतृक सम्पत्ति र उपहारमा लाग्ने कर खारेज गर्ने घोषणा पनि गरे। यद्यपि, यो कहिले र कसरी लागू हुन्छ भन्ने अझै अनिश्चित छ।

ओर्पो नेतृत्वको वर्तमान सरकारले अर्थतन्त्र सुधार्ने भन्दै विभिन्न सामाजिक सुरक्षा भत्ताहरू कटौती गर्दै आएको छ। यसले गर्दा आप्रवासी र न्यून आय भएका वर्गमा प्रत्यक्ष प्रभाव परिरहेको छ।

को हुन् पेत्तेरी ओर्पो?

पेत्तेरी ओर्पो फिनल्यान्डका वर्तमान प्रधानमन्त्री हुन्। हाल ५६ वर्षीय ओर्पोको जन्म ३ नोभेम्बर १९६९ मा तुर्कु नजिकैको सहर कौलियोमा भएको थियो। ओर्पोले सन् २००२ मा तुर्कु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (मास्टर्स) गरेका हुन्।

उनले सन् २०१६ देखि कोकोमुस (राष्ट्रिय गठबन्धन पार्टी) को नेतृत्व गर्दै आएका छन्। प्रधानमन्त्री हुनुअघि उनले फिनल्यान्डको अर्थमन्त्री, कृषिमन्त्री र गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

ओर्पोले सन् २००३ मा दोस्रो विवाह गरेका हुन्। उनकी अहिलेकी श्रीमती पूर्व एयर होस्टेस, कानुनमा स्नातकोत्तर र सरकारी वकिल हुन्। उनीहरूका दुई सन्तान छन्। उनकी पहिलो श्रीमतीसँगको विवाह सन् १९९५ देखि २००० सम्म चलेको थियो। आफ्ना केही अन्तर्वार्ताहरूमा उनले डिभोर्सको पिडाका बारेमा बोलेका छन्।

सन् २०२१ मा ट्राफिक नियम उल्लंघन गरेको भन्दै फिनल्यान्डको प्रहरीले ओर्पोलाई १,२७० युरो जरिवाना गरेको थियो। उनले ८० किमी/घण्टाको गति सीमा भएको ठाउँमा १०१ किमी/घण्टाको गतिमा गाडी चलाएका थिए। त्यही वर्षको जुन महिनामा स्थानीय निर्वाचन सकिएको केही समयपछि नै उनलाई हृदयघात भएको थियो र उनी उनी डेढ महिना लामो बिरामी बिदामा बसेका थिए।

ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र प्रधानमन्त्री ओर्पो। फोटोः रोयटर्स
भारतका प्रधानमनन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओर्पो। फोटो स्रोतः भारतको प्रधानमन्त्री कार्यालय
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओर्पो। फोटोः Xinhua
गतवर्ष बालबालिकाका लागि आयोजित स्वतन्त्रता दिवसको जमघटमा बालबालिकालाई स्वागत गर्दै प्रधानमन्त्री ओर्पो। फोटो स्रोतः YLE Areena स्क्रिनसट।
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप